आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

राज्यमन्त्रीको गाडी पनि पर्यटनमन्त्रीकै कब्जामा

वायुसेवा निगमले दिएको गाडी पुरानो भएको राज्यमन्त्रीको गुनासो!

images
सोमबार, माघ १६ २०७९
images
राज्यमन्त्रीको गाडी पनि पर्यटनमन्त्रीकै कब्जामा
images
images

काठमाडौं- सार्वजनिक रुपमा कडाकडा अभिव्यक्ति दिएर संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चर्चित छन्। तर उनै किरातीले मन्त्री र राज्यमन्त्री चढ्ने दुवै गाडी आफैँले कब्जा गरेपछि मन्त्रालयका सचिव तथा कर्मचारी अप्ठ्यारोमा परेका छन्। 

images
images
images

पर्यटन मन्त्रालयमा यसअघि मन्त्रीले चढ्दै आएको  फर्चुनर गाडी छ। त्यस्तै अर्को हुण्डाईको सोनाटा गाडी छ, जुन यसअघि राज्यमन्त्रीले प्रयोग गर्दै आएका थिए। तर मन्त्री किरातीले अहिले दुवै गाडी आफैँले प्रयोग गर्ने गरी राखेका छन्। 

images
images

दुवै गाडी मन्त्रीले नै राखेपछि अहिलेसम्म पनि मन्त्रालयले राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलाई गाडीको स्थायी व्यवस्थापन गर्न सकेको छैन। मन्त्रालयका सचिव सुरेश अधिकारीले राज्यमन्त्रीलाई तत्कालका लागि आफैँले चढिरहेको स्कोरपियो गाडी दिएर अर्को गाडी व्यवस्थापनमा लागेका छन्।

images
images

सचिव अधिकारीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग राज्यमन्त्रीका लागि भन्दै गाडी मागे। निगमले पनि आफूसँग भएको सबैभन्दा नयाँ सुजुकी स्वीफ्ट गाडी र ड्राइभरसहित मन्त्रालय पठाइदियो। तर राज्य मन्त्रीले त्यो गाडी पनि पुरानो र नराम्रो भएको गुनासो सचिव अधिकारीलाई गरिन्।

गाडी पुरानो भएको भन्दै सचिव अधिकारीले निगम व्यवस्थापनलाई हकारे। तर निगमसँग सबै गाडी सुजुकीकै रहेको अधिकारीले जानकारी गराए। निगमले पठाएको गाडी पुरानो भएको भन्दै मन्त्रालयले केही दिन फिर्ता गरे पनि पुनः केही दिनपछि उही गाडी मागियो।

निगमले पनि पुनः ड्राइभरसहित गाडी मन्त्रालय पठायो। तर त्यो गाडी अहिले न राज्य मन्त्रीले चढेकी छिन् न त सचिवले नै। राज्यमन्त्रीले सचिवको स्कोरपियो प्रयोग गरेकी छिन् भने सचिवले मन्त्रालयमै रहेको दक्षिण एसियाली पर्यटन पूर्वाधार आयोजनाको गाडी चढेका छन्। निगमले पठाएको गाडी भने राज्यमन्त्रीको सचिवालयका अधिकारीहरूले प्रयोग गरिरहेका छन्।

निगमले हाल्ने तेल मात्रै होइन सर्भिसिङ खर्च र साथै ड्राइभरसमेत राखेर राज्यमन्त्री ठकुरीका लागि भनेर पठाएको गाडी भने सचिवालयले दुरुपयोग गरिरहेको छ। पर्यटन सचिव अधिकारी भने राज्यमन्त्रीका लागि उपयोगी अर्को गाडीको व्यवस्थापनमा लागिरहेकै छन्।

पर्यटन मन्त्रालयका प्रवक्ता राजेन्द्र केसीले यसअघि पनि मन्त्रालयमा रहेका दुईवटै गाडी मन्त्री र मन्त्रीको सचिवालयले प्रयोग गर्ने गरेकोमा अहिले पनि त्यसै भएको बताए। तर राज्यमन्त्रीलाई गाडीको अभाव भएपछि सचिवको गाडी प्रयोग गरिएको उनले स्वीकार गरे। यो मन्त्रालयको आन्तरिक विषय भएको र गृह मन्त्रालयसँग गाडी माग गरिसकेकाले समस्या समाधान हुने उनले सुनाए।

तर नेपाल वायुसेवा निगमसँग गाडी मागेको विषयमा उनले बोल्न चाहेनन्। भने- 'औपचारिक रुपमा गाडी मागिएको छैन, अनौपचारिक रुपमा के भयो मलाई थाहा भएन।'


प्रकाशित : सोमबार, माघ १६ २०७९०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend