मंगलबार, वैशाख २५ गते २०८१    
images
images

दिक्तेल–गाईघाट सडक कालोपत्रे योजनामा ६ वर्ष झुलायो ठेकेदारले,अन्तत: तोडियो ठेक्का 

images
बिजनेस न्युज
images
images
दिक्तेल–गाईघाट सडक कालोपत्रे योजनामा ६ वर्ष झुलायो ठेकेदारले,अन्तत: तोडियो ठेक्का 

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरेको दिक्तेल–गाईघाट सडक निर्माण गरेको २८ वर्षसम्ममा पनि कालोपत्र नहुँदा हिउँदको समयमा करिब छ महिनामात्र सञ्चालन हुँदै आएको छ । 

images
images

खोटाङ- सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो । 

images
images
images

५५ करोड ८७ लाख लागतमा विसं २०७७ साउन १० गतेभित्र सक्नेगरी विसं २०७३ साउन ११ गते सम्झौता गरे पनि कालोपत्रको काम अपुरै राखेकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए।  

images

योजना प्रमुख खकुरेलका अनुसार खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) कालोपत्रको काम ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

images

त्यस्तै उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का सम्झौता पनि तोडिएको जनाइएको छ । मैनाचुली–शिद्धिसाइ प्रकाश जेभीले करिब  ११ करोड १७ लाखको लागतमा कालोपत्र सम्पन्न गर्नेगरी विसं २०७८ चैत २८ गते सक्ने गरी विसं २०७५ भदौ १४ गते ठेक्का सम्झौता गरेको थियो । 

images
images

कालोपत्रका लागि ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले बताए। गाईघाट–दिक्तेल सडक अन्तरगतकै सिम्पानी–माहुरे (२३ किलामिटर) सडकखण्डको कालोपत्र गर्ने काममा पनि ठेकेदार कम्पनीको ढिलासुस्ती भएको स्थानीय बासिन्दाले बताएका छन् । 

विसं २०७७ असार २९ गते सक्नेगरी विसं २०७३ असार २० गते सम्झौता भएको थियो । उक्त योजनाको फेरि आगामी असार मसान्तसम्ममा म्याद थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढार्इंले बताए।  

सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र सडकमा कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताए। 
 
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गको सडक कालोपत्रको ठेक्का तोडिएपछि निर्माणाधीन सडक अलपत्र परेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरेको दिक्तेल–गाईघाट सडक निर्माण गरेको २८ वर्षसम्ममा पनि कालोपत्र नहुँदा हिउँदको समयमा करिब छ महिनामात्र सञ्चालन हुँदै आएको छ । 

दिक्तेल–गाईघाट एक सय ४२ किलोमिटर सडकमध्ये एक सय एक किलोमिटर सडकखण्ड कालोपत्र गर्न तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विसं २०७३ मा  दुई अर्ब ६८ करोड बजेट विनियोजन गरेका थिए। ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । 

दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुल बिहीबारबाट सञ्चालनमा ल्याइएको छ । फोक्सिङटारमा निर्माणाधीन मोटरेवल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत सहजता हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए। रासस

images

प्रकाशित : शनिबार, पुस ९ २०७९०८:४४
प्रतिक्रिया दिनुहोस