शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

अनुदानमा बनेका वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा सरकार असफल

शुक्रबार, माघ १३ २०७९
अनुदानमा बनेका वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा सरकार असफल

रारा, ओलाङचुङगोलादेखि तराइका बेल्ट र काठमाडौं अनि धुलिखेलमा गरेर ८ वटा मात्र सञ्चालनमा छन्। बाँकी रहेका अन्य सबै स्टेसनहरु चल्न सकेका छैनन्। 

काठमाडौं- अन्तर्राष्ट्रिय दातृ निकायले बनाएर सरकारलाई अनुदानमा दिएका वायु प्रदूषण मापन केन्द्र थन्किएका छन्। 

ईसीमोडले बनाएर सरकारलाई हस्तान्तरण गरेका यस्ता अधिकांश केन्द्र अहिले थन्किएका छन्। ईसिमोडले वातावरण विभागलाई हस्तान्तरण गरेपनि अहिलेसम्म जम्मा ८ वटामात्र सञ्चालनमा रहेका छन्। 

देशका विभिन्न ठाउँमा २७ वटा यस्ता केन्द्र रहेका छन्। विभिन्न ठाउँको वायु प्रदूषणको रियलटाइम तथ्यांक अवलोकन गरी प्रदूषण न्यूनीकरणका लागि कदम चाल्नका लागि भनेर ल्याइएका यस्ता स्टेशन प्रयोगविहीन भएका छन्। 

मर्मतसम्भार तथा सञ्चालनका लागि सरकारले ध्यान नदिँदा २७ मध्ये ८ वटामात्र सञ्चालनमा छन्।  

रारा, ओलाङचुङगोलादेखि तराइका बेल्ट, काठमाडौं र धुलिखेलमा गरेर ८ वटा मात्र सञ्चालनमा छन्। बाँकी रहेका अन्य सबै स्टेसनहरू चल्न सकेका छैनन्। 

यी सबै स्टेसनहरू समयानुकूल मर्मत हुन नसकेकाले नचलेका हुन्। 

सन् २०१५ देखि ईसिमोडले स्थापना गरिदिएका यी केन्द्रको मर्मतसम्भार खर्चिलो भएको र दक्ष जनशक्ति पनि नहुँदा पुन: सञ्चालनमा ल्याउन कठिन भएको विभागले जानकारी दिएको छ। 

विभागका महानिर्देशक नमराज घिमिरेले आवश्यक बजेट तथा जनशक्ति नहुँदा केन्द्र सञ्चालनमा कठिन भएको बताए। तर पनि विभागले फेरि सञ्चालनका लागि तयारी गरिरहेको बताए। 

मम.png
नियमित सञ्चालन नभएका केन्द्रको विवरण

ईसिमोडले हस्तान्तरण गरेपछि त्यसको नियमित मर्मत तथा सञ्चालनको जिम्मा सरकारकै हो। तर सरकारले यसमा प्राथमिकता नदिँदा थन्किएर रहेका छन्। 

ईसिमोडले यी केन्द्रहरू सरकारलाई गएको वर्ष मात्र हस्तान्तरण गरेको थियो। केन्द्रको नियमित सञ्चालनबाट देशका विभिन्न ठाउँको वायु प्रदूषणको अवस्था मापन गर्नुपर्ने थियो। यसका लागि ड्यासबोर्ड पनि बनाइएको छ। तर यो ड्यासबोर्डमा अहिले अधिकांश ठाउँको देखाउँदैन। 

वातावरण विभागले अहिले आएर बल्ल ९ ठाउँमा रहेका मापन केन्द्रमा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाउने भएको छ। यस्ता स्टेशनमा आवश्यक अन्य पूर्वधार निर्माण गरेर नियमित सञ्चालनका लागि योग्य अवस्था बनाउनका लागि काम अघि बढाउन लागिएको विभागले जानकारी दिएको छ। 


प्रकाशित : शुक्रबार, माघ १३ २०७९०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend