शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

विद्युत प्राधिकरणको उत्पादन घट्यो, भारतबाट आयात बढ्यो 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १ २०७८
विद्युत प्राधिकरणको उत्पादन घट्यो, भारतबाट आयात बढ्यो 

आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणका जलविद्युत गृहबाट कुल २ अर्ब ८१ करोड युनिट विद्युत उत्पादन भयो। यो आर्थिक वर्ष २०७६/७७ को उत्पादन ३ अर्ब २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो।

काठमाडौं- आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणका जलविद्युत गृहबाट कुल २ अर्ब ८१ करोड युनिट विद्युत उत्पादन भयो। यो आर्थिक वर्ष २०७६/७७ को उत्पादन ३ अर्ब २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो। आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रका विद्युतगृहहरूबाट २ अर्ब ९९ करोड युनिट विद्युत प्राप्त भएकोमा गत आर्थिक वर्षमा ८.३६ प्रतिशतले बढ्न गई ३ अर्ब २४ करोड युनिट प्राप्त भएको छ।

यस्तै २०७६/७७ मा भारतबाट १ अर्ब ७३ करोड युनिट विद्युत खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आर्थिक वर्षमा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्ब ८२ करोड युनिट विद्युत खरिद गरिएको छ। गत आर्थिक वर्षमा प्रणालीमा ८ अर्व ८७ करोड युनिट घन्टा विद्युत उपलब्ध भयो। जुन आर्थिक वर्ष २०७६/७७ मा ७ अर्व ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो।

कुल उपलब्ध उर्जा मध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ। आव २०७७/७८ मा कुल विद्युत खपत ७ अर्ब ३१ करोड युनिट रहेको छ। जुन आ.व. २०७६/७७ को ६ अर्ब ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढिरहेको छ।

विद्युत चुहावट बढ्यो
२०७७/७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत रहेको छ, जुन आर्थिक वर्ष ७६/७७ को तुलनामा १.९१ प्रतिशतले बढी हुन आउँछ। विद्युत खपतमा भएको वृद्दि, कोभिड १९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ्ग हुन नसकेको आदि कारणले उक्त चुहावटमा वृद्दि हुन गएको छ।

नाफा  घट्यो
२०७७\७८ मा विद्युत बिक्रीबाट कुल ७१ अर्व २८ करोड रुपैयाँ आम्दानी भएको छ। जुन आर्थिक वर्ष २०७६\७७ को ७६ अर्व ३१ करोड रुपैयाँको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको छ। आर्थिक वर्ष २०७७\७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ६१ अर्व ८७ करोड रुपैयाँको तुलनामा १०.९६ प्रतिशतले वृद्दि भई ६८ अर्व ४५ करोड रुपैयाँ पुगेको छ। विद्युत खरिद बापत आर्थिक वर्ष २०७७\७८ मा ४१ अर्व ४६ करोड रुपैयाँ खर्च भएको छ। जुन आर्थिक वर्ष ७६\७७ को खरीद ३५ अर्व १२ करोड रुपैयाँ भन्दा १८.०५ प्रतिशतले बढी रहेको छ। 

२०७७\७८ मा प्राधिकरणको अन्य आम्दानी सहितको खुद आम्दानी ८० अर्व ३५ करोड रुपैयाँमा सञ्चालन खर्च ६८ अर्व ६४ करोड रुपैयाँ कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा ११ अर्व ७१ करोड रहेको छ। यो संचालन मुनाफा आर्थिक वर्ष २०७६\७७ को २३ अर्व ७४ करोड रुपैयाँको तुलनामा ५०.६७ प्रतिशतले घटी हो। 

pradhikaran nafa.jpg

गत आर्थिक वर्षमा कर अघिको मुनाफा ६ अर्व रहेको छ जुन आर्थिक वर्ष २०७६\७७ को १३ अर्व २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो। साथै आर्थिक वर्ष २०७६/७७ को कर पछिको खुद मुनाफा ११ अर्व ६८ करोड रहेकोमा गत आर्थिक वर्ष मा ३ अर्व ५१ करोड अर्थात ६९.९४ प्रतिशतले कमी रहेको छ। 

प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ। विद्युत विक्री बापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ। आर्थिक वर्ष २०७६\७७ को तुलनामा प्राधिकरणको उत्पादन घटेको र विद्युत आयात बढ्न गएकोले आर्थिक वर्ष २०७७\७८ मा विद्युत खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले वृद्दि भएको छ।

९० प्रतिशत जनसंख्या ग्रिडको पहुँचमा
विगतमा जस्तै गत वर्ष पनि विद्युत खपत गर्ने ग्राहकहरूको संख्यामा बृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा बृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ। 

सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ।

समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ। प्राधिकरणले कोरोना महामारीका बाबजुद आर्थिक वर्ष २०७७\७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ। कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत पुर्‍याइएको छ।


प्रकाशित : मंगलबार, भदौ १ २०७८११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend