काठमाडौं- खराब कर्जा बढेसँगै बैंकहरूले ऋण प्रवाहमा कडाइ गरेका छन्। एकातर्फ चर्को ब्याजदरका कारण ऋणको माग नै कम हुने तथा अर्कोतर्फ खराब कर्जा अत्यधिक बढेका कारण ऋण लगानीमा बैंकहरू हच्किँदा कर्जा विस्तार सुस्त बनेको छ।
चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरणअनुसार खराब कर्जा गत वर्षको सोही अवधिको तुलनामा ११२.३१ प्रतिशतले वृद्धि भएको छ। २० वाणिज्य बैंकमध्ये १९ वटा बैंकको खराब कर्जा बढेको छ।
अहिले बैंकहरूको खराब कर्जा एक वर्षमा बढेर १ खर्बभन्दा बढी भएको छ। गत आर्थिक वर्षको पुसमसान्तसम्म २२ वाणिज्य बैंकको खराब कर्जा ४५ अर्ब ८२ करोड मात्रै थियो।
अहिले पनि बैंकहरू २ खर्ब ऋण दिन सक्ने सहज अवस्थामा रहेका छन्। तर खराब कर्जा बढ्न थालेपछि ऋण लगानीबाट हच्किएका छन्। यता राष्ट्र बैंकले पनि खराब कर्जा सीमा भित्र राख्न बैंकहरूलाई दबाव दिँदै आएको छ।
लगानीयोग्य रकम सन्तोषजनक रहे पनि बैंकहरूले अहिले सचेततापूर्वक मात्रै कर्जा विस्तार गरिरहेकाे नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए। 'खराब कर्जा बढ्नु पनि ऋण विस्तार कम हुनुकाे एउटा कारण हाे तर त्यो मात्रै कारण होइन,' उनले भने, 'निकट भविष्यमा नै मुलुकको अवस्था कस्तो होला भन्ने स्पष्टता नभएकाले बैंकहरू आक्रामक छैनन्। त्यस्तै अहिले कर्जाको ब्याजदर उच्च भएकाले माग नै घटेको पनि छ।'
अहिले बैंकहरूमा निक्षेप बढे पनि त्यसमा सबैभन्दा ठूलो हिस्सा मुद्दती निक्षेपको रहेकाले पनि बैंकहरूले कर्जा विस्तार गर्नुअघि सचेत बनेकाे उनको भनाइ छ।
आयात खुलेपनि माघमा आर्थिक गतिविधि धेरै नबढेका कारण कर्जाकाे माग नभएको उनको भनाइ छ । 'बजारमा आत्मविश्वासकै कमी देखिएकाे ५,' उनले भने ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधवार साँझसम्म अहिले निक्षेप ५३ खर्ब ६१ अर्ब पुगेको छ भने ऋण प्रवाह ४८ खर्ब १६ अर्ब रहेको छ भने सीडी रेसियो ८६.४६ प्रतिशत रहेको छ। यता अल्पकालीन ब्याजदर घटिरहेको छ। अन्तरबैंक ब्याजदर ४ प्रतिशतमा झरेको छ।
कर्जा विस्तार कम भएको असर नाफामा पनि परेको छ। २० वाणिज्य बैंकको नाफा गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षको अवधिमा भन्दा १२.४५ प्रतिशतले बढेर ३० अर्ब ६ करोड रूपैयाँ पुगेको छ।
आर्थिक गतिविधिमा मन्दी मात्रै होइन अधिकांश लगानीकर्ताको ऋण घरजग्गामा लगाउँदा अहिले समस्या आएको बैंकर्सहरूको बुझाइ छ। विगतमा ऋण लिएर घरजग्गामा लगानी गरेका र अहिले कारोबार सुस्ताएपछि ऋणको किस्ता र ब्याज नै असुल नभएको हो। जसका कारण खराब कर्जाको रेसियो बढेको बैंकर्सहरूको बुझाई छ।
खराब कर्जा बढ्दा बैंकहरूले यसका लागि राखिने जोखिम प्रावधान बढ्छ र नाफामा असर पर्छ। यस्तो कर्जा पाँच प्रतिशत नाघेमा राष्ट्र बैंकले नै व्यवस्थापन सम्हालेर सुधारसमेत गर्ने गरेको छ। बैंकहरूको चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा वित्तीय विवरण अनुसार पछिल्लो एक वर्षमा बैंकहरूको खराब कर्जा करिब साढे ५४ अर्ब रुपैयाँले बढेको छ। चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब १९ अर्ब कर्जा लगानी गरेका छन्।
पछिल्लो एकवर्षको अवधिमा कर्जा लगानी २ खर्ब ४२ अर्बले बढेको छ। निक्षेप संकलन ५ खर्ब १७ अर्बले बढेर ५३ खर्ब ५८ अर्ब पुगेको छ। पछिल्लो समय १ वर्षमा कर्जा विस्तार ५.२८ मा सिमित हुँदा बैंक वित्तीय संस्थाको निक्षेप १०.६७ प्रतिशतले बढेको छ।
खराब कर्जा बढ्दै गएर जोखिम समेत बढेन अनुमान बैंकर्सहरूले समेत गरेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैंकहरूलाई दबाब आउन थालेको बताए। अध्यक्ष केसीले पछिल्लो समय बैंकहरूबाट लिएको कर्जाको ब्याजदर तिर्न नसक्ने भन्दै दबाब समूह बनाएर दबाब दिने प्रवृत्ति बढेको बताए।
कुनको कति?
गत आवको पुस मसान्तसम्म बैंकहरूको खराब कर्जा औषतमा १.०५ प्रतिशत बिन्दुमा रहेको थियो। चालु आवको सोही अवधिमा ११२.३१ प्रतिशतले बढेर औषतमा २.२४ प्रतिशतले बिन्दुमा रहेको छ। चालु आवको पुस मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ०.२७ प्रतिशत बिन्दुले घटेर २.७९ प्रतिशत रहेको छ। बाँकी सबै बैंकको खराब कर्जा बढेको छ। बैंकको खराब कर्जा २.४४ प्रतिशत बिन्दुले बढेर ४.५२ बिन्दुमा रहेको छ।
हिमालयन बैंक, नेपाल बैंक, नबिल बैंक, एनएमबि बैंक, सिभिल बैंक, सनराइज बैंक, सिटिजन्स बैंकको खराब कर्जा निकै बढी रहेको छ। तीन प्रतिशत भन्दा बढी खराब कर्जा हुने बैंकमा हिमालयन बैंकको ३.७७ प्रतिशत, नेपाल बैंकको ३.११ प्रतिशत, सनराइज बैंकको ३.३६ प्रतिशत, खराब कर्जा रहेको छ।
२ प्रतिशत भन्दा बढी खराब कर्जा हुने बैंकमा सिभिल बैंकको २.४१ प्रतिशत, ग्लोबल आइएमई बैंकको २.९२ प्रतिशत, प्राइम बैंक २.८१, सिद्धार्थ बैंकको २.८७ प्रतिशत, नबिल बैंकको २.९८ प्रतिशत, एनएमबि बैंकको २.२४ प्रतिशत, सिटिजन्स बैंकको २.९९ प्रतिशत र कृषि विकास बैंकको खराब कर्जा २.७९ प्रतिशत रहेको छ।
सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको ०.७२ प्रतिशतबाट ३.०५ प्रतिशत बिन्दुले बढेर ३.७७ प्रतिशत रहेको छ। कृषि विकास बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट २.४४ प्रतिशत बिन्दुले बढेर ४.५२ प्रतिशतमा पुगेको छ। यस्तै प्राइम बैंकको खराब कर्जा ०.७८ प्रतिशतबाट २.०३ प्रतिशत बिन्दुले बढेर २.८१ प्रतिशत पुगेको छ।
१ प्रतिशत भन्दा कम खराब कर्जा ५ वटा बैंकको मात्रै रहेको. छ। जसमा स्टयान्डर्ड चार्टर्ड बैंकको ०.७२, एभरेष्ट बैंकको ०.५५, एनआईसी एशिया बैंकको ०.६१, सानिमा बैंकका ०.७७, नेपाल एसबिआई ०.४७ प्रतिशत रहेको छ।