नेपालमा दशकौँदेखि एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थलको भरमा विश्वसँग जोडिनु परेको थियो। जसका कारण नेपाल आउन चाहने पर्यटकलाई पनि समस्या भइरहेको थियो। सानो विमानस्थल र एउटामात्रै गेटवे हुँदा सबै क्षेत्रलाई असर गरेको थियो। अहिले यसै वर्षमा भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आइसकेको छ।
आजबाट फेरि अर्को तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल' उद्घाटन भएको छ। आन्तरिक उडान नयाँ विमानस्थलबाट सुरु भएको छ। अन्तर्राष्ट्रिय उडान हुने केही समय लाग्ला। यसले नेपालको हवाई इतिहासमा नयाँ ढोका अवश्य खुल्ने छ। नेपालमा आउने पर्यटकका लागि हवाई यातायात सञ्चालनमा कमी हुने छैन।
सुरुवाती चरणमा विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले मार्केटिङमा फोकस दिनु पर्छ। फेरि विमानस्थल सञ्चालन हुनेवित्तिकै जहाज आइहाल्छन् भन्ने त होइन। विमानस्थल दीर्घकालका लागिसमेत हेरेर बनाइन्छ। तत्कालका लागि केही छुट दिएर आकर्षण गर्ने नै हो। जब एयरलाइन्स कम्पनीले उडान गर्न थाल्छन् अनि विस्तारै छुट कटाउँदै लैजाने हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै समग्रको देशको अर्थतन्त्र र पर्यटनमा अवश्य पनि फाइदा हुने छ। त्यसमा पनि पोखराकाे पर्यटनमा थप सहयोग पुग्ने छ।
पर्यटकीय नगरी पोखरामा पनि चर्चा भएको पाँच दशकपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। यसले पर्यटन क्षेत्रको पूर्वाधारमा 'ब्रेकथ्रू' नै भएको छ। पूर्वाधार निर्माण हुनु आफैँमा महत्वपूर्ण हो। अब विमानस्थल सञ्चालनमा मात्रै आउनुभन्दा पनि अब कुन कुन एयरलाइन्सहरूले नेपालमा उडान गर्दछन् भन्ने पनि महत्वपूर्ण हुन्छ।
विमानस्थल सञ्चालन भएपछि पर्यटकीय गन्तव्यबाट सिधा उडान नयाँ बनेको विमानस्थलमा हुनै पर्दछ। एक पटकका लागि सबै एयरलाइन्सलाई अफर दिएर उडान गर्ने वातावारण बनाउन सक्नुपर्दछ। अर्को कुरा पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि हवाई आकाशको प्रयोगमा भारतीय अनुमति आवश्यक पर्दछ। एउटा मात्रै रुटबाट अब सम्भव छैन।
कुटनैतिक रुपमा छलफल गरेर हवाई रुटको पहिलो चरणमा व्यवस्था गर्नुपर्ने देखिन्छ। अहिलेको हवाई आकाशका दिइएको रुटमा कुनै पनि एयरलाइन्सले उडान गर्न मान्ने छैनन्। नत्र जहाज धेरै होल्ड गर्नुपर्ने भएकोले खर्च धेरै निस्कने भएकोले उडान गर्नेहरूलाई महँगो पर्दछ। स्थायी रुपमा उडानका लागि अब समस्या समाधान गर्न सकेमा पर्यटकीय गन्तव्यबाट सिधा पोखरामा उडान गर्नेछन्।
पोखरा भन्नेवित्तिकै पर्यटक जाने सहर भन्ने बुझाइ छ। अहिले आन्तरिक पर्यटकको मात्रै नभएर भारतीय पर्यटकको समेत हब नै बनेको छ। अहिले पोखरामा मात्रै होइन पोखरा वरपर मुस्ताङसम्म पूर्वाधार विस्तारका कुरा उठेका छन्। यसले पोखरामा थप आकर्षण बढाउने छ। पर्यटकको बसाइ अवधिसमेत लम्ब्याउने छ। एउटा क्षेत्रलाई हब बनाएर पूर्वाधार खडा गर्न सकियो भने सोही मोडालिटीमा अन्य क्षेत्रको गन्तव्य पनि विस्तार हुनेछ। यसका लागि नयाँ विमानस्थलले अवश्य पनि सहयोग गर्नेछ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वार्षिक ९२ लाख यात्रुमात्रै हो। अब पोखरा र भैरहवा आएर फुल फेजमा विमानस्थल सञ्चालन हुँदा नेपालको हवाई यात्रु क्षमता १ करोड ५० लाख हुने देखिन्छ। विगतमा जहाज डाइर्भट गर्नसमेत समस्या भएको थियो। अब नयाँ विमानस्थल आएपछि एयरलाइन्सहरूलाई धेरै सहज भएको छ।
पोखरामा मात्रै ८ लाख आन्तरिक यात्रुले सेवा लिएका छन्। आन्तरिक पर्यटकलाई पनि पर्यटकको रुपमा तथ्यांक लिइएको छैन। यसलाई लिन थालियो भने थप पूर्वाधार विकासमा नीति बनाउन सहयोग पुग्नेछ।
विमानस्थलहरूको मार्केटिङ पनि महत्वपूर्ण हुन्छ। सुरुदेखि नै नयाँ विमानस्थलबाट उडान गर्न के के फाइदा हुन्छ? भन्ने कुरा प्रचार गर्नु पर्दछ। यसपछि निजी क्षेत्रले पनि सोहीअनुसारको प्याकेज बनाएर विमानस्थलको मार्केटिङ सुरु गर्दछन्। निजी क्षेत्रले उदारणका लागि दिल्लीदेखि सिधा पोखरा उडान र माथिल्लो मुस्ताङसम्मको प्याकेजको मूल्य देखाएर मार्केटिङ गर्न थाले भने पोखरा क्षेत्रका नयाँ भाइब्रेन्ट आउने छ। यता भैरहवमा पनि बौद्ध धर्मावलम्बी भएका गन्तव्यबाट सिधा उडान गर्न सकेमा सोहीअनुसारको मार्केटिङ हुने छ।
पूर्वाधार निर्माणले पर्यटकहरू आफ्नै देशबाट सिधा अब पोखरा र भैरहवा आएर घुम्न पाउने ढोका खुलेको छ। यसले कालान्तरमा पर्यटन क्षेत्रलाई नयाँ चरणमा प्रवेश गराउने छ। हामी एउटा कुरामा चुकिरहेका छौँ। पूर्वाधार निर्माण सुरु भएपछि नै नयाँ विमानस्थल आउँदै छ, यो सुविधा पाइन्छ भनेर पाँच वर्षअगाडि नै मार्केटिङ गर्न सकेको भए अझै राम्रो हुने थियो। यसका लागि व्यवसायी, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, नेपाल पर्यटन बोर्डलाई सरकारले प्रर्वद्धनको कामका लगाउन सक्ने ठाउँ थियो।
अब नयाँ ढंगले कार्यक्रमहरू तय गरेर तीनवटै विमानस्थल चलाउने मोडालिटीमा जान आवश्यक छ। संसारभर विमानस्थल अहिले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा चलाइरहेका छन्। नेपालले पनि सोही नीति अवलम्बन गरेर जान पनि आवश्यक देखिन्छ। पीपीपी मोडालिटीमा जान सकियो भने प्रवर्द्धनको काम र एयरलाइन्स ल्याउने काममा अझ सहज हुनेछ।
राज्यले सोहीबाट आउने रेभिन्यू सेयरिङमा जान सक्नु पर्दछ। पर्यटन भनेको पूर्वाधारसँग सिधा जोडिन्छ। विमानस्थलसँगै हाइवेहरू पनि चुस्त हुनुपर्दछ। सरकारले विमानस्थलसँगै हाइवे निर्माणमा पनि जोड दिन सकेमा नेपालमा ५० लाख पर्यटक वार्षिक रुपमा भित्र्याउन ठूलो समस्या पर्ने छैन। खाली काम गर्ने निकायबीच समन्वय गरेर जान सक्नु पर्दछ।
(श्रेष्ठ पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्)