बुधबार, वैशाख १९ गते २०८१    
images
images

कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय

images
images
images
कृषि विकास बैंकको सीईओ हुँदा जसलाई ८० करोड ऋण दिए, त्यही कम्पनीको सीईओ बने उपाध्याय
images
images

काठमाडौं- कृषि विकास बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय आफू सीईओ हुँदा ७९ करोड ३० लाख रूपैयाँ ऋण दिएको कम्पनीमा गएर प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको खुलेको छ। 

images
images
images

शेर्पा आउटडुअर्स (केटीएम सिटी ब्राण्डको उत्पादक) नामको कम्पनीका लागि विभिन्न शीर्षकमा उक्त रकम ऋण दिलाएका उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदावधि सकिएलगत्तै सोही कम्पनीमा सीईओ बन्न पुगेका हुन्। 

images

उपाध्याय एक महिनादेखि शेर्पा आउटडुअर्समा सीईओको रुपमा अफिस गइरहेको स्रोतले जानकारी दिएको छ। बिजनेस न्युजले पटकपटक सम्पर्क गर्न खोज्दा उपाध्याय सम्पर्कमा आएनन्। 

images

कृषि विकास बैंक स्रोतले दिएको जानकारीअनुसार शेर्पा आउटडुअर्सअन्तर्गतका दुईवटा कम्पनीलाई बैंकको ठमेल शाखाबाट ऋण प्रवाह भएको छ। शेर्पा आउटडुअर्स प्रालिका लागि व्यावसायिक ऋण १८ करोड ८० लाख रूपैयाँ दिइएको छ। यसैगरी, शेर्पा आउटडुअर्स स्पोर्टस् गुड्स इन्डस्ट्रिजका लागि व्यावसायिक ऋण ९ करोड ६० लाख रूपैयाँ र यसै कम्पनीका लागि आवधिक कर्जा ५२ करोड ९० लाख रूपैयाँ दिइएको छ। 

images
images

बैंक सम्बद्ध एक अधिकारीले यसलाई गम्भीर वित्तीय अपराध भएको दाबी गरेका छन्। ‘यसमा सिधै स्वार्थ देखिन्छ, पहिले आफैँ ऋण दिने र पछि त्यही कम्पनीमा जागिर खान जाने विषयलाई कुनै हिसाबले सही मान्न सकिँदैन,’ स्रोतले भन्यो, ‘नेपाल सरकारको लगानी भएको बैंक भएकाले अर्थ मन्त्रालय अन्य सम्बन्धित निकायले छानबिन गर्नुपर्छ।’ 

‘सीईओ सरकै दबाबमा ऋण दिइएको हो,’ बैंकको उच्च व्यवस्थापनमा रहेका एक अधिकारीले भने, ‘पछि उहाँ स्वयम् त्यहीँ  जागिर खान जानुहोला भन्ने लागेको थिएन।’ सीईओ उपाध्यायको कार्यकालमा भएको लगानीमाथि नेपाल राष्ट्र बैंकबाट पनि अनुसन्धान हुनुपर्ने ती अधिकारीको माग छ।

उपाध्यायले प्रमुख कार्यकारी अधिकृतको रूपमा चार वर्ष काम गर्दा बैंकले ऋण लगानी गरेका ठूला फाइलमा अनावश्यक दबाब र चासो दिने गरेको कर्मचारीहरूको दाबी छ।

यो ऋण प्रकरणमा पनि उपाध्यायले शेर्पा आउटडुअर्सको सीईओ मात्रै नभएर व्यावसायिक साझेदार नै बनेको हुनसक्ने बैंक सम्बद्ध स्रोतको आशंका छ। ‘बैंक छाडेलगत्तै त्यहाँ जानुभएको छ, कम्पनीको केही स्वामित्व पनि लिएको हुन सक्छ,’ ती अधिकारीले भने। 

कृषि विकास बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व छ। 

२०७५ पुसमा बैंकको सीईओ नियुक्त भएका उपाध्याय दुई महिनाअघि बैंकबाट बहिरिएका थिए। दोस्रो कार्यकाल सीईओ हुने रहर भए पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट 'ग्रिन सिग्नल' नपाएपछि उनी बैंकबाट बिदा भए। त्यसअघि कृषि विकास बैंकमा ३० वर्ष काम गरेका उनी उपमहाप्रबन्धक भएका थिए। 

शेर्पा आउटडुअरका सञ्चालक निमा शेर्पाले ६ जनवरी १९९४ मा दर्ता गरेको यो कम्पनीले काठमाडौं उपत्यका र बाहिर आफ्नो बिक्री केन्द्र खोलेर गार्मेन्टजन्य उत्पादन बिक्री गर्दै आएको छ। यसले भारत तथा क्यानडामा समेत आउटलेट खोलेर तयारी पोशाकको विक्री गर्दै आएको छ ।

कृषि विकास बैंकमा पर्दैछ खराब सूचकको भारी, कसरी होला रेस्क्यू? कृषि विकास बैंकमा पर्दैछ खराब सूचकको भारी, कसरी होला रेस्क्यू?

खराब सूचकको भारी बोकाएर बिदा

२० वटा वाणिज्य बैंकहरू मध्ये सबैभन्दा खराब वित्तीय सूचक कृषि विकास बैंकको रहेको छ। चार वर्र्ष नेतृत्व गरेका सीईओ उपाध्यायले ऋण विस्तारमा मात्रै ध्यान दिएको तथा असुलीमा चासो नदिँदा खराब ऋणको भारी परेको छ। केही दिनअगाडि मात्रै नयाँ सीईओ नियुक्त भएका गोविन्द गुरुङमाथि पुरानो सीइओले थोपरेको भारी पर्ने निश्चत छ।  

कृषि विकास बैंकको पछिल्लो ६ महिनामा मूख्य सूचक अधिकांश ऋणात्मक देखिएको छ। पछिल्ला वर्षहरूमा आकर्षक सुधार गरेको बैंकको यो वर्ष भने निराशाजनक सूचक देखिएको छ। गत वर्ष यही अवधिसम्म १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष वित्तीय विवरणअनुसार १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। 

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो। यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ। कृषि विकास बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट २.४४ प्रतिशत बिन्दुले बढेर ४.५२ प्रतिशतमा पुगेको छ।

चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्था प्रकाशित गरेका २० वाणिज्य बैंकमध्ये १९ वटा बैंकको खराब कर्जा बढेको पाइएको छ। त्यसमा सबैभन्दा बढी कृषि विकास बैंकमा देखिएको हो। 

नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत सेयर सरकार र ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ। संस्थापक सेयरधनीका रुपमा सरकारको  ६ अर्ब ७२ करोड ५८ लाख र सर्वसाधारण सेयरधनीको ६ अर्ब ४६ करोड २० लाख बराबर सेयर छ। 

वित्तीय विवरणअनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ थोरै बढेर ११ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ११ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

सीडी रेसियो ८७.५४ प्रतिशत रहेको बैंकको आधार दर ११.०६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १९.१० रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ र तरलता अनुपात २४.१० प्रतिशत रहेको छ।

images

प्रकाशित : बिहीबार , फागुन ११ २०७९१२:३६

प्रतिक्रिया दिनुहोस