शनिबार, मंसिर ८ गते २०८१    
images
images

पोखरा विमानस्थलको लागत महँगो हो? के भन्छन् विज्ञ र सरोकारवालाहरू? 

images
आइतबार, पुस १० २०७९
images
images
पोखरा विमानस्थलको लागत महँगो हो? के भन्छन् विज्ञ र सरोकारवालाहरू? 
images
images

काठमाडौं- पर्यटकीय आकर्षणको सहर मानिने पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेको छ। व्यावसायिक उडानको तयारीमा रहेको यो विमानस्थल निर्माणको लागतमा प्रश्न उठिरहेको छ। 

images
images
images

विज्ञ तथा सरोकारवालाहरूले भने यसको लागत स्वभाविक भएको बताएका छन्।

images

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्वपर्यटनसचिव विरेन्द्रबहादुर देउवाले लागत अस्वभाविक नभएको बताएका हुन्। 

images

पोखरा विमानस्थलको बनौटका कारणले लागत उच्च नभएको उनीहरूको धारणा छ। २२ अर्ब रुपैयाँको लागतमा निर्माण भएको विमानस्थलको आर्थिक सम्भाव्यता पर्याप्त रहेको उनीहरूको भनाइ छ।  

कसले के भने?

प्रदीप अधिकारी, महानिर्देशक नेपाल नागरिक उड्डयन प्राधिकरण

२०३२ सालमा जग्गा अधिग्रहण भएको हो। विमानस्थल निर्माणमा ५० वर्ष खर्च भएको छ। ४० वर्षसम्म विमानस्थलका लागि अधिग्रहण भएको जग्गा खेतिपाति नै भएको थियो। प्रोजेक्टको काम सुरु भएको अवस्था थिएन। विमानस्थल बनाउन पोखरेली जनतालगायत सबै सरोकारवालाको ठूलो योगदान छ। प्राधिकरण घेराउ गर्नेदेखि पुरानो पोखरा विमानस्थलमा रिले अनसन बस्ने काम पोखरेली जनताले गरे। 

२२ अर्ब रुपैयाँमा निर्माण गर्न लागेको विमानस्थल हो। विमानस्थल निर्माणमा महँगो भयो भनेर सम्झौताको चरणमा ठूलो बहस भएको छ। लागतको विषयमा मन्त्रिपरिषद्‍मा प्रस्ताव जानुअगाडि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लगानीसँग तुलना गरेका थियौँ। यसमा १४ वटा भवन तथा रिजिट पेमेन्ट रनवे बनाएको हो। भैरहवामा यही संरचना बनाएको भए अझ महँगो हुने देखिएको थियो। संरचनामा गौरव गर्नुपर्ने अवस्था छ। तर केही चुनौती छ। बाटोको समस्या पनि समाधान हुँदैछ। फोहोरको समस्या पनि समाधान भइसकेको छ। सञ्चालनमा देखिएको समस्या सञ्चालनसँगै समाधान खोज्दै जाने हो। एउटा कुरा ५० वर्षपछि यो पूर्वाधार पाएका छौँ।

पोखरालाई हामी पर्यटनको राजधानी भनिरहेका छौँ। यही हिसाबले पनि यो विमानस्थलको आवश्यकता छ। पुरानो विमानस्थलमा ४ बजेपछि उडान हुन सक्दैन। भिएफआर उडान हुन्छ। रात्रिकालीन उडान हुँदैन। यसकारण पनि यो विमानस्थल आवश्यक थियो। पोखरा रिजनको मात्रै नभएर देशकै अर्थतन्त्रमा यो विमानस्थल सहयोग गर्छ भने विश्वास लिएका छौँ। यसलाई गौरवको रुपमा लिनु पर्छ। 

रामेश्वर खनाल, पूर्वअर्थसचिव 

सुरुमा २२ अर्ब भने पनि अहिलेको मूल्य २७ अर्ब हो पोखरा विमानस्थलको। निर्माणको क्वालिटी र ग्रिन फिल्ट  विमानस्थल हो। निर्माणको विषयमा अन्य विमानस्थलभन्दा फरक हो। भैरहवा विमानस्थल पूर्णरुपमा नयाँ होइन। धैरे पूर्वाधार पुरानो पनि प्रयोग भएको छ। रनवे विस्तार र जग्गा अधिग्रहणको काम हो। भैरहवाको आर्थिक महत्व र पोखराको फरक छ। 

२०१९ कै तथ्यांक हेर्दा पनि साढे ७ लाख हवाई यात्रु भएका थिए पोखरामा। २०१६ सम्म चाहिँ साढे ३ लाख मात्रै थियो। पोखरामा जसरी पर्यटकको आकर्षण छ त्यसमा पनि भारतीय पर्यटकको बढी छ। पोखरा अहिले आन्तरिक पर्यटकको मुख्य हब बनेको छ। सारा नेपाली कहिँ जाने इच्छा राख्छन् भने त्यो पोखरा नै हो। पोखराले देशभरका सीटीहरूसँग हवाई सञ्जाल जोड्न सकेको अवस्थामा नेपाली पर्यटकबाट नै यो विमानस्थल चल्न सक्छ। पुरानो विमानस्थल नै ब्रेक इभन भन्दा माथि नै छ। 

परिकल्पना गरेअनुसारको पर्यटक संख्या बढेको अवस्थामा यो विमानस्थल वार्षिक १ अर्ब रुपैयाँ खुद आम्दानी गर्न सक्छ। २२-२३ अर्बको लागत ८-९ वर्षमा नै रिकभर गर्छ। बढी लगानी भएको भनेर भनिने विषय कुनै पनि तथ्यबाट प्रमाणित हुन सक्दैन। सुदूरपश्चिम र पश्चिमी जिल्लाहरूको लागि यो विमानस्थल गेटवे पनि बन्न सक्छ। अहिले नै पोखराको जतिको पर्यटकीय पूर्वाधार पर्वत तथा स्याङजामा बनेका छन्। पोखरा आएका पर्यटक कुश्मा पुग्छन्। एडभेन्चर पर्यटन विस्तार भएको छ। यो ठूलो गन्तव्य हुन सक्छ। यसका लागि सरकार तथा सरकारी निकायको सहकार्य चाहिन्छ। 

पूर्वाधार धेरै लामो अवधिका लागि सोचेर गरिन्छ। तर पूर्वाधार निर्माणको सुरुवाती चरणमै हामी अत्तालिन्छौँ। यो विमानस्थल निर्माणमा पनि त्यही भएको हो। भारतसँग केही हवाई सम्झौता भएपछि बनेको हो। पोखराका लागि त भैरहवा र नेपालगञ्ज बिन्दु चाहिन्छ। कुटनीतिक रुपमा रुटको विषय समाधान गर्नु पर्छ।

वीरेन्द्रबहादुर देउजा, पूर्वपर्यटन सचिव तथा महानिर्देशक- हवाइ सेवा विभाग 

ढिला किन भयो? महँगो भयो? भनेर विभिन्न प्रश्न उठ्न सक्छ। तर महत्वपूर्ण प्रश्न के हो भने बन्न त बन्यो नि। देश विकासका लागि पूर्वाधार नै चाहिन्छ। त्यसमा पनि सबैभन्दा बढी महत्वपूर्ण भनेको यातायातको पूर्वाधार नै हो। यातायातमा पनि विमानस्थल बढी महत्वपूर्ण हुन्छ।

अबको जमानामा ४-५ प्रतिशतको आर्थिक वृद्धिदरको कुरा गरेर काहिँ पुग्न सकिँदैन। धनी हुनका लागि पूर्वाधार बनाउनै पर्छ। अहिले पोखरा विमानस्थल महँगो भयो भनेर प्रश्न उठेका छन्। महँगोका पछाडि लागेको भए अबको १० वर्षपछि यो लगानी बढेर कहाँ पुग्ने थियो त्यो सोच्न पर्छ। कति विमानस्थल निर्माणमा त हामी ढिला भएका छौँ। ठूला पूर्वाधार निर्माणमा ढिला भएको हो। निजगढ विमानस्थल पनि आवश्यक छ।

भैरहवामा भन्दा महँगो पोखरामा भयो भनिएको छ। तर त्यो होइन। भैरहवाभन्दा यहाँ राम्रा पूर्वाधार बनेको छ। अर्को विषय यो इपीसी मोडलमा नबनेको भए यो अझ थप समय लाग्न सक्ने थियो। लागत पनि बढ्ने थियो। अब कसरी सञ्चालन गर्ने भन्ने विषय महत्वपूर्ण हो।

ढिला भएपछि सबै बिग्रँदै जान्छ। समय नै पैसा हो। निजगढ अति नै ढिला भएको छ। यो पछि थाहा हुन्छ। 

बसन्त मिश्र, पर्यटन व्यवसायी

नेपाल अब कृषिप्रधान देश होइन, अब पर्यटनप्रधान देश भन्नु पर्छ। पोखरा विमानस्थल निर्माण हुने भनेको राष्ट्रका लागि गौरवको विषय हो। लागतको विषयमा वादविवाद आवश्यक छैन अब।

पर्यटनलाई एभिएसन र एभिएसनलाई पर्यटनको सहयोग भएन भने दुईवटै बाँच्न सक्दैनन्। हामीले यो विमानस्थल बनाउन २ सय १६ मिलिएन डलर खर्च गर्‍यौँ। १३ वर्षमा २६ किस्ता तिर्नु पर्छ हामीले। यसरी हामीलाई १८.२ मिलियएन डलर पर्छ प्रतिकिस्ता।

विश्वको उदारण हेर्ने हो भने प्रतिपर्यटकबाट विमानस्थलहरूले सरदर १८.४९ डलर कमाइरहेको रहेछ। तर नेपालको स्थितिमा कति छ थाह पाउन सकिनँ। १ मिलियन पर्यटक भएको अवस्थामा यो कभर गर्न सक्छौँ। यसका लागि १८ वटा एक सय ५० सीट क्षमताको जहाज ल्यान्ड हुन पर्छ।

प्राधिरकणको नीतिमा पनि पर्यटन प्रवर्द्धन गर्ने भनेर लेखिएको छ। तर अन्य देशका विमानस्थलको जसरी मार्केटिङ भएको छ नेपालको त्यसरी भएको छैन। पोखरा भनेको यस्तो पर्यटकको हब हो कि ८ सय मिटरमा बसेर ६ हजार मिटरको हिमालहरू हेर्न पाउने संसारको धेरै कम ठाउँ मध्येको एक ठाउँ हो। यसका लागि यो विमानस्थलको उद्घाटन भव्य हुन पर्छ।

चर्चित व्यक्तिहरूलाई ल्याएर विमानस्थलको उद्घाटन हुन पर्छ। त्यो बेला एयरलाइन्सहरूलाई पनि ल्याउनु पर्छ। बनाउन सुरु भएदेखि नै मार्केटिङ गर्नु पर्ने थियो त्यो भएन। यसका लागि सबैभन्दा पहिले मार्केटिङ गर्ने हो।


प्रकाशित : आइतबार, पुस १० २०७९०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend