शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

महुरे-राजापानी सडक : अलपत्र छाडेर उपकरणसहित भागे ठेकेदार

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २४ २०७९
images
महुरे-राजापानी सडक : अलपत्र छाडेर उपकरणसहित भागे ठेकेदार

महुरे-राजापानी सडक कालोपत्रको ठेक्का लिने सिद्धी शाही जेभीका सञ्चालक दीपेन्द्र शाही नेपाली कांग्रेस डोल्पाका सभापति छन्। शाहीले जिम्मा लिएका जिल्लाका अन्य आयोजनाको कामसमेत अलपत्र अवस्थामा रहेका छन्। 

images
images

खोटाङ- सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे-राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर भागेको छ। 

images
images
images

दिक्तेल-गाईघाट सडकखण्डको (२२ किलोमिटर) महुरे-राजापानी सडकखण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका ठेकेदार निर्माणस्थलमा प्रयोग गरिएका गाडी, क्रसर मेसिनलगायत आवश्यक उपकरणसहित निर्माणाधीन सडक अलपत्र छाडेर हिँडेको हो। 

images
images

काम सुरु गरेको लामो समयसम्म अलपत्र बनेको सडकमा केही समयअघि आएको निर्माण व्यवसायी काम गर्दागर्दै छाडेर हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताए।

images
images

'पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको थियो', उनले भने, 'निर्माणाधीन सडक अलपत्र छाडेर उपकरण उठाउन थालेपछि सम्बन्धित निकायमा खबर गर्‍यौँ। जिल्ला प्रशासन कार्यालय खोटाङले समेत कुनै चासो नदिएपछि निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामानसमेत उठाएर हिँड्यो।'

निर्माण कम्पनी भुक्तानी लिएपछि निर्माणस्थलबाट सामान उठाएर काम छाडेर हिँडेको स्थानीय बासिन्दाको आरोप छ। निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्बन्धित मालिक आएर लगेका हुन्। 

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार ३० गते योजनाको सम्झौता गरेको थियो। करिब ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको महुरे-राजापानी सडक कालोपत्रको ठेक्का रु ४१ करोड ५० लाखको लागतमा लिएको हो।

काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक-पटक आफ्नो साइड इञ्चार्ज परिवर्तन गर्दै स्थानीय बासिन्दालाई छल्ने काम गरेको वडाध्यक्ष राईले बताएका छन्। निर्माण कम्पनीले हालसम्म १४ जना साइड इञ्चार्ज (निर्माणस्थलमा खटिने कम्पनीका प्रमुख) परिवर्तन गरिसकेको स्थानीय बासिन्दाले बताएका छन्। 

यसबीचमा खोटाङमा छ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन्। कालोपत्रको काममा भइरहेको ढिलासुस्तीका विषयमा माघ २१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको थियो। 

भारत कन्ट्रक्सन/सिद्धी शाहीका प्रतिनिधि सन्तोष ढकालले केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासमक्ष मङ्सिर-१६ गतेदेखि पुस-१३ गतेसम्मको कार्यविवरण पेश गरेका थिए। जेभीले मङ्सिर १६ गतेदेखि हप्ता दिनसम्म सव-बेस मर्मत गर्ने, मङ्सिर २३ गतेदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, पुस ३ गतेदेखि १० दिनसम्म बेस फिँजाउने र पुस १३ गतेदेखि ४ किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेका थिए। 

महुरे-राजापानी सडक कालोपत्रको ठेक्का लिने सिद्धी शाही जेभीका सञ्चालक दीपेन्द्र शाही नेपाली कांग्रेस डोल्पाका सभापति छन्। शाहीले जिम्मा लिएका जिल्लाका अन्य आयोजनाको कामसमेत अलपत्र अवस्थामा रहेका छन्। 

उता, सोही सडकखण्डको राजापानी-फोक्सिङटार र फोक्सिङटार-अँधेरीखोला सडकखण्ड पनि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा छ। ठेकेदार कम्पनीले कालोपत्रको काम नगरेपछि गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरले गत पुस ८ गते ठेक्का तोड्न सिफारिस गरेको थियो। 

खोटाङ र उदयपुर जोड्ने दिक्तेल-गाईघाट (एक सय एक किलोमिटर) लामो सडकखण्डको दुई प्याकेज कालोपत्रको ठेक्का तोड्ने निर्णय उल्टिएको छ। उच्च अदालत पाटनले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार-सिम्पानी (राजापानी) र उदयपुरको अँधेरीखोला-फोक्सिङटार सडकखण्ड डिबीएसटी कालोपत्र योजनाको ठेक्का तोड्ने गाईघाट दिक्तेल सडक आयोजना कार्यालय उदयपुरको निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। 

ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नगर्दा सडक कालोत्रको काम वर्षौँसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले गत पुस ८ गते फोक्सिङटार-सिम्पानी (राजापानी) र उदयपुरको अँधेरीखोला-फोक्सिङटार सडकखण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो। ठेक्का तोड्ने निर्णयविरुद्ध ठेकेदार कम्पनी अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रको नियमित काम गर्न दिन र समय-समयमा कामको प्रगतिबारे अनुगमन गर्न अन्तरिम आदेश दिएको हो। 

ठेक्का तोड्ने निर्णय भएपछि ठेकेदार रिट हाल्न उच्च अदालत पुगेको थियो। ठेक्का तोड्ने निर्णयलाई अदालतले अन्तरिम आदेशमार्फत उल्टाइदिएपछि निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी काठमाडौँले फोक्सिङटार-सिम्पानी (राजापानी) सडकखण्डमा काम पुनः सुरु गरेको जनाइएको छ । 

अदालतको अन्तरिम आदेशमा ठेक्का कायम राख्न सफल निर्माण व्यवसायीले बाँकी काम सरासर गर्नेमा विश्वस्त हुने ठाउँ भने नभएको खोटाङ क्षेत्र नं १ बाट निर्वाचत प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले बताए। ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौताबमोजिम कार्यसम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले दुई खण्डको ठेक्का तोडेको सूचना जारी गरेको थियो। 

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ फागुन १४ गते शिलान्यास गरेको दिक्तेल-गाईघाट सडक पूर्वी तराई जोड्ने सबैभन्दा छोटो मार्गमा पर्दछ। निर्माण सुरु गरिएको २८ वर्षसम्म कालोपत्र नभएको यस सडकखण्ड हिउँदमा धुलो र वर्षामा हिलोका कारण अवरुद्ध हुँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, माघ २४ २०७९१३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend