शनिबार, वैशाख २९ गते २०८१    
images
images

चोभार सुक्खा बन्दरगाहको बिजोग, ९ महिनामा ५५ कन्टेनरमात्र आए 

images
images
images
चोभार सुक्खा बन्दरगाहको बिजोग, ९ महिनामा ५५ कन्टेनरमात्र आए 

भन्सार अधिकृतहरूले आफ्नो कार्यालयको कलेक्सन बढाउनका लागि व्यवसायीलाई त्यही जाँचपास गराउन दबाब दिएको कतिपय व्यवसायीको आरोप छ। 

images
images

काठमाडौं- तीन वर्षको समय र ढेड अर्ब रुपैयाँ लागतमा तयार भएको चोभार सुक्खा बन्दगाह सञ्चालन भएको ९ महिनासम्म पनि आयात निर्यातको प्राथमिकतामा पर्न सकेको छैन। 

images
images
images

२०७८ सालको चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको बन्दरगाहमा अहिलेसम्म जम्मा ५५ वटा कन्टेनरमात्र भित्रिएका छन्। देशको कुल आयातको ४० प्रतिशतभन्दा बढी काठमाडौंकै लागि हुने भनिएपनि आयात गर्ने व्यवसायीहरू चोभारसम्म सामान ल्याएर भन्सार क्लेरेन्स गराउन इच्छुक देखिएका छैनन्। 

images

वीरगञ्ज भन्सारमा धेरै चाप हुँदा ढिला हुने तर भन्सार क्लियरेन्स एकैपटक काठमाडौंमा मात्र गरे हुने भएकाले आयातकर्ताहरू आकर्षित हुने विश्वासका साथ सुरू भएको यो बन्दरगाह सञ्चालनमा आएको एक वर्ष हुन लाग्दा सुनसान जस्तै देखिएको छ। 

images

तामझामसहित सञ्चालनमा आएको यो बन्दरगाह किन चलेन? व्यवसायी, भन्सार कार्यालय प्रमुख तथा विभागका अधिकारीहरूका आफ्नै तर्क छन्।  अधिकारीरूका अनुसार चोभार सुक्खा बन्दरगाहले बिजनेस नपाउनुका केही साझा कारण पनि छन्। 

images
images

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार बिजनेस नपाउनुका आधा दर्जनभन्दा बढी कारण रहेको बताउँछन्। 

उनका अनुसार चोभार सुख्दा बन्दरगाहले पर्याप्त बिजनेस नपाउनुका पछाडि मुख्य कारण भनेकै व्यापारको प्राविधिक पक्ष रहेको छ। कुनै पनि आयात गर्ने व्यवसायीले सीआईएफ वीरगञ्ज भन्सार कार्यालयसम्मका लागि मात्र जारी भएको हुन्छ। अर्थात् कुनै पनि कन्टेनर आउँदा नै वीरगञ्जसम्मका लागि हुन्छ। 

वीरगञ्जबाट काठमाडौं आउँदा मुग्लिङ भएर आउने बाटो निकै खराब भएकाले यहाँ ल्याएर क्लियरेन्स गर्न व्यवसायीहरूले नै चासो दिएका छैनन्। 'मुख्य कुरा त व्यापारीहरूले नै चासो दिएका छैनन्। यदि उनीहरूले यहाँ ल्याउनु लाभ देख्ने भए आइहाल्थे' उनले भने। 

भट्टराईका अनुसार चोभार सुक्खा बन्दरगाहका आफ्नै नियम छन्। जसका कारणले पनि सोचेजस्तो बिजनेस आएको छैन। चोभारमा आउने कन्टेनर तेस्रो मुलुकबाट मात्र आयात भएको हुनुपर्छ। त्यस्तै यहाँ आउने सामग्री एलसीबाट आएको हुनुपर्छ। टीटीको माध्यमबाट भएको आयात यहाँ क्लियरेन्स हुँदैन। 

'अन्तर्राष्ट्रिय व्यापार प्रणालीमै हाम्रो यो बन्दरगाहा प्रविष्ट भएर कोडिङमा परेको छैन। वाणिज्य मन्त्रालयले यसको काम गरिरहेको छ। यो भएपछि यहीसम्म सीआएफ जारी हुने व्यवस्था पनि होला। तर अहिले यही प्राविधिक काम पनि भएको छैन' भट्टराईले भने। 

यी स्थायी कारणबाहेक पछिल्लो समय समग्र व्यापार नै घटेकाले पनि यसको प्रभाव देखिएको हुनसक्ने उनले बताए।

भन्सार अधिकृत भट्टराईले यसो भने पनि भन्सार कार्यालयहरूबीचको प्रतिस्पर्धाले नै चोभारले बिजनेस नपाएको कतपियको आरोप छ। यसमा दुईवटा कारण छन्। 

पहिलो कारण भनेको सीआईएफ वीरगञ्जसम्मका लागि मात्र जारी भएकाले त्यहाँ पनि परीक्षण हुनुपर्छ र काठमाडौंका लागि नछाडेको आरोप रहेको छ। 

बीरगञ्ज भन्सारका अधिकृतहरूले काठमाडौंका लागि जाँचपासका लागि छाड्न नमानेको अर्को कारण राजस्वको लक्ष्य पनि हो। भन्सार अधिकृतहरूले आफ्नो कार्यालयको कलेक्सन बढाउनका लागि व्यवसायीलाई त्यही जाँचपास गराउन दबाब दिएको कतिपय व्यवसायीको आरोप छ। 

'हामी त आयात निर्यातको व्यापार गरिरहेका छौँ। वर्षौदेखि यही व्यापारमा छौँ। फेरि भोलि सबै जाँचपास काठमाडौं पनि हुँदैन वीरगञ्जमा पनि जाँचपासको काम गर्नैपर्छ। उहाँहरूकै आग्रहमा हामीमध्ये कतिले यही जाँचपास पनि गराइरहेका छौँ' एक व्यवसवायीले भने। 

तर नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारी भने काठमाडौंसम्म जाने सडक पूर्वाधार नै राम्रो नभएको र प्रसासनिक प्रक्रियामा पनि अभ्यस्त नभएका कारणले गर्दा वीरगञ्जमै जाँचपास भइरहेको बताउँछन्। 

'कलेक्सनको टार्गेट भन्ने कुरा पनि हुन्छ होला। यसमा व्यक्तिगत रुपमा आग्रह गर्ने कुरा पनि होला तर समग्रमा लाभ हुने भएको अवस्थामा व्यवसायी पनि आफै काठमाडौं गइहाल्छन्। यही कारणले रोकेको ठोकुवा गर्न मिल्दैन' अधिकारीले भने। 

वीरगञ्ज सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले पनि कलेक्सन टार्गेटकै कारणले जाँचपास गराउन बाध्य नपारिएको बताउँछन्। 

'यो कुरा त हुँदै होइन। यदि मेरो कार्यालयको टार्गेट चोभारमा सरेका कारणले मिस भयो भने मेरो टार्गेट पनि सोही अनुसार घटिहाल्छ। आखिर राज्यकै ढुकुटीमा जाने पैसा हो जहाँबाट उठे पनि हामीलाई त के भयो र? यही कारणले भन्ने कुरा त पटक्कै होइन' उनले भने। 

२२० रोपनी क्षेत्रफलमा निर्माण भएको चोभार सुक्खा बन्दरगाहमा पाँच सय कन्टेनर पार्किङको अधिकतम् क्षमता रहेको छ। भन्सार विभागका प्रवक्ता पुण्यबिक्रम खड्का भने अहिलेसम्म नाकाका भन्सार कार्यालयका कारणले गर्दा चोभारमा कुनै समस्या नभएको बताउँछन्। 

'यदि कुनै पनि आयातकर्ताले चोभारमा जाँचपास गराउन चाहेको अवस्थामा रोकिएको छैन। र अहिलेमसम्म त्यस्तो गुनासो पनि आएको छैन' उनले भने। 

काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण नहुँदासम्म कन्टेनर काठमाडौंमै जाँचपासका लागि जाने सम्भावना धेरै नरहेको अधिकारीहरू बताउँछन्। यदि द्रुतमार्ग निर्माण नहुने हो भने अहिलेकै अवस्थामा चोभार सुक्खा बन्दरगाह यही अवस्थामा सञ्चालनमा कठिन हुने निष्कर्ष निकालिएको छ। 

'मन्त्रालयमा पनि यस बारेमा अनौपचारिक छलफल भइरहेको छ। अहिलेसम्म यस्तो यसमा ठोस छलफल त भएको छैन। तर पनि यसको बैकल्पिक उपयोगका बारेमा कुराकानी सुरु भएको छ'  अर्थ मन्त्रालयका एक अधिकारीले भने।

बिजनेस नपाएपछि वैकल्पिक उपयोग 

चोभार सुख्दा बन्दरगाहले पर्याप्त र अपेक्षित बिजनेस नपाएपछि बन्दरगाहको पूर्वधार निर्माण तथा व्यवस्थापन गरेको इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले यसको बैकल्पि उपयोगिताका बारेमा काम अघि बढाइसकेको छ। 

मुख्यगरि दुई कारणले अपेक्षित सञ्चालन नएको बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। द्रुतमार्ग निर्माण भएपछि यसको अपेक्षित सञ्चालन हुनेथियो।  यो परियोजनाको सम्भाव्यता अध्ययनमै यही मुख्य आधार थियो। तर द्रुतमार्ग नबनी बन्दरगाह मात्र बन्दा समस्या आयो। 

त्यस्तै अर्को कारण भनेको भन्सार कार्यालयहरूका लागि निश्चिति संकलन लक्ष्य मात्र निर्धारण हुने तर बन्दरगाह भन्सार सञ्चालन प्रथमिकतामा नपर्दा समस्या भयो। 'यसका साथै अहिलेको समयमा हाम्रो व्यापार नै सुकेको छ। त्यसको असर पनिदेखियो' गजुरेलले भने।

भन्सार बन्दरगाह राम्रोसँग नचलेपछि अहिले यसलाई दुई भागमा विभाजन गरिएको छ। भन्सार बन्दरगाहसँगै आन्तरिक टर्मिनल बनाएर गोदाम र पार्किङका लागि उपयोग गर्न मिल्ने बनाइएको छ। 

'यत्तिको पूर्वाधार निर्माण भएपछि काठमाडौंमा यसको उपयोगिता छ। पार्किङ तथा गोदामका रुपमा उपयोग गर्दा पनि यसले पर्याप्त बिजनेस पाउँछ। जसको सुरुवात भइसकेको छ' गजुरेलले भने। 

images

प्रकाशित : शुक्रबार, पुस १५ २०७९०५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend