काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले हदम्याद कटेको दुई वर्षपछि परेको पुनरावलोकनसम्बन्धी निवेदनमा निस्सा प्रदान गरेर गम्भीर न्यायिक विचलन गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठसहितको इजलासले सर्वोच्चकै संयुक्त इजलासबाट भएको एक फैसलाको पूर्णपाठ आएको दुई वर्षपछि पुनरावलोकनका लागि परेको निवेदनलाई निस्सा प्रदान गरेको हो।
न्याय प्रशासनसम्बन्धी ऐनको दफा ११ को उपदफा ४ मा 'पुनरावलोकनका लागि निवेदन दिँदा सर्वोच्च अदालतका न्यायाधीशले फैसला वा अन्तिम आदेशमा हस्ताक्षर गरी प्रमाणित गरेको मितिले साठी दिनभित्र दिनुपर्नेछ' भन्ने व्यवस्था छ।
त्यस्तै मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २२० को उपदफा ३ मा पनि सोही व्यवस्था छ। तर सर्वोच्च अदालतको बृहद् इजलासले २०७६ फागुन ७ गते फैसला भएको र २०७७ असोजमै पूर्णपाठ आएर न्यायाधीशले प्रमाणितसमेत गरेको फैसलामाथि त्यसको दुई वर्षपछि पुनरावलोकनको निस्सा प्रदान गरेको हो।
व्यवसायी श्रवणकुमार गोयलको कम्पनीले प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्ड कान्साई नेरोलेकको ट्रेडमार्क चोरी गरी प्रयोग गरेको मुद्दाको फैसलामाथि २०७८ भदौ २० मा पुनरावलोकनको निवेदन परेकोमा त्यसलाई निस्सा प्रदान गरिएको हो। पुनरावलोकनको निवेदन नै फैसलाको पूर्णपाठ आएको १८ महिनापछि मात्रै भएको देखिन्छ। तीन जना न्यायाधीश सम्मिलित पूर्ण इजलासले दुई वर्षपछि २०७९ साउन ११ गते यस्तो निस्सा प्रदान गरेको हो।
रुक्मणी केमिकल्स प्रालिका सञ्चालक श्रवणकुमार गोयल र तिनका परिवारले दर्ता गरेको कान्साई नेरोलेक पेन्ट्स प्रालिले विदेशी बहुराष्ट्रिय कम्पनीको नाम र ट्रेडमार्कसँग हुबहु मिल्ने गरी नेपालमा दर्ता गरेको सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले भारतस्थित कन्साई नेरोलेक पेन्टस् लि. को पक्षमा फैसला गरेको थियो।
न्यायाधीशहरू तेजकुमार केसी र बमबहादुर श्रेष्ठको संयुक्त इजलासले २०७६ फागुन ७ गते यस्तो फैसला गरेका थिए। सो फैसलाको पूर्णपाठ २०७७ असोजमा आएको थियो। मुद्दा नम्बर ०७४-RB-०१३५ को सो फैसला २०७७ मंसिरको नेपाल कानून पत्रिकाको पृष्ठ नम्बर १६२१ देखि १६६१ सम्म प्रकाशितसमेत भएको छ।
त्यसअघि २०७७ असोज १४ मै अधिवक्ता राजकुमार सुवाल र अधिवक्ता सन्तोष तिवारीले २०७७ कात्तिक २४ मा फैसलाको नक्कल कपी उतारेर लगेको सर्वोच्च अदालतको अभिलेखबाट खुल्छ। तर श्रवणकुमार गोयलको कम्पनी कान्साई नेरोल्याक पेन्ट्स प्रालिका वारिस अधिवक्ता सुजन बस्नेतले २०७८ साउन २८ मा मात्रै सो फैसलाको नक्कल उतारेर लगेका छन्। उनले फैसला सारेर लिएको मितिलाई नै प्रमाणित मिति मानी सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन हालेका थिए। जबकि त्यसको एक वर्षअघि नै पूर्णपाठ तयार भई प्रमाणित समेत भएको थियो भने नेपाल कानून पत्रिकामा प्रकाशित समेत भइसकेको थियो।
आफ्नै अदालतको अभिलेखमा भएका यी तथ्यलाई नजरअन्दाज गरी न्यायाधीश त्रय रेग्मी, सुवेदी र श्रेष्ठको इजलासले पुनरावलोकनका लागि निस्सा प्रदान गरी गम्भीर न्यायिक विचलन गरेका हुन्। पुनरावलोनको अनुमति दिँदा न्यायाधीशत्रयले ‘पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा २१ख मा विदेशमा दर्ता गरिएको पेटेन्ट डिजाइन र ट्रेडमार्क नेपालमा दर्ता नगराई त्यस्तो पेटेन्ट, डिजाइन र ट्रेडमार्कमा हक कायम हुने छैन भन्ने व्यवस्था भएको समेत अवस्थालाई उचित मूल्यांकन नगरेको’ तर्क गरिएको छ।
जब कि त्यस विषयमा पहिलेको फैसलामा पर्याप्त आधार प्रदान गरिएको छ। ‘पेरिस कन्भेन्सनका अनुसार पहिले नै दर्ता भएको विदेशी ख्यातिप्राप्त ट्रेडमार्क नेपालमा दर्ता हुन आएको अवस्थामा साबिकमा कसैले यहाँ दर्ता गरेको रहेछ भने पनि त्यसको अविच्छिन्न अधिकार रहँदैन,’ फैसलामा स्पष्ट रुपमा भनिएको छ।
के छ तेजकुमार केसी र बमकुमार श्रेष्ठको फैसलामा?
- कान्साई र नेरोलेक ट्रेडमार्कका रंगहरू जापानको कन्साई पेन्टस् कं .लि. र भारतस्थित कन्साई नेरोलेक पेन्टस् लि. नामको कम्पनीबाट उत्पत्ति भै प्रयोग हुँदै आएको ती कम्पनीसँग सम्बन्धित सिर्जना र मौलिकता भएका ख्यातिप्राप्त ट्रेडमार्क हुन्। कान्साई र नेरोलेक ट्रेडमार्क रुक्मनी प्रा.लि. र कन्साई नेरोलेक प्रा.लि., जोरपाटीबाट उत्पत्ति, सिर्जना र र मौलिकता भएका र उनको ख्यातिसँग जोडिएका ख्यातिप्राप्त ट्रेडमार्क होइनन्।
- श्रवणकुमार गोयलको परिवारले कान्साई नेरोलेक पेन्ट्स प्रा लि जोरपाटी समेत खोलेर भारत तथा जापानस्थितको सहायक कम्पनीलाई सञ्चालन नै हुन नदिने र भइहालेमा कान्साई र नेरोलेक ब्रान्ड कब्जा गर्ने दुरासय राखेको दखिन्छ। साथै, ती जापानी ब्रान्ड कब्जा गर्न जालसाजी गरेको देखिन्छ।
- नामका सन्दर्भमा कम्पनी रजिष्ट्रारको कार्यालय र ब्राण्डको सन्दर्भमा उद्योग विभागले प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्ड गोयलको कम्पनीका नाममा दर्ता गरिदिने कार्य नै दुरासययुक्त देखिन्छ
- कान्साई नेरोलेक पेन्ट्स प्रालि जोरपाटीले जालसाजीपूर्बक र खराब नियतले नेरोलेक नामको ट्रेडमार्क कब्जा गर्न खोजेको देखिँदा नेरोल्याक नामको ट्रेडमार्क भारतस्थित कान्साई नेरोलेक पेन्ट्स कम्पनी लिमिटेडको नाममा दर्ता नगर्ने उद्योग विभागको महानिर्देशकबाट भएको २०७२/६/१४ को निर्णयलाई सदर गर्ने उच्च अदालत पाटनको २०७६/११/२४ को निर्णय कानून सम्मत देखिएन।
- कान्साई नेरोल्याक र ल्याक नाम र शब्द रहेको ट्रेडमार्क श्रवणकुमार गोयलको कम्पनीलाई दर्ता गरिदिने उद्योग विभागको निर्णय र सोलाई सदर गर्ने पाटन उच्च अदालतको २०७३/११/४ को निर्णय उल्टी बदर हुने ठहर्छ।