काठमाडौं- सामाजिक सञ्जालमार्फत साथी बनेका व्यक्तिले तपाईंलाई आर्थिक सहयोग गर्ने वा गिफ्ट पठाउने भन्दै रकम मागिरहेका छन्? भन्सार विभागको लोगो र नाम अंकित बिजक नै देखाएर पठाएको सामानको भन्सार शुल्क बुझाउनुपर्ने भनेका छन्? सचेत हुनुहोस्, तपाईं ठगिएको हुनसक्छ।
अनलाइनमार्फत चिनजान भएको विदेशी साथीले गिफ्ट र डलर पठाइदिने भनि प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न भन्सारलगायतका ठाउँमा क्लियरेन्स गर्नुपर्ने भन्दै रकम ठगी गर्नेहरूको गिरोह पछिल्ला केही वर्षयता सक्रीय छन्।
यसरी सामाजिक सञ्जालमा जोडिएर गरिने ठगीबारे प्रहरीले अनुसन्धान र पक्राउ गरिरहँदा ठगीको भिन्न शैली बढिरहेका छन्।
गएको फेब्रुअरी १७ मा जर्मनीको बर्लिन ठेगाना बताउने फ्यांक विलियनले ललितपुर टिकाथली बस्ने सन्ध्या तामाङलाई ह्वाट्सएपमा म्यासेज पठाए। विदेशीले साथी बन्ने आशयसहित म्यासेज पठाएपछि उनले पनि साथीका रुपमा कुराकानी गरिन्।
कुराकानी लम्बिन थाल्यो। तामाङ र विलियन नाम बताउनेका बीचमा अंग्रेजी भाषामा नै कुराकानी हुँदाहुँदै विलियनले आफूले विदेशबाट साथीको रुपमा सहयोग तथा गिफ्ट पठाउने बताए। तामाङले पनि विदेशी साथीले सहयोग पठाउने भनेपछि हुन्छ भनिन्। विलियनले तामाङलाई सुनको हार, सारी, जुत्ता, कस्मेटिक सामान र ५० हजार डलर पठाउने बताए।
विलियन नाम बताइरहेका ती व्यक्तिले २३ फेब्रुअरीमा गिफ्ट पठाएको भन्दै विभिन्न फोटोहरू पठाए। फोटोमा सामान प्याक गरिएको र ठेगानासमेत लेखिएको देखिन्थ्यो। उसले सामान घरसम्मै ल्याइदिनेगरी पठाएको पनि बतायो।
सामान राखिएको भनेर पठाएको प्याकको फोटामा पठाउनेको नाम ठेगाना र सम्पर्क नम्बर तथा पाउनेको नाम ठेगानालगायतका विवरणसमेत देखिन्थ्यो।
फेब्रुअरी २३ मा तामाङलाई उनको सामान नेपाल आइपुगेको र सामान घरमा ल्याउन ६० हजार लाग्ने भनेर रकम मागियो। तामाङले आफूसँग रहेको १० हजार रुपैयाँ र जरुरी परेको भन्दै आफ्नो दाइसँग ५० हजार रुपैयाँ मागी ग्वार्कोमा रहेको एसबीआई बैंकमा भनेअनुसारकै खातामा ६० हजार रूपैयाँ हालिदिइन्।
उनले ५० हजार रूपैयाँ पठाएको पाँच दिनसम्म पनि सामान भने आइपुगेन। सामान लैजानका लागि भन्सारलगायतमा रकम बुझाउनुपर्ने भन्दै थप १ लाख ५० हजार रूपैयाँ चाहिने भन्दै पुन: च्याटमार्फत नै सन्देश आयो। उनले ठूलो रकम हात लाग्ने प्रलोभनमा परेर पुन: १ लाख ५० हजार रूपैयाँ पठाइदिइन्।
उनले शर्मिला नाम गरिएको खातामा रकम पठाएकी थिइन्। दोस्रोपटक पैसा पठाएपछि पनि सामान भने आएन। अब भने बल्ल उनलाई ठगिएको भान हुन थाल्यो।
ठगी गर्ने गिरोहले विदेशबाट आएको तपाईंको सामानमा डलर पनि रहेछ, डलर सिधै ल्याउन नमिल्ने भएकाले भन्सार क्लिएरेन्सका लागि पुन: दुई लाख रूपैयाँ चाहिने भयो भनि म्यासेज पठायो।
त्यसपछि भने तामाङका दाइले बहिनीसँग ह्वाट्यसएपमा ठगी गिरोहले गरेको सबै च्याट पढे। केही दिनअघि मात्रै साथी भएको र यो ठगीकै गिरोह भएको ठहर दाइले लगाए। त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा गरेर बुझे। त्यसपछि उजुरीका लागि उनी प्रहरीकोमा पुगे।
तर अहिलेसम्म पनि ठगी गर्ने गिरोहले तामाङको ह्वाट्सएपमा दुई लाख रुपैयाँ हालिदिए सबै सामान आउने भनेर म्यासेज गरिरहेकै छ।त्यसका लागि गिरोहले कहिले एनआईसी एसिया त कहिले माछापुच्छ्रे बैंकको विभिन्न व्यक्तिको नाममा रहेको खाता नम्बर पठाइरहेको छ।
विदेशबाट गिफ्ट पठाएको र भन्सारमा रोकिएको भन्दै कतिपय ठगले त भन्सारको लोगोसमेत भएको नक्कली बिजकसमेत पठाउने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका भन्सार प्रमुख अरुण पोखरेल अहिले यस्तो प्रकारको ठगी बढेको बताउँछन्।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले पनि पार्सल पठाएको नाममा हुने गरेको ठगीसम्बन्धी उजुरीहरू अरू पनि आइरहेको बताए। नेपाली बैंकको कुनै खातामा रकम पठाएको अवस्थामा अनुसन्धानमार्फत कारबाही पनि भइरहेको उनले बताए। यसरी सामाजिक सञ्जालमा जोडिएर भइरहेको ठगीका सम्बन्धमा आमसर्वसाधारण सचेत हुनुपर्ने पनि उनले औँल्याए।
यस्ता छन् सामाजिक सञ्जालमा जोडिएर भएका ठगीका केही शैली
- अनलाइनमार्फत चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनि प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लिएरेन्स गर्नुपर्ने बाहाना बनाइ रकम माग गर्ने।
- तपाईंको नाममा अनलाइन चिठ्ठा पर्यो, उक्त चिठ्ठा प्राप्त गर्नका लागि ट्याक्स क्लिएरेन्स गर्नुपर्ने बाहाना बनाइ रकम माग गर्ने।
- सामाजिक सञ्जाल ह्याक गरी उक्त सामाजिक सञ्जाल प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी विभिन्न बाहानामा रकम माग गर्ने।
- साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनि ओटीपी माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्ने।
- विदेशबाट नेपालमा गरिब दु:खीहरूलाई सहयोग गर्न चाहेको र त्यसका लागि पठाएको रकम लिनका लागि केही पैसा चाहिने भन्दै रकम माग्ने।
- अनलाइन/सामाजिक सञ्जालमा सस्तोमा सामान बिक्रीमा राख्ने र सामान पठाउनु पहिले नै रकम असुल गरी सामान आपूर्ति नगर्ने।
- सामाजिक सञ्जालमार्फत प्रेमजालमा पारी अनेकन बाहाना बनाइ बैंकको खाता खोल्न लगाइ एटीएम कार्डलगायतको विवरण लिने।
- सामाजिक सञ्जालमा गलत भिडियोहरू बनाएर त्यसलाई भाइरल बनाइदिन्छु भनि रकम माग गर्ने।
- क्रिप्टोकरेन्सी/बिट क्वाइनमा लगानी गरे तुरुन्त डबल हुन्छ भनि रकम माग गरेर ठगी।