बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कमजोर कम्पनीको सेयर मूल्य उचालिँदै, पुनः फस्न सक्छन् साना लगानीकर्ता

सोमबार, माघ १६ २०७९
कमजोर कम्पनीको सेयर मूल्य उचालिँदै, पुनः फस्न सक्छन् साना लगानीकर्ता

काठमाडौं- सेयर बजार बढ्न थालेपछि वित्तीय सूचक खराब भएका कम्पनीहरूको पनि सेयर मूल्य बढ्छ। पछिल्लो समय ३०० बिन्दुले बजार बढिसकेको छ। विगतमा जस्तै कर्नरिङ गर्ने गरेर थोरै सेयर भएका कम्पनीको सेयर मूल्य बढिरहेको छ।

वित्तीय रुपमा कमजोर सूचक भएका कम्पनीहरूको सेयर मूल्य उचाल्ने काम पुनः सुरु भएको छ। वित्तीय हिसाबले खराब सूचक भएका सानासहित कहिल्यै पनि लाभांश नदिने कम्पनीहरूको सेयर मूल्यमा लगातार सर्किट लागिरहेको छ। 

विगतमा ३१९९ बिन्दुसम्म पुगेको सेयर बजार घटेर १८०० सम्म आएको थियो। पुनः बढेर २२०० को बिन्दु वरपर घुमिरहेकाे छ। विगतमा पनि आधारभूत रुपमा कमजोर जलविद्युत, फाइनान्स र विकास बैंकका सेयर मूल्य उचालिएको थियो। कतिपय कम्पनीको सेयर मूल्य राम्रा कम्पनीको भन्दा दोबर बढी नै भएको थियो। 

n 1.JPG

सेयर विश्लेषक छोटेलाल रौनियार लगानीकर्ता संख्या बढ्दै गए पनि बजारका विषयमा अध्ययन र ज्ञान बढ्न नसक्दा कमजोर कम्पनीहरूमा नयाँ लगानीकर्ता फस्ने गरेको बताउँछन्। विशेषगरी सेबोन, नेप्से र ब्रोकरले सेयर शिक्षा कार्यक्रम चलाउनुपर्ने उनको भनाइ छ। 

यस्ता कम्पनीमा उच्च बिन्दुमा गरिएको लगानी जोखिममा हुने र लाभांश पनि नपाउने हुँदा लगानीकर्ताहरू दोहोरो मारमा पर्ने गरेका छन्। यस्ता कम्पनीमा कर्नरिङ गर्नेहरूले नाफा कमाउनसक्ने हुनाले दीर्घकालका लागि लगानी गर्नु निकै जोखिम हुन्छ।  

युनाइटेड इदी-मर्दी एन्ड आर वि हाइड्रोपावर लिमिटेडको सेयर कारोबार लगातार बढिरहेको छ। वित्तीय विवरणमा खासै प्रगति नगरेको कम्पनीको सेयर खरिद बिक्रीमा कर्नरिङ भएको आंशका गरिएको छ।

n 11.JPG

युनाइटेड इदी-मर्दीको सेयर मूल्य विगतमा लगातार सर्किट लागेर ११५० रुपैयाँसम्म पुगेको थियो। पछि घटेर ३९० रुपैयाँमा झरेको कम्पनीको सेयर मूल्य पुन: बढेर ६०० रुपैयाँ पुगेको छ।

त्यस्तै साहज ऊर्जा, इष्ट्रन हाइड्रो, बराही हाईड्र जस्ता कम्पनीको लगातार सर्किट लागिरहेको छ। समृद्धि फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, शिवश्री हाइड्राेपावर कम्पनीलाई लिन सकिन्छ। 

बजार ३२०० बाट १८०७ मा आउँदा समृद्धि फाइनान्सको सेयरमूल्य १७९ रुपैयाँ आएको थियो। १८०७ को न्यून बिन्दुबाट बजार २२०० को आसपासमा रहँदा यो कम्पनीको सेयरभाउ बढेर ३५० रुपैयाँ पुगेको छ। यस हिसाबले यो कम्पनीको सेयरभाउ ९० प्रतिशत बढिसकेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट हेर्ने हो भने यो कम्पनीको ईपीएस १८.९० रुपैयाँले ऋणात्मक रहेको छ। जब कि अघिल्लो वर्ष पनि यही अवधिको ईपीएस ०.५२ रुपैयाँ थियो। समीक्षा अवधिमा ७ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको समृद्धि फाइनान्सको खराब कर्जा अनुपात (एनपीएल) ३.५९ प्रतिशत पुगेको छ। 

सप्तकोसी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था पनि नाजुक नै रहेको देखिन्छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको ईपीएस ६२.७१ रुपैयाँले ऋणात्मक छ। यो अवधिमा १३ करोड ७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। बजार १८०७ मा झर्दा यो बैंकको सेयरभाउ पनि १७८ रुपैयाँसम्म आएको थियो। अहिले फेरि सेयर मूल्य पनि ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ। 

शिवश्री हाइड्रोपावरको वित्तीय स्वास्थ्य त्यति राम्रो छैन। तर बजार १८०७ को तल्लो बिन्दुमा झरेको बेला १५५ रुपैयाँसम्म आएको मूल्य लगभग ६५ प्रतिशतले बढेको छ। 

दोस्रो त्रैमासको रिपोर्टअनुसार यो कम्पनीको ईपीएस पनि ९.४४ रुपैयाँ र रिटर्न अन इक्विटी १५.४२ रुपैयाँले ऋणात्मक छ। कम्पनीले ३ करोड ४८ लाख रुपैयाँले घाटा व्यहोरेको छ भने रिजर्भ ५७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ। 

n111.JPG

हाइड्रोमा सबैभन्दा बढी चलखेल

पछिल्लो पटकको बुलिस ट्रेण्डमा सर्टटम ट्रेडिङ गरेर सबैभन्दा धेरै कमाउने हाइड्रोबाटै देखिएका थिए। जुन कमाइ दीर्घकालीन थिएन। दीर्घकालीन लगानी गर्नेहरूका लागि हाइड्रो कम्पनी अझै भरपर्दो हुन सकेको छैन। 

ठूला खेलाडीहरूले होल्ड गर्ने र बिक्री गरेर बाहिरिने गर्दा साना लगानीकर्ता फस्ने हुँदै आएका छन्। बैंक, लघुवित्त, फाइनान्सहरूले राम्रो लाभांश दिने भएकाले सेयर बजार घट्दासमेत खासै ठूलो घाटा हुँदैन। तर हाइड्रो कम्पनीहरूले वर्षौंदेखि लाभांश दिएका छैनन्। जसका कारण महँगो मूल्यमा किन्नेहरू फस्ने गर्दछन्। 

हाइड्रोपावर कम्पनीहरू आगामी दिनमा राम्रो हुनसक्छन्, अहिलै नै छोटो समयमा लगानी गरेर बाहिरिनेहरूले केही कमाएका पनि छन्। तर लामो समय होल्ड गरेर राख्दा हाइड्रोपावरमा कमाउन सकेका छैनन्। छोटो समयका ट्रेडरहरूले अरुको कुरा सुनेर लगानी गर्दा धेरै लगानीकर्ता डुबेकासमेत छन्। हाइड्रोपावर कम्पनीहरूमा केही नगन्य कम्पनीले मात्रै लाभांश दिएका छन्। सोही कारण पनि हाइड्रो कम्पनीको सेयर किनेर राख्नु भनेको मूर्खता हुने विश्लेषकहरू बताउँछन्। 

हरेक कम्पनीको सेयर खरिद गर्नुभन्दा अगाडि रिटर्न एण्ड इक्वीटी, प्रतिसेयर आम्दानी, बुक भ्यालु, पीई रेसियो र सेयर एकवर्षको सेयर मूल्य हेरेर मात्रै खरिद गर्दा राम्रो हुनेछ।


प्रकाशित : सोमबार, माघ १६ २०७९०२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend