काठमाडौं- अर्थतन्त्र तथा वर्तमान अवस्थाका बारेमा समाजिक स्तरमा व्यापक असन्तुष्टि भइरहेको बेला विगतसँगको तुलनामा नेपालमा परिवर्तन भने भइरहेको देखिएको छ।
२०७८ को कात्तिकदेखि मंसिरसम्म भएको १२ औँ राष्ट्रिय जनगणनाको राष्ट्रिय प्रतिवेदन प्रकाशित भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेखित तथ्यांकले जीवनशैली तथा केही पूर्वाधारका क्षेत्रमा क्रमिक रुपान्तरण भइरहेको देखिएको छ।
आधुनिक सुविधामा जनताको पहुँच सम्बन्धिका केही तथ्यमा नेपालले उल्लेख्य प्रगति गरेको छ। २०६८ सालको तुलनामा २०७८ मा उल्लेख्य प्रगति भएका छन्।
ऊर्जा समीकरण बदलियो
पछिल्लो दस वर्षमा ऊर्जाका बारेमा नेपालमा धेरै बहस तथा छलफल भएको छ। स्वच्छ ऊर्जाको अधिक स्रोत भएर पनि नेपाल लामो समयदेखि अन्धकारमा थियो। यस्तो अन्धकारका बारेमा राम्रै बहस पनि भयो। तर यही गएको दशकमा ऊर्जामा केही सकारात्मक काम पनि भए। मुलुक लोडसेडिङ मुक्त भएको यही अवधिमा ऊर्जाका विविध काममध्ये एउटा प्रकाश हो। उज्यालोका लागि बिजुलीको पहुँच व्यापक विस्तार भएको छ।
२०६८ सालमा कुल घरपरिवारमध्ये ६७ प्रतिशतले मात्र उज्यालोका लागि बिजुली उपयोग गर्न पाएका थिए। जुन पछिल्लो दस वर्षमा विस्तार भएर ९२ प्रतिशत घरपरिवारमा पुगेको छ।
यो बीचमा मट्टीतेलको उपयोग उज्यालोका लागि उपयोग हुने क्रम तीव्ररुपमा घटेको छ। अर्थात् १० वर्षमा १८ प्रतिशत घरपरिवारको उज्यालोको स्रोत रहेको मट्टीतेल घटेर ०.६ प्रतिशतमा सीमित भएको छ।
ऊर्जाको अर्को प्रयोग भन्सा हो। खाना पकाउनका लागि उपयोग हुने ऊर्जाको स्रोतमा व्यापक उलटपुलट त भएको छैन तर पनि केही सकारात्मक संकेत देखिएका छन्।
विशेषगरि दाउराको उपयोग यो अवधिमा घटेको छ। वातावरणीय क्षतिको मुख्य कारण मानिने दाउराको उपयोग यो अवधिमा घटेको हो। अर्थात् २०६८ सालमा ६४ प्रतिशत परिवारले दाउरा उपयोग गर्थे भने २०७८ मा घटेर ५१ प्रतिशतमा झरेको छ।
यो अवधिमा ग्यासको उपयोग २१ प्रतिशतबाट बढेर ४४ प्रतिशत पुगेको छ। त्यस्तै गुँइठाको उपयोग घटेको छ। सबैभन्दा आशावादी तथ्यांक भनेको यो दशकमा बिजुलीको उपयोग देखिन थालेको छ।
ऊर्जाका स्रोतको खपतका दृष्टिले एउटा तथ्यांक रोचक देखिन्छ। घरबाट मट्टीतेल लगभग विस्थापित हुने चरणमा पुगेको छ। खाना पकाउने तथा उज्यालोको स्रोतका रुपमा घरमा प्रयोग हुने मट्टीतेल अहिले लोपोन्मुख अवस्थामा पुगेको छ।
खानेपानी तथा सरसफाइका क्षेत्रमा पनि पहुँच विस्तार लोभलाग्दो छ। विशेषगरि शौचालयको पहुँच विस्तारमा उल्लेखनीय प्रगति भएको छ। २०६८ सालमा नेपालमा ३८ प्रतिशत परिवारमात्र शौचालयको पहुँचमा थिए। जबकी २०७८ सालमा बढेर ९५ प्रतिशत पुगेको छ।
सूचना प्रविधिका क्षेत्रमा अर्को रुपान्तरण भएको छ। धेरै भौतिक सुविधा नागरिकले महसुस गर्ने खालको नभएपनि सूचना प्रविधिमा पुहँच व्यापक विस्तार भएको छ।
त्यस्तै वित्तीय उपकरणमा पनि जनताको पहुँच वृद्धि भएको छ।
गएको दशकमा सूचना प्रविधि तथा सञ्चारको क्षेत्रमा एउटा नकारात्मक सूचक पनि रहेको छ त्यो हो रेडियोको पहुँच। गएको दशकमा रेडियोको पहुँच घटेको छ। २०६८ सालमा हरेक २ मा एउटा घरमा रेडियो थियो अर्थात् ५० प्रतिशत घरपरिवारमा रेडियो थियो। २०७८ मा आउँदा घटेर ३४ प्रतिशतमा सीमित भएको छ।
कम्तिमा एउटा कम्प्युटर अथवा ल्यापटप हुने परिवार १५ प्रतिशत पुगेका छन्। २०६८ सालमा जम्मा ७ प्रतिशत थिए।
त्यस्तै टीभी हुने घर ४९ प्रतिशत पुगेका छन् जुन २०६८ मा ३६ प्रतिशत थियो। इन्टरनेटको पहुँचमा व्यापक विस्तार भएको छ। २०६८ सालमा ३ प्रतिशत घरपरिवारमात्र इन्टरनेटको पहुँचमा थिए २०७८ मा त्यो बढेर ३७ प्रतिशत पुगेको छ।
कम्तिमा एउटा मोटरसाइकल हुने घरको संख्यामा पनि वृद्धि भएको छ। २०६८ सालमा न्यूनतम एउटा मोटरसाइकल हुने ९ प्रतिशत घरपरिवार थिए भने २०७८ सालमा पुग्दा यस्ता घर २७ प्रतिशत पुगेका छन्। त्यस्तै रेफ्रिजेरेटर हुने घरको संख्या १० वर्षमा ७ बाट २३ प्रतिशत पुगेको छ।
तर यस्ता अधिकांश सूचक सहर केन्द्रित रहेका छन्। सहरका घरपरिवरामा यस्ता पहुँचको विस्तार भएपनि ग्रामिण क्षेत्रमा भने न्यून रहेको छ।