बुधबार, वैशाख १९ गते २०८१    
images
images

सुरेन्द्रबहादुर बस्नेत : युवावयमा सरकारमा रहेर, वृद्धावस्थामा बुद्ध एयरमार्फत जनताको सेवा

images
images
images
सुरेन्द्रबहादुर बस्नेत : युवावयमा सरकारमा रहेर, वृद्धावस्थामा बुद्ध एयरमार्फत जनताको सेवा
images
images

काठमाडौं- ३२/३३ वर्षको उमेरमा मोरङ जिल्ला पञ्चायतको सभापतिका रुपमा सार्वजनिक जीवन सुरु गरेका सुरेन्द्रबहादुर बस्नेत ९५ वर्षसम्म कर्ममा आबद्ध भइरहे। धेरै लामो समय विभिन्न सरकारी ओहोदामा बसेर जनताको सेवा गरेका उनी जीवनको पछिल्लो खण्डमा बुद्ध एयर स्थापना गरी पुनः जनसेवाकै काममा लागे।

images
images
images

५८-६० वर्षमा मानिसहरू अबकास पाएर बुढ्यौली जीवन बिताउन थाल्छन् तर बस्नेतले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरी उद्यम सुरु गरे। बुद्धलाई आफ्नै जीवनकालमा मुलुकको हवाइ क्षेत्रको ५६ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्ने कम्पनीका रुपमा स्थापित गरे।

images

सन् १९९६ मा स्थापना भएको बुद्ध एयर अहिले आन्तरिक उडानमा सबैभन्दा सफल कम्पनी हो। बुद्ध एयरले अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान (बनारसमा) १६ वटा जहाजबाट हवाई यात्रुलाई सेवा दिँदै आएको छ। बस्नेतको सपनाबाट जन्मेको बुद्ध एयरले २५ वर्षको अवधिमा २ करोड भन्दा बढीलाई हवाई सेवा दिइसकेको छ।

images

बुद्ध एयरले अहिले काठमाडौंबाट देशभरका दर्जन विमानस्थलमा उडान गरिरहेको छ भने पोखराबाट पूर्वदेखि पश्चिम नेपालको गन्तव्यमा क्षेत्रीय उडान गरिरहेको छ। केही दिनअघि मात्रै उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय तथा क्षेत्रीय उडानको योजनासमेत बनाएको छ। सरकारी सेवाबाट आफैले उच्च कद बनाएका र हवाइ क्षेत्रमा आफूले स्थापना गरेको कम्पनीलाई उचाइमा पुर्‍याएका बस्नेत १० पुसमा ब्रह्मलीन भए।

images
images

बस्नेत अर्थमन्त्री भएका बेला अर्थसचिव रहेका भेषबहादुर थापा उनलाई मेहनती र जाँगरिला व्यक्तित्वका रुपमा सम्झन्छन्। बस्नेतले आफूले गर्न चाहेको काम सफल बनाएरै छाड्ने गरेको उनको अनुभव छ। बस्नेत अर्थमन्त्री हुँदा थापा अर्थसचिव भएर उनीसँगै ११ महिना काम गरेका थिए। 'उहाँमा जहिले पनि केही न केही नयाँ काम गर्नु पर्छ भने भावना हुन्थ्यो। आफैँ जमिनदार हुँदाहुँदै पनि नेपालमा व्यावसायिक कृषि सुरु गर्नुभयो। अरुले आराम बेला ७० वर्षको उमेरमा सबैभन्दा बढी जोखिम रहेको व्यवसाय सुरु गरेर कसरी सफल हुनुहुन्थो,' थापा सम्झन्छन्। उनलाई यस काममा सफल बनाउन जेठो छोरा वीरेन्द्रबहादुर बस्नेतको योगदान रहेको पनि थापा सम्झन्छन्।

surendra group.jpg

बस्नेतले अर्थमन्त्री, कानून न्याय तथा शिक्षामन्त्री, प्रथम प्रमुख निर्वाचन आयुक्त, सर्वोच्च अदालतको न्यायाधीश, प्रेस काउन्सिलको संस्थापक अध्यक्ष लगायतका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे। उनी जहाँ नियुक्त भए कि त ती संस्था पहिलोपटक स्थापना भई संस्थागत गर्ने जिम्मेवारीका साथ नियुक्त भए कि कुनै चुनौतीपूर्ण काम गर्न नियुक्त भए।

बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएलबी गरेका उनलाई राजा महेन्द्रले मोरङ जिल्ला सभापतिको पदावधि सकिएलगत्तै नियुक्त गरेका थिए। त्यहाँ उनले थोरै काम गरे तर सर्वोच्च अदालतलाई आधुनिक कानूनी दृष्टिकोणले सबल बनाउन महत्वपूर्ण योगदान गरे।

त्यसपछि उनलाई राजाले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त नियुक्त गरे। बस्नेत निर्वाचन आयोगका प्रथम आयुक्त भएका थिए। कार्यालयसमेत स्थापना नभएको निर्वाचन आयोग स्थापना गरी २०२४ सालमा राष्ट्रिय पञ्चायतको पहिलो निर्वाचन सफल बनाए।

निर्वाचन गराएको एक महिना पनि नपुग्दै राजाले उनलाई राष्ट्रिय पञ्चायतको सदस्य मनोनित गरे। १४ जेठ २०२४ को बिहान राष्ट्रिय पञ्चायतको सदस्य बनेका उनी साँझ त शिक्षामन्त्री नियुक्त बनेको खबर आयो। वास्तवमा उनलाई मुलुकको शिक्षा प्रणाली सुधार गर्ने जिम्मेवारीसहित शिक्षामन्त्री नियुक्त गरिएको थियो।

‘त्यसबेला मुलुकभर स्नातक वा त्यसभन्दा माथि अध्ययन गरेका ६ हजार ५ सय मात्रै थियो। मुलुकको शिक्षा स्तर असाध्यै कमजोर थियो। राजनीतिक परिवर्तनसँगै चेतना बढे पनि जनशक्तिको खाँचो थियो। शिक्षामन्त्रीका रुपमा मुलुकको शैक्षिक गुणस्तर कसरी उकास्न सकिन्छ भनेर मैले काम गरेँ,’ उनले केही वर्षअघि नेपाल साप्ताहिकमा प्रकाशित संस्मरणमा भनेका छन्। सबै विकास क्षेत्रहरूमा उच्च गुणस्तरीय विद्यालय स्थापना गर्ने योजनाअनरूप बुढानीलकण्ठ स्कुल स्थापनामा बस्नेतको भूमिका महत्वपूर्ण देखिन्छ। तर बुढानीलकण्ठ स्कुल आजका दिनसम्म पनि काठमाडौँबाहेक अन्यत्र विस्तार हुन सकेको छैन।

शिक्षा क्षेत्रमा सुधारका काम गरिरहेका बेला राजाले बस्नेतलाई नेरु-भारु विनिमयदर परिवर्तन गरेपछि बिग्रेको अर्थतन्त्र र भारतसँगको सम्बन्ध सुधार गर्न अर्थमन्त्री बनाएका थिए। नेपाल राष्ट्रबैंकका प्रथम गभर्नर हिमालयशमशेर राणाले धेरै अध्ययनपश्चात् एक सय भारु बराबर १ सय ६० नेरुबराबर हुने गरी विनिमयदर चलाएका थिए। तर त्यसबेलाको राष्ट्रवादी भनिएको सरकारले भारुभन्दा नेरु किन कमजोर हुने बराबर बनाउनुपर्छ भनी बराबर कायम गराएको थियो। तर त्यसले मुलुकको अर्थतन्त्र मात्रै बिग्रेन भारतसँगको सम्बन्धमा पनि दरार आयो। निर्यात ठप्पजस्तै भयो।

यस्तो अवस्थामा राजा महेन्द्रले उनलाई अर्थमन्त्री जिम्मेवारी प्रदान गरेका थिए। उनले अर्थमन्त्रीको कार्यकालका विनिमयदर संशोधन गरी १ सय भारु बराबर १ सय ३५ नेपाली रुपैयाँ कायम गराए। तर त्यसले पनि काम नगरेपछि त्यसलाई एक सय ४५ हुँदै अहिले चलनचल्तीमा रहेको १ सय ६० कायम छ। ‘विनिमय दर अस्थिर हुँदाको परिणाम हामीले त्यस बेला चर्को रूपमा चुकाउनुपर्‍यो। आर्थिक क्षेत्रमा त्यसले ठूलै असर पार्‍यो। विनिमय दर निर्धारण विशेषज्ञ टोलीको प्रतिवेदन अनुसार त्यति बेला नै भारु एक सयको १ सय ६० नेरु कायम  गर्नुपर्ने थियो। समयक्रममा त्यही कायम भयो र अद्यापि त्यो चलिरहेको छ,’ उनले आफ्नो संस्मरणमा लेखेका छन्।

त्यसपछिको केही समय बस्नेत राजकीय जिम्मेवारीमा रहेनन्। मोरङमा व्यावसायिक कृषि गर्नतर्फ लागे। तर, ०३५ सालमा चर्केको विद्यार्थी आन्दोलनलाई शान्त पार्न पुनः बस्नेतकै खोजी भयो। उनी घटनाको छानबिन गर्न गठित छानबिन आयोगको सदस्य भएर काम गरे। विद्यार्थीसँग वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने गरी प्रतिवेदनसमेत बुझाए। योसँगै विद्यार्थी आन्दोलन सकियो। तर राजाले सुधारिएको पञ्चायत कि बहुदल भनेर जनमतसंग्रहको घोषणासमेत गरे।

हुन त बस्नेत आफैँ जमिनदार थिए। तर उनले जुनजुन ओहोदा हासिल गरे त्यो वास्तवमा मेरिट र मेहनतको फल थियो। कामप्रतिको समर्पणले नै उनलाई पञ्चायत कालमा जिम्मेवारी पाइरहने अवसर मिल्यो। जुनजुन जिम्मेवारी पाए त्यसलाई कुशलतापूर्वक निर्वाह गरे। ९५ वर्षको उमेरसम्म पनि सक्रिय जीवन बिताएका बस्नेतको जीवनबाट युवापुस्ताले धेरै कुरा सिक्नुपर्छ।

images

प्रकाशित : बिहीबार , पुस २१ २०७९०५:०४

प्रतिक्रिया दिनुहोस