सोमबार, पुस ८ गते २०८१    
images
images

स्वादका लागि चर्चित बागलुङको आलु : स्थानीय उत्पादन बढ्दा तराई आलुको माग घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १७ २०७९
images
images
स्वादका लागि चर्चित बागलुङको आलु : स्थानीय उत्पादन बढ्दा तराई आलुको माग घट्यो

बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ। ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ। गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ।

images
images

बलेवा- कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो। ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ। हिउँदमा पनि गाउँपालिका-४ का बेसी फाँटमा आलु फलेको छ। 

images
images
images

ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ। यहाँको आलुमा मिसावट पनि छैन। किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन्। आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला-५ की दिलकुमारी पुन बताउँछन्।

images

आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ। यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन्। कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ।

images

ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ। काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन्। 

बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ। पहाडको आलु बेसीँका लागि बीउ हुन्छ। बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ। उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन्।

बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ। किसानले पनि व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ। ‘आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्’, व्यवसायी अर्जुन चोखालले भने, ‘स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ।’ 

पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ। ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ। ‘पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ’, थोक बिक्रेता गोपाल कँडेलले भने, ‘बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ।’  

उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताए। ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन्। सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन्। 

स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताए। ‘स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन’, सापकोटाले भने, ‘पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ।’ स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उनले बताए। ताराखोला र ढोरपाटनका अलावा बागलुङका बेसीमा फलेको आलुको पनि उत्तिकै माग छ।

अघिल्ला वर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्यांक छ। आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। चालु वर्ष बागलुङमा तीन हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार आठ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्यांक छ। प्रतिकिलो ३० रूपैयाँमा मात्रै बेच्न सक्दा किसानले एक अर्ब ६४ करोड कमाउन सक्ने उनले बताए। 

उनका अनुसार गत वर्ष जिल्लामा ४५ हजार छसय मेट्रिक टन आलु फलेको थियो। यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो। मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उनले बताए। ‘बागलुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोष्ट मलको प्रयोग भएको छ’, भट्टराईले भने, ‘राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन्।’ 

ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ। गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ। बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन्। सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए। 

आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन्। ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ। एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ। 

आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए। चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ। घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए।

‘जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तथ्यांक राखिएको छ’, पुनले भने, ‘बजारमा आलुको मूल्य रु ५० देखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ।’ तथ्यांकका लागि किसानले ३० रूपैयाँमात्र पाएको रेकर्ड बनाए पनि एक अर्ब ६४ करोड रूपैयाँबराबरको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए। रासस  


प्रकाशित : बुधबार, फागुन १७ २०७९०७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend