बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मोटरबाटोले टोड्के पुग्न सहज, लालीगुराँसले तान्दै पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १३ २०७९
मोटरबाटोले टोड्के पुग्न सहज, लालीगुराँसले तान्दै पर्यटक

यतिबेला म्याग्दीका वन, जंगल लालीगुराँसका फूलले रंगिएका छन्। वनैभरि फुलेका लालीगुराँसका जंगलबाट उत्तरतिर देखिने चाँदीझैँ टल्कने हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भिडले यतिबेला म्याग्दीका जंगलमा रौनक बढेको छ। 

गलेश्वर- ‘गुराँसको छेडोबाट हिमालको सौन्दर्य हेर्दै मोटरबाइकमा हिँड्नुको मज्जै बेग्लै’, शनिबार बेनीबाट बरङ्जाको झाँक्रीपानी घुम्न पुगेका शोभित घिमिरेले भने, ‘वन, जंगल र भिर पहरा छिचोल्दै गाउँका बस्तीबस्तीसम्म मोटरबाटो पुगेपछि घुम्न जाने हामीलाई सजिलो भएको छ।’ 

स्वरसम्राट नारायण गोपालको गीतझैँ, यतिबेला म्याग्दीका वन, जंगल लालीगुराँसका फूलले रंगिएका छन्। वनैभरि फुलेका लालीगुराँसका जंगलबाट उत्तरतिर देखिने चाँदीझैँ टल्कने हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भिडले यतिबेला म्याग्दीका जंगलमा रौनक बढेको छ। 

म्याग्दीको सदरमुकाम बेनीबजारबाट पर्यटकीयस्थल टोड्केमा आएकी रक्षा पौडेल हिमाल र लालीगुराँसलाई पृष्ठभूमिमा राखेर तस्बिर लिन व्यस्त थिए। उनीसँगै आएका साथीहरू पनि लालीगुराँसमा रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थे। 

फागुनदेखि जेठसम्मको लालीगुराँस फुल्ने समय हो। राष्ट्रिय फूल समेत रहेको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जंगल र डाँडाकाँडामा पनि आगन्तुकको भिड देख्न सकिन्छ। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ। यसैगरी रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्ली, टोड्केलगायत क्षेत्रमा पनि गुराँस फुलेको छ।

वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन्। उत्तरी अन्नपूर्ण गाउँपालिका-६, घारस्थित समुन्द्री सतहदेखि दुई हजार आठसय ७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा तीन हजार दुईसय १० मिटरमा रहेको पुनहिल आसपासको वन, जंगल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेका छन्। नेपालमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा आठ प्रजातिका गुराँस फुल्ने गरेका छन्।

लालीगुराँसकै छेडोबाट देखिने सेताम्ये हिमाल र मनमोहक प्राकृतिक छटामा मन्त्रमुग्ध हुँदै घुम्नेहरुको संख्या बाक्लो हुँदै गएको बेनी नगरपालिका-२ का स्थानीय नारायण सापकोटाको भनाइ छ। ‘जंगलैभरि लालीगुराँस र गुराँस हेर्नका लागि आएका आगन्तुकहरु मात्रै देखिन्छन्। कोही फोटो खिचिरहेका त कोही टिकटक बनाइरहेका हुन्छन्’, सापकोटाले भने।

म्याग्दीका ग्रामीण क्षेत्रका जंगलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ। राताम्ये फुलेका लालीगुराँसको लालिमाले हरियो वनजंगलमा थप सुन्दरता प्रदान गरेको छ। 

लालीगुराँससँगै रमाउने र तस्बिर खिचाउनेमा युवापुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्यालयका विद्यार्थी पनि छन्। विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएकाबेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्बिर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन्। 

सामान्यतया चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जंगल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक डाँडामा पुग्ने गरेका छन्। फागुनको मध्यदेखि कोपिला लाग्न सुरू हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेको हो। लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजंगल रंगीविरंगी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ। रासस 


प्रकाशित : सोमबार, चैत १३ २०७९०७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend