आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

विद्युतीय भ्यानमा कानूनअनुसार १० प्रतिशत नै भन्सार तिर्न तयार भयो दीगो

तातोपानी भन्सारले पहिल्यायो त्रुटी, रसुवागढीले थाल्यो विवरण संकलन

images
images
images
विद्युतीय भ्यानमा कानूनअनुसार १० प्रतिशत नै भन्सार तिर्न तयार भयो दीगो

११ सिट कायम हुँदा ती विद्युतीय भ्यानले एक प्रतिशतमात्र भन्सार तिरेर छुट्न पाउँछन्। ९ सिट कायम हुँदा सोही भ्यानले १० प्रतिशत भन्सार तिर्नुपर्छ।

images
images

काठमाडौं- दीगो ग्रुपअन्तर्गतको एनईभी नेपाल प्रालिले चीनबाट आयात गर्दै आएको डीएफएसकेका भ्यान ९ सिट क्षमताकै कायम भएको छ। यसअघि उक्त भ्यान ११ सिट क्षमताको भएको भन्दै एक प्रतिशत भन्सार महसुलमा जाँचपास भएको थियो। आज (बिहीबार)देखि भने सो कानूनअनुसार भ्यान ९ सिट क्षमताको कायम भएर १० प्रतिशत भन्सार महसुल तिरी पास भएका छन्। 

images
images
images

यसअघि दीगो समूहले उक्त भ्यान रसुवागढी भन्सार नाका हुँदै आयात गरिरहेको थियो। रसुवागढी भन्सारले कानूनको पूर्ण कार्यान्वयन नगर्दा हालसम्म २ सय ३६ वटा विद्युतीय भ्यान एक प्रतिशतमात्र भन्सार तिरेर पास भएका हुन्। जसका कारण सरकारले करोडौँ राजस्व गुमाएको थियो। 

images

पछिल्लो पटक दीगो समूहले डीएफएसकेकै विद्युतीय भ्यान तातोपानी नाका हुँदै आयात गरेको थियो। सो भन्सार कार्यालयमा कागजात पेश गरेपछि कार्यालयले कानूनी व्यवस्था र कागजातमा भएको गाडीको स्पेसिफिकेसन जाँच गर्दा सो विद्युतीय भ्यानमा ९ सिट र दुईवटा फोल्डिङ सिट रहेको फेला पारेको थियो। तत्पश्चात कार्यालयले कानूनले फोल्डिङ सिटलाई मान्यता नदिएको भन्दै १० प्रतिशत नै भन्सार लाग्ने बतायो। 

images

त्यसविरुद्ध दीगो समूह भन्सार विभागमा पुगेको थियो। रसुवागढी भन्सार कार्यालयले ११ सिटकै मान्यता दिएर एक प्रतिशत भन्सार लगाएर सयौँ गाडी पास गरेको तर तातोपानी भन्सारले सोही भ्यानमा ९ सिटमात्र भएको र १० प्रतिशत भन्सार लाग्ने बताएको भन्दै दीगोले विभागमा गुनासो गरेको थियो। तर विभागले कानूनअनुसार हुनुपर्ने काम कानूनअनुसार नै हुने जवाफ दियो। त्यसपछि दीगो समूह विभिन्न निकाय तथा शक्तिकेन्द्र धायो। 

images
images

कानूनमा स्पष्ट लेखिएकाले सबैले केही गर्न नसक्ने जवाफ दिएपछि बिहीबार दीगो समूह (एनईभी नेपाल प्रालि) १० प्रतिशत नै भन्सार तिरेर विद्युतीय भ्यान जाँचपास गराउन तयार भएको हो। एकै लटमा ७२ वटा डीएफएसकेका ईसी ३६ भ्यानमध्ये बिहीबार १२ वटा भ्यान पाँचपासका लागि तातोपानी भन्सार कार्यालयमा पेश गरेको हो। 

तातोपानी भन्सारमा चीनबाट आयात भएका विद्युतीय भ्यान आएको र त्यसबारे कार्यालयले जानकारी आएपछि कानूनको अध्ययन गरेर फोल्डिङ सिटलाई मान्यता नदिएको पाइएको कार्यालय प्रमुख दयानन्द केसीले जानकारी दिए। ‘हाम्रो कार्यालयमा गाडी चाँचपासपूर्व नै विद्युतीय भ्यानबारे कुरा उठेपछि कानून हेरियो। कानूनले फोल्डिङ सिटलाई मान्यता दिएको रहेनछ,’ उनले भने, ‘हामीले उक्त जानकारी गराएपछि एनईभी नेपाल केही दिन कार्यालयमा नआएको र आज बिहीबार १० प्रतिशत नै भन्सार (ईसी ३६ सिट नै स्वीकार गरेर) तिरेर १२ वटा भ्यान जाँचपासका लागि पेश भएको छ।’ 

नीतिगत रुपमा सरकारले स्पष्ट व्यवस्था गरेकारले आफूहरूले सोहीअनुसार कार्यान्वयन गरेको कार्यालय प्रमुख केसीको भनाइ छ। ‘कार्यालयले सरकारले बनाएको कानूनअनुसार काम गर्ने हो। कानून सबैका लागि समान रुपमै लागु हुन्छ र हुनु पनि पर्छ,’ केसीले भने। 

९ सिट कायम हुँदा सो विद्युतीय भ्यानले १० प्रतिशत भन्सार तिर्नुपर्छ भने सोही भ्यानमा ११ सिट क्षमता कायम हुँदा एक प्रतिशतमात्र भन्सार तिरे पुग्ने कानूनी व्यवस्था रहेको छ। ९ सिट क्षमता कायम हुँदा सरकारले यस्ता विद्युतीय भ्यानको आयातबाट ठूलै अंकमा राजस्व पाउने छ। 

आर्थिक ऐनमा गाडीको सिट संख्यामा आधारमा भन्सार महसुल निर्धारण गरिएको छ। अर्थात ११ सिटभन्दा माथि क्षमता भएका विद्युतीय गाडीलाई १ प्रतिशत भन्सार महसुल कायम गरिएको छ। तर १० सिट क्षमतासम्मका गाडीमा १० प्रतिशत महसुल निर्धारण गरिएको छ। 

आर्थिक ऐनमै ११ सिटभन्दा न्यून क्षमता भएका   विद्युतीय गाडीका लागि कतै पनि १ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छैन। यसलाई अन्य कारजिप भ्यान सरहकै भन्सार महसुल लाग्ने व्यवस्था रहेको छ। 

कानूनमा भएको व्यवस्थाअनुसार नै सरकारले कर लिने भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यबिक्रम खड्काले बताए। ‘भएको कानूनअनुसार काम गर्नु भनेर कार्यालयहरूलाई सर्कुलर भएको हुन्छ। कुनै भन्सार कार्यालयले केही कमी कमजोरी गरेको अवस्थामा अर्को कार्यालयले पत्ता लगाएपछि त्यहीअनुसार सबै कार्यालयलाई पुनः भनिन्छ,’ खड्काले भने, ‘पहिले आएको भएपनि पछि आउने भएपनि एकै प्रकारको मालवस्तुमा एकै दरको महसुल लाग्छ।’

कमीकमजोरी सच्याएर काम गर्नुलाई अन्यथा लिन नहुने उनको भनाइ छ। यसअघि आएका सवारीका विषयमा भन्सार विगभा र सम्बन्धित कार्यालयले कानूनअनुसार नै आवश्यक कदम चाल्ने उनले बताए। 

कति आए त्यस्ता भ्यान

यसअघि पनि समान स्पेसिफिकेसन भएका सयौँ भ्यान नेपाली बजारमा भित्रिएर विभिन्न रुटमा सञ्चालनमा रहेका छन्। यसअघि फोल्डिङ सिटलाई नै पूर्ण सिटको मान्यता दिएर रसुवागढी भन्सारबाट मात्र विद्युतीय भ्यान आएका थिए। हालसम्म उक्त नाकाबाट डीएफएसकेका मात्र १ सय २० वटा ईसी ३६ (डाँफे) भ्यान आयात भइसकेको छ। रसुवागढी नाकाबाट यसअघि त्यस्ता भ्यान २ सय ३६ वटा आयात भएका छन्। 

डीएफएसकेसँगै अन्य केही कम्पनीका सानो संख्यामा दुईवटा फोल्डिङ सिट भएका विद्युतीय भ्यान आयात भएका छन्। 

सरकारलाई थपिन्छ ८ करोडभन्दा बढी राजस्व

११ सिट कायम हुँदा ती विद्युतीय भ्यानले एक प्रतिशतमात्र भन्सार तिरेर छुट्न पाउँछन्। ९ सिट कायम हुँदा सोही भ्यानले १० प्रतिशत भन्सार तिर्नुपर्छ। यसरी ११ बाट ९ सिट कायम भएर १० प्रतिशत भन्सार लाग्दा अहिलेको मूल्यमा एउटा गाडीबाट सरकारले ३ लाख ३४ हजार रुपैयाँ बढी राजस्व पाउँछ। 

अहिले दीगोले ल्याएका ७२ वटा विद्युतीय भ्यान ९ सिट कायम भएर जाँचपास हुँदा सरकारले २ करोड ५० लाख रुपैयाँ बढी राजस्व पाउँछ। यसरी सरकारको रावस्व गुमिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेको थियो। 

डीएफएसकेसहित अन्य विभिन्न कम्पनीका गरेर रसुवागढी भन्सारबाट करिब २ सय ५५ वटा २ वटा फोल्डिङ सिटसहित ११ सिट क्षमताका विद्युतीय भ्यान आयात भएका छन्। एक प्रतिशत र १० प्रतिशत भन्सार अन्तर हुँदा प्रतिकार ३ लाख ३५ हजार रुपैयाँ राजस्व फरक पर्छ। उक्त संख्यामा आएका विद्युतीय भ्यानमा कानूनअनुसार कार कायम भएमा सरकारले ८ करोड रुपैयाँभन्दा बढी राजस्व पाउने छ। 

समान स्पेसिफिकेसनको विद्युतीय भ्यान भएको र तातोपानी भन्सारले कानूनअनुसार फोल्डिङ सिटलाई मान्यता नदिएर ९ सिट कायम गरेर कर निर्धारण गरेको छ। कार्यालयले भनेबमोजिम नै एनईभी नेपाल प्रालिले १२ वटा ईसी ३६ जाँचपास गरेकाले अब यसअघि रसुवागढीबाट भित्रिएका भ्यानमा समेत पुनः मूल्यांकन गरेर बाँकी भन्सार महसुल कार्यालयले असुल गर्नेछ। 

रसुवागढी भन्सारले पनि थाल्यो विवरण संकलन

रसुवागढी भन्सार कार्यालयबाट दुईवटा फोल्डिङ सिटलाई समेत गनेर ११ सिट कायम गरि एक प्रतिशत भन्सारमा गाडी छुटेका थिए। यसरी छुटेका विद्युतीय भ्यानको विवरण कार्यालयले संकलन सुरु गरेको छ। 

तातोपानी भन्सार कार्यालयले कानूनअनुसार फोल्डिङ सिटलाई मान्यता दिन नमिल्ने बताएर ९ सिट कायम गरि १० प्रतिशत भन्सार लाग्ने बतायो। तातोपानी भन्सारले भनेअनुसार नै एनईभी नेपालले गाडी पास गराएसँगै रसुवागढी भन्सारले यसअघि उक्त कार्यालयबाट भन्सार पास भएका सबै गाडीको विवरण खोज्न थालेको छ। 

असअघि भन्सार जाँचपासमा केही समस्या देखिएकाले आफूहरूले पनि सबै गाडीको विवरण संकलन सुरु गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बिजनेस न्युजलाई बताए। ‘विवरण संकलन थालेका छौँ,’ उनले भने, ‘आवश्यक अध्ययन गरेर अन्तिम कर निर्धारण गर्नेछौँ।’

कानूनअनुसार भन्सार दर लागेसँगै अब दीगो लगायत कम्पनीले आयामत गर्ने यस्तै स्पेसिफिकेसन भएका विद्युतीय भ्यानको मूल्य बढ्ने छ। यी भ्यानको मूल्य ८ लाख रुपैयाँसम्म बढ्ने अनुमान गरिएको छ। 

images

प्रकाशित : बिहीबार , फागुन ११ २०७९११:१८

प्रतिक्रिया दिनुहोस