शनिबार, मंसिर ८ गते २०८१    
images
images

कालोपत्रका लागि ग्राभेल भइसकेको सडकको यो हालत, टालटुले काम हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १२ २०७९
images
images
कालोपत्रका लागि ग्राभेल भइसकेको सडकको यो हालत, टालटुले काम हुँदै
फाइल तस्बिर

आयोजनाको अनुगमन पाएको पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाका सव-इञ्जिनीयर बद्री ढुङ्गानाले केही ठाउँमा कमजोरी देखिए पनि ग्राभेल मापदण्डअनुसार नै भएको जानकारी दिए।

images
images

धनकुटा- अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिका धनकुटा जोड्ने दुई सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ। विसं २०८० मा सम्पन्न हुने गरी धनकुटा नगरपालिका-१ को व्यापारिक केन्द्र हिले बजार र नगरको वडा नं ९ स्थित टमाटर पकेट क्षेत्र बेलहाराबाट पालिका जोड्ने सडक कालोपत्रको चरणमा छ।

images
images
images

दुई सडकमध्ये हिले-थलथले-छिँडी हुँदै पालिकाको थलथले बजारसम्म १० किमी कोशी प्रदेश सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा निर्माण हुन लागेको हो।
 
कोशी प्रदेश सरकारकै २१ करोड ७३ लाखको सहयोगमा गुठीटार-बेलहारा-छिँडीसम्म पालिका, हिले बजार र पाख्रिवास नगरपालिका जोड्ने साढे ११ किमी सडक कालोपत्र हुन लागेको छ।
 
दुवै सडकमा हाल ग्राभेल बिच्छ्याएर कालोपत्र गर्ने चरणमा छन्। हिले-थलथले सडकका किनारभरि ग्राभेल गरिएको ढुङ्गा देखिन्छन् तर त्यही सडकसँग जोडिने नगरपालिका-९ को बेलहाराको गुठिटार-छिँडी सडकमा ग्राभेल गरिएको सडकको किनारभरि माटो मात्र देखिन्छ। टमाटरको पकेट क्षेत्रलाई लक्षित गरेर कोशी राजमार्गको धरान-धनकुटा सडकखण्डको गुठीटारबाट बेलहारा गाउँमा रमण दिव्य ज्योति जेभी काठमाडौंले निर्माण गर्न लागेको यस सडकको गुणस्तरप्रति वडावासीले असन्तुष्टि जनाएका छन्।
 
चार वर्षअघि डेनमार्क सरकारको उन्नति परियोजनाअन्तर्गत ग्राभेल भएको उक्त सडकलाई टालटुल गरेर कालोपत्र गर्न लागिएको बाघखोर गाउँका ४१ वर्षीय प्रेम खत्रीले गुनासो गरे। 'यही सडक मिलाउँदा भित्ता खन्दा निस्किेको माटो ल्याएर पुरेका छन्', खत्रीले भने।

images

बेलहारा गाउँकाका ५५ वर्षीया शान्तिप्रसाद कोइरालाले आफूलाई कालोपत्रका बारेमा ज्ञान नभए पनि यहाँ सडक छेउको ढुङ्गाभन्दा धेरै माटो भएको ग्राभेल लगाइएको जानकारी दिए। लामो समय सडकको काम गरेको अनुभव भएको बताउनुहुने भोजपुर घर भई हाल चार वर्षदेखि बेलहारा गाउँमा ठेक्कामा टमाटर खेती गर्दै आएका शेरबहादुर राईले स्थानीयवासीले खबरदारी नगर्दा यस्तो लापारबाही भएको जानकारी दिए।
 
'मैले आफ्नो जीवनमा यस्तो ग्राभेल देखेको छैन। यहीँको माटो ल्याएर पुरेको छ', राईले भने, 'यो दुई दिनको लागि मात्र हो।' यस विषयलाई लिएर गएको फागुन दोस्रो हप्ता स्थानीयवासी, सम्बन्धित निर्माण कम्पनी र योजना अनुगमन कार्यालयका प्रतिनिधिसँग वार्ता गरेर काम गर्ने सहमति भएको वडाध्यक्ष टङ्क रोइलाले जानकारी दिए।
 
आफ्नो पालिकासँग प्रत्यक्ष सरोकार राख्ने तथा सो सडक हुँदै पालिकावासी सुनसरी मोरङमा कृषि उपज बेच्न जाने सडक भएकाले सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पनि ग्राभेल ठीक नभएको प्रतिक्रिया दिए। 'हाम्रोमा पनि कालोपत्रका लागि ग्राभेल भइरहेको छ', उनले भने, 'यहीँबाट थाहा भइहाल्छ नि त्यहाँको ग्राभेल ठीक छैन भनेर।'
 
उनले यस विषयमा सरोकारवालासँग पटक-पटक खबरदारी गरिरहेको जानकारी दिए। आयोजनाको अनुगमन पाएको पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाका सव-इञ्जिनीयर बद्री ढुङ्गानाले केही ठाउँमा कमजोरी देखिए पनि ग्राभेल मापदण्डअनुसार नै भएको जानकारी दिए।

images

'कमजोरी देखिएको ग्राभेल सुधार गरेर काम सक्नेछौँ', उनले भने। सडक निर्माणका लागि प्रयोग हुने सामग्री तथा सम्झौताको कागजात माग गर्दा ढुङ्गानाले सो कागजात आफूसँग नभएको र पूर्वाधार विकास कार्यालय भोजपुरमा सम्पर्क गर्न सुझाव दिए।

कार्यालयमा सम्पर्क गर्दा कार्यालयका पूर्वाधार अपरेटर राजन कोइरालाले आफूसँग आयोजनाको सम्झौता मात्र भएको र सामग्री प्रयोगसम्बन्धी सम्झौताको कागजात ढुङ्गानासँगै रहेको जानकारी दिए। 'त्यो कागजातबिना त कसरी फिल्डमा काम गर्न सकिन्छ हैन र?', कोइरालाले भने, 'त्यो कागजात उतै छ ,मसँग भएको सम्झौताको कागज हो भने म तुरुन्त दिन्छु।'

कागजातको जिज्ञासा र माग राख्दा कार्यालयका प्रमुख राजेश्वर महतले भने उक्त आयोजनामा प्रयोग हुने सामग्री सम्झौताको प्राविधिक कुरा विशेषज्ञको सहयोगले मात्र बुझ्न सकिने भएकाले आफू धनकुटा आएको बेला विस्तृत जानकारी उपलब्ध गराउने जानकारी दिए। रासस


प्रकाशित : आइतबार, चैत १२ २०७९१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend