शनिबार, मंसिर ८ गते २०८१    
images
images

'नागढुंगा सुरुङमार्गको निर्माण अवधि ६ महिना थप्नुपर्ने'

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ३ २०७९
images
images
'नागढुंगा सुरुङमार्गको निर्माण अवधि ६ महिना थप्नुपर्ने'

हाल अवधि थपबारे परामर्शदाताले अध्ययन गरिरहेको र विगतमा काम हुन नपाएको अवधिसमेत गरेर छ महिनाभन्दा बढी थप्नुपर्ने देखिएको छ।

images
images

काठमाडौं- सरकारले उच्च महत्व दिएको नागढुंगा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ। गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ।

images
images
images

निर्माणको काम निर्धारित तालिकाभन्दा केही ढिला हुनसक्ने आयोजनाका उपनिर्देशक माधवप्रसाद अधिकारीको भनाइ छ। आगामी वर्ष साउनमा अवधि सकिने भए पनि त्यतिबेलासम्म निर्माण पूरा हुन गाह्रो हुने देखिएको उनको भनाइ छ। पछिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण निर्माण नियमित रुपमा हुनसकेको थिएन। 

images

हाल अवधि थपबारे परामर्शदाताले अध्ययन गरिरहेको र विगतमा काम हुन नपाएको अवधिसमेत गरेर छ महिनाभन्दा बढी थप्नुपर्ने हुनसक्ने उनको भनाइ छ। 'समयावधि थप्नका लागि ढिलाइ भएको कारण प्रमाणसहित हेर्नुपर्छ', उनले भने। 

images

उपनिर्देशक अधिकारीले हाल कार्यरत कम्पनीको काम भने सन्तोषजनक रहेको बताए। उनका अनुसार सुरुङको प्रगति ७० प्रतिशतभन्दा बढी पुगेको छ। 'मुख्य काम सुरुङ भएकाले त्यसमा र अरु सहायक काम पनि प्रगति राम्रो छ', उनले भने। 

दुई किलोमिटर छ सय ८८ मिटर लम्बाइको सुरुङमार्ग हालसम्म एक किमी सात सय ११ मिटर निर्माण सकिएको आयोजनाले जानकारी दिएको छ। पूर्वतर्फबाट आठ सय ३२ मिटर र पश्चिमतर्फबाट आठ सय ७८ मिटर निर्माण सकिएको छ। सुरुङको निष्काशन (इभ्याक्युएसन टर्नेल) दुई किलोमिटर पाँच सय ५७ किलोमिटर निर्माण गर्नुपर्नेमा हालसम्म एक किमी नौ सय ४८ मिटर सकिएको छ। 

एक  सय २६ मिटरको ‘वर्किङ अडिट’को निर्माण सकिएको छ। साढे पाँच किमी ‘क्रस प्यासेज’ निर्माण गर्नुपर्नेमा हाल तीन किमी ८६ मिटर सकिएको आयोजनाले जनाएको छ। 

आयोजना अन्तर्गत सुरङ निर्माणसँगै अन्य १२ वटा संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ११ संरचना सम्पन्न भइसकेका छन्। तीन ‘अण्डरपास’, एउटा ‘ओभर पास’, तीन पुल र चार बक्स कल्भर्ट’ सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ। 

आयाजनाअन्र्तत नै बलम्बुमा ‘फ्लाई ओभर निर्माणाधीन रहेको भए पनि जग्गा प्राप्त नहुँदा निर्माणमा समस्या भइरहेको अधिकारीले बताए। जग्गाको क्षतिपूर्ति दिने काम ९५ प्रतिशत सकिएको छ। दुई जगको काम भइसकेको र पाँचमध्ये दुई ‘सुपर स्ट्रक्चर’ काम भएको आयोजनाले जनाएको छ।

आयोजनामा गत महिनासम्ममा भौतिक प्रगति ४६ दशमलव २६ प्रतिशत र पेश्किसहित वित्तीय प्रगति ४८ दशमलव ८३ प्रतिशत छ। आयोजनामा जमिनमा हुने काममध्ये सडकमार्गका लागि माटो खन्ने काम काम ७७ दशमलव आठ प्रतिशत र बाँध निर्माणको काम ६२ दशमलव चार प्रतिशत सकिएको छ। 

नागढुंगा सुरुङमार्ग निर्माणमा काठमाडौँ र धादिङ गरी दुबै जिल्लामा जग्गा प्राप्तिको समस्या छ। काठमाडौँमा जग्गा र धादिङतर्फ निर्माणस्थलमा केही घरसमेत रहेको आयोजनाले जनाएको छ। धादिङतर्फ तत्काल निर्माणमा नै असर नगरेको भए पनि जग्गा प्राप्त नहुँदा काठमाडौँतर्फ ‘फ्लाई ओभर’ निर्माणमा अवरोध भएको उपनिर्देशक अधिकारीले बताए। 

सुरुङमार्गमा समस्या समाधानका लागि पटक–पटक छलफल भए पनि समाधान भइसकेको छैन। मुआब्जाको विषय नीति निर्माणसम्बन्धी विषय भएकाले आयोजनाले मात्रै सल्टाउन नसक्ने उपनिर्देशक अधिकारीले बताए। 

धादिङमा सुरुङको देब्रेतर्फ पहिरो र केही घरजग्गा प्राप्त गर्नुपर्नेमा ती घरको अख्तियारमा मुद्दा रहेको उनले जानकारी दिए। सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ। नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङ मार्ग हो । एक सय वर्षभन्दा पहिले मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङ निर्माण भएको थियो। 

हाल बागमती प्रदेश सरकारले पोष्टबहादूर बोगटी सुरुङमार्ग नामाकरण गरी सो योजनालाई प्रदेश गौरवको आयोजनाअन्गर्तत राखेर यसको अध्ययन अघि बढाएको छ। जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ। 

नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पाेरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो। सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबीसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विश्वास गरिएको छ। आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुनेछ। तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्। एउटा गाडी बिग्रँदा पनि दुबैतर्फ गाडी चल्न सक्ने गरी सुरुङको निर्माण भएको छ। सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वारसमेत छन्।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने र कमजोर ढुङ्गा माटोलाई सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ। सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ। निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँशी नगरपालिकामा नै हस्तान्तरण गर्ने आयोजनाको योजना छ। रासस


प्रकाशित : आइतबार, पुस ३ २०७९०८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend