आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कठिन मैदानमा गोल गर्न तम्सिएका अर्बपति चौधरी

‘भाग्यले यो क्षेत्र पाएँ, जनताको सेवक हुनेछु’

images
मंगलबार, कात्तिक २२ २०७९
images
कठिन मैदानमा गोल गर्न तम्सिएका अर्बपति चौधरी
images
images

नवलपरासी- विनोद चौधरी परिचय दिइरहनुपर्ने नाम होइन। व्यवसाय विस्तारले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित चौधरी नेपालका एकमात्रै डलर अर्बपति हुन्। पटक पटक अप्ठ्यारा काम गर्ने र मेहनतले लक्ष्य हासिल गर्ने चौधरीले यसपटक भने झनै कठिन बाटो रोजेका छन्।

images
images
images

विगतमा नेतासँग मिलेर समानुपातिक सिटबाट सांसद बनेको आरोप भोगेका चौधरी अहिले जनमत लिन जुटिरहेका छन्। उनी यसपटक संघीय चुनावमा प्रत्यक्षतर्फको उम्मेदवार बनेर पश्चिम नवलपरासीमा जनताका घरघरमा भोट माग्दै हिँडेका छन्। 

images
images

२०४८ सालदेखि एकपटकबाहेक लगातार सांसदमा निर्वाचित हुँदै आएका हृदयेश त्रिपाठीको विरासत भत्काउन चौधरीका लागि फलामको चिउरा हुने देखिन्छ। चौधरी अहिले उत्साहित हुँदै जनताको घरदैलोमा छन्। 

images
images

त्रिपाठीले २५ वर्षदेखि शासन चलाएपनि जनताको समृद्धिको आकांक्षामा हिलो छ्याप्ने मात्रै काम गरेको आरोप व्यापक छ। न बाटोघाटो चुस्त दुरुस्त छन् न त सुस्ता र गण्डक बाँधको पीडामा जनतालाई साथ दिन सकेका छन्। जसका कारण हरेक वर्ष जनताका दु:ख उही हुने गरेको छ। यावत विषयमा चौधरी भने प्रष्ट रोडम्यापसहित मैदानका होमिएका छन्। चार दर्जन विषयलाई समेटेर पाँचवर्षभित्र गरिने काम लिएर चौधरी नवलपरासीका जनताका घर घर पुगेका छन्। 

एक घर एक रोजगारी मात्रै होइन व्यवसायमा लाग्न प्रेरित गर्दै सहयोग गर्ने वाचासमेत चौधरीले दिएका छन्। ‘म यो क्षेत्रमा भाग्यले ल्याएर आइपुगेँ, अब समृद्धिको इच्छा पूरा गर्न लाग्ने छु,’ चौधरीले भने।

जनतामाझ घरदैलोमा राष्ट्रवादको नाराभन्दा समृद्धि र जीवनस्तर उकास्ने नारा लिएर हिँडेका चौधरीले गण्डक बाँध र सुस्ताको समस्या समाधानमा भारतसँग समेत कुरा थालेको बताउँछन्। 

चौधरी ३० दिनदेखि अहिले निर्वाचन क्षेत्रमा खटिएका छन्। न त उनमा थकाइ छ न अनुहारमा चमक घटेको छ। ‘म गोल गर्न आएको छु, जनताको जीवनस्तर उकास्ने नै अब मेरो जीवनको प्रमुख काम हो, सोही कारण जनताबाट अनुमोदित हुन आएको हुँ,’ चौधरीले भने।

चौधरीको फरक प्रचार शैली

चौधरीले यतिबेला चुनावी प्रचारमा फरक शैली अपनाएका छन्। चौधरीले मोटरसाइकल चढेरमात्रै होइन, घर घर पसेर प्रचारमा हिँडेका मात्रै छैनन्, उनले पार्टी संरचनालाई समेत व्यापक परिचालन गरेका छन्। 

binod 3.jpeg

चुनावी ठूला सभाभन्दा पनि घरदैलो र कोणसभासँगै भ्रातृ र शुभेच्छुक संस्थाका छुट्टाछुट्टै सभामार्फत संगठन परिचालन गरेका छन्। क्षेत्री समाजको कार्यक्रममा समेत चौधरी सहभागी भएका थिए। उनले पार्टीको संरचना बढी नै परिचालन गराएका छन्। जसका कारण पनि नेपाल विद्यार्थी संघ, तरुण तदल वडाका समिति, नेपाल महिला संघमार्फत महिलाको सभा गरेका चौधरीले दलित संघमार्फत दलितको सभा समेत गराए। 

‘मलाई पार्टीले विश्वास गरेपछि पार्टीकै संरचनालाई मैले विश्वास गर्ने हो,’ चौधरीले भने। चौधरीले पहिलो सभा नै महिला संघमार्फत गराएका थिए। जुन सभामा सयौँ महिलाहरू सहभागी भएका थिए। 

भाग्यले पाएको क्षेत्रमा चौधरीको अंकगणित 

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ प्रतिनिधिसभामा यसपटक रोचक प्रतिस्पर्धा हुँदैछ। निर्वाचनका खेलाडी मानिएका त्रिपाठीलाई टक्कर दिन कांग्रेसले केन्द्रीय सदस्य चौधरीलाई पठाएको छ। चौधरीले नवलपुर पूर्व-२ मागेका थिए। ‘पार्टीले यहिँ पठायो तर यो वर्षौंदेखि पिछडिएको क्षेत्र रहेछ, अब मेरो काँधमा यहाँको समृद्धि जोडिने छ,’ चौधरीले भने। 

जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी प्रतिस्पर्धी छन्। त्रिपाठीलाई नेकपा एमालेको समर्थन छ। अहिले पहिले‍ जस्तो एमालेको पूरै भोट त्रिपाठीलाई जाने छैन। जसका कारण पनि चौधरी सहज स्थितिमा रहेका छन्।

त्रिपाठीसँग ६ पटक चुनाव लडेको अनुभव छ। ५ पटक निर्वाचित भइसकेका त्रिपाठी चुनावी रणनीतिमा अनुभवप्राप्त नेता हुन्। चौधरी पहिलो पटक प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार भएका हुन्। उनी दुईपटक समानुपातिक प्रणालीबाट सांसद बनेका छन्। २०६४ सालमा नेकपा एमालेबाट पहिलो संविधानसभामा सभासद् बनेका चौधरी २०७४ सालको निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका थिए।

२०७४ सालमा कांग्रेसले उनलाई समानुपातिकतर्फबाट सांसद् बनाएको थियो। ‘त्यतिबेला संसाद बनाएपनि मैले सदस्यता लिएको थिइनँ, २०७४ को चुनावमा काँग्रेस जिताउन २२ ठाउँको सभामा भाषण गरेँ,’ चौधरीले भने। चुनावी प्रचार अभियानका क्रममा मोटरसाइकलदेखि पैदल यात्रासमेत गरेर घरघरमा पुगेका छन्। 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा चौधरी बलिया देखिन्छन्। यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहका वडामा कांग्रेसले ३० हजार ३४२ मत प्राप्त गरेको थियो। एमालेले २६ हजार ७७९ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जनता प्रगतिशील पार्टीले ४ हजार ६९० मत पाएको थियो। जसपाले ३ हजार ५५९, नेकपा एसले १ हजार १४१ र लोसपाले १०० मत प्राप्त गरेको थियो।

binod.jpeg

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका दलको मत ३६ हजार ९३० हुँदा हृदयेशका लागि एमालेसहित २६ हजार ७७९, जसपाको ३ हजार ५५९ र जनता प्रगतिशील पार्टीको गरी ३५ हजार ६८ मत देखिन्छ। एमालेकै भोट जोड्दासमेत पछाडि रहेका त्रिपाठीलाई पनि चौधरीसँग चुनाव लड्नु फलामको चिउरा चपाउनुसरह नै छ।  

सुस्ता क्षेत्रमा पकड बनाएका त्रिपाठी यसपटक पनि बलियो प्रतिस्पर्धा देखाउने कोशिसमा छन्। त्रिपाठी पनि सुस्ता क्षेत्रकै हुन्। २०४८ सालदेखि यता एक पटक मात्र त्रिपाठी सांसद बन्न पाएका छैनन्। २०४८, २०५१ र २०५६ सालमा उनी नेपाल सद्‌भावना पार्टीबाट सांसद र पटक पटक मन्त्री बने। सद्‌भावना विभाजित भएर कमजोर बनेपछि तराई मधेशको मुद्दा बोकेर तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बनाउन पुगे। 

त्रिपाठी तत्कालीन तमलोपाका तर्फबाट २०६४ सालको निर्वाचनमा सांसद बने भने २०७० सालको दोस्रो संविधानसभामा पराजित भए। २०४७ पछि संसदीय निर्वाचनमा पराजय भोगेको त्रिपाठीका लागि यो पहिलोपटक थियो। पुनः २०७४ सालमा स्वतन्त्र विचार समूहबाट चुनाव लड्दै जितका थिए। अहिलेको परिस्थिति भने भिन्न हुने चौधरीको सुझबुझपूर्ण प्रतिस्पर्धी स्वभावले देखाइरहेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २२ २०७९१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend