कञ्चनपुर- कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ ।
बेदकोट नगरपालिकाको सामादैजीका किसान नत्थु रानाले अनुदानको मल नपाइँदा बजारबाट तीन हजारको डिएपी मल खरिद गरी गहुँ खेतमा प्रयोग गरेको बताए।
'सहकारीमा अनुदानको मल नै पाइएन' उनले भने, 'गहुँबाली लगाउन ढिलो हुन थालेपछि भारतीय मलकै प्रयोग गर्यौँ।'
किसानको मागभन्दा आधाभन्दा कम मात्रै अनुदानको मल कञ्चनपुरमा आपूर्ति भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख बलबहादुर शाहका अनुसार गहुँ खेतीका लागि एक हजार तीन सय पाँच मेट्रिकटन डिएपी मल आपूर्ति भएको छ । जसमध्ये एक हजार एक सय ७० मेट्रिकटन डिएपी मल सहकारीमार्फत किसानलाई उपलब्ध गराइएको छ । कम्पनीसँग हालसम्म एक सय ३५ मेट्रिकटन डिएपी मल मौज्दात रहेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीका अनुसार जिल्लामा गहुँखेती २१ हजार दुई सय १० हेक्टरमा हुने गरेको छ । जसका लागि डिएपी मल नौ हजार मेट्रिकटन आवश्यक पर्दछ।
कृषि सामग्री कम्पनीले आपूर्ति गरेको आठ सय ९२ मेट्रिकटन युरियामध्ये छ सय ८१ मेट्रिकटन युरिया किसानलाई उपलब्ध गराइएको छ । कम्पनीसँग २११ मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । केही दिनभित्रै युरिया आउने क्रममा रहेको कम्पनीका कार्यालय प्रमुख शाहले बताए।
खेतमा छरेको गहुँ चार पातको भएपछि किसानले सिँचाइ गरी युरिया मलको प्रयोग गर्ने गर्दछन् । कृषि ज्ञान केन्द्रका कृषि अधिकृत जोशीका अनुसार गहुँ खेतीका लागि १३ हजार मेट्रिकटन युरिया किसानलाई आवश्यकपर्ने गरेको छ । पोटास पाँच मेट्रिकटन गहुँ खेतीमा प्रयोग हुने गर्दछ । गहुँको उत्पादन प्रतिहेक्टर तीन मेट्रिकटन रहेको छ । जनसङ्ख्याअनुसार गहुँको उत्पादन प्रति हेक्टर पाँच मेट्रिकटन बढी उत्पादन गर्नुपर्ने अधिकृत जोशीको भनाइ छ ।
जिल्लामा अनुदानको रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्टटे«डिङ कर्पोरेशन लिमिटेडले गर्दै आएका छन् ।
अनुदानको रासायनिक मल नपाइएपछि किसानले ५० किलोको भारतीय डिएपीलाई तीन हजारदेखि तीन हजार आठ सयमा खरिद गर्नुपरेको छ । अनुदानको डिएपी मल प्रतिबोरा दुई हजार तीन सय ८० मा कम्पनीले सहकारीलाई उपलव्ध गराउने गरेका छन् । सहकारीले किसानलाई दुई हजार सात सयमा बिक्री गर्दै आएका छन् । लोड अनलोड, ढुवानी र सहकारीको मुनाफा राखेर किसानलाई सहकारीले रासायनिक मल बिक्री गर्दै आएका छन् । भारतीय मल खेतमा प्रयोग गर्न उपयुक्त छ वा छैन भनेर गुणस्तर जाँच समेत नहुने जनाइएको छ ।
रासस