साकार भइरहेको प्रमोदको ‘ईभी सपना’

साकार भइरहेको प्रमोदको ‘ईभी सपना’

ईभी चढ्दा जति किलोमिटर गुडिन्छ त्यति नै रुपैयाँ बचतमा राख्न प्रमोद सुझाव दिन्छन्। जसले पछि चाहिने खर्चको जोहो हुने उनको तर्क छ।

काठमाडौं- आफूले देखेको सपना, आफूले बनाएका योजना सफल भइरहेको देख्दा खुसी त असीमित नै हुन्छ। सपनातर्फ डोर्‍याइएका आफ्ना पाइलासँगै अरु पनि जोडिँदै गए भने त अहो के चाहियो र!

शताब्दीभन्दा अघि नै विकसित विश्व जगतमा उभारतर्फ बढेर पनि छायामा परेको विद्युतीय सवारीको सपना नेपालमा देख्न निकै पर्खनुपर्‍यो। त्यो सपना पूरा होला भन्ने योजनाबद्ध प्रयासमा लाग्नेहरू त औँलामा गन्न सकिने केहीमात्र भए। तीनैमध्ये हुन्, प्रमोद भण्डारी।

आफूले देखेको विद्युतीय सवारीको सपना नेपालमा पूरा भइरहँदा उनी अहिले ‘देख्यौ त, मैले त पहिलेदेखि भनेको हो नि!’ भनेजसरी सन्तुष्टिमा मुस्कुराउँछन्।

साना ‘खेलौना डिब्बा’ भनेर हेय भावले हेरिएका विद्युतीय गाडी ल्याएर प्रमोदले सुरुवाती दिनमा बिक्रीका लागि मेहनत नगरेको भए यो चमकधमक देखिन सायद अझै केही समय लाग्ने थियो। विद्युतीय गाडी पनि अरु गाडीसरह गुड्न सक्ने कुरा हो भनेरसमेत बुझाउनुपर्ने समयबाट अघि बढेका प्रमोद अहिले ईभीमय भएको सडक देखर सन्तुष्टि व्यक्त गर्छन्।

‘भविष्य ईभी हो भनेर हामी सन् २००५ देखि कराउँदै कराउँदै आएका हौँ। हामीले सुरुमा दु:ख गरेर तलदेखि काम गरेको भएर अरु साथीभाइहरूले पनि यसबारे सोच्नुभयो। ईभी चल्दो रहेछ भनेर ल्याउन थाल्नुभयो। अहिले त छ्यापछ्याप्ती नै भइसकेको छ। सडकमा निस्कँदा यताउता ईभी नै देखिन्छन्’, हाल अग्नि इनर्जीमा वरिष्ठ कार्यकारी प्रबन्धक रहेका प्रमोदले सुनाए।

प्रमोद सन् १९९८ मा रुसबाट अटोमोबाइल इन्जिनियरीङमा स्नातकोत्तर सकेर नेपाल फर्किएका हुन्। उनले त्यसपछि पवित्र अटो वर्कसपमा काम सुरु गरे। त्यही नै अटोबाइल क्षेत्रमा अघि बढ्न उनको पहिलो खुड्किलो भयो।

सबै हिँडिरहेको सहज बाटोभन्दा भविष्य चेत राखेर फरक पाइला चाल्ने स्वभावले नै हो प्रमोदले नेपालमा विद्युतीय सवारीको सपना देखेको। सन् २०१० मा रेभा र महिन्द्रा एक हुनुअघि उनी रेभामा काम गर्थे। त्यहाँ रहँदा नै उनले विद्युतीय सवारीबारे चिन्तन सुरु गरिसकेका थिए।

‘रेभा’ आयात गरी बिक्री सुरु गरेर नै प्रमोदले नेपालमा विद्युतीय गाडीबारेको सोच र बहस एक कदम अगाडि बढाएका थिए। नेपालमा देखिने विद्युतीय कारको पहिलो चित्र रेभा नै हो।

सन् २००२ मा नै रेभा ल्याउन पहल भएको हो। त्यसबेला विद्युतीय गाडीलाई १० प्रतिशतभन्दा बढी भन्सार नलाग्ने नियम भए पनि रेभा खरिद गरेर ल्याउने समयमा अन्य गाडीमा जस्तैगरी भन्सार लाग्ने भएको थियो। जसले गर्दा रेभा पाँच वर्षसम्म त भन्सारमा नै थन्किएको प्रमोद सम्झन्छन्। १२ लाख रुपैयाँमा ल्याइएको रेभा सन् २००७ मा २५ लाख रुपैयाँमा बिक्री गर्ने गरी नेपाल भित्रियो।

नेपालमा प्रमोदले इकोभिजनमार्फत सन् २००५ देखि रेभालाई व्यापारिक रुपमा बजारमा ल्याए पनि त्यसको पाँच वर्षपछि नै अग्नि ग्रुपअन्तर्गत अग्नि इनर्जीले यसको बजार प्रवर्द्धन गर्न थालेको थियो।

‘नेपालमा जुन बेला ईभी आयो त्यो बेला लिड एसिड ब्याट्रीमा थियो। पहिले त ईभी भनेको के हो भनेर चिनाउन नै हामीलाई निकै गाह्रो भएको हो। एउटा खेलौनाको रुपमा सबैजनाले हेर्ने र रमाउने साधनजस्तो मात्र भएको थियो। अरू केही पनि थिएन खेलौना गाडी भन्नेमात्र थियो’, प्रमोदले पुराना दिन सम्झँदै भने।

‘केही उपभोक्ताहरूले जब गाडी लिइदिनु भयो तब बिस्तारै बिस्तारै मानिसहरूले ईभी के हो भन्ने बुझ्न थाले। ए! ईभी भनेको गुड्दो रहेछ निश्चित दुरी पार गर्न सकिँदो रहेछ भन्ने भयो। केहीले ईभीलाई स्कुटरको विकल्पका रुपमा समेत लिने सोच बनाउन थालेका थिए’, उनले भने।

तीन दिन ईभीलाई विकल्प लिन थालिएको त्यो सोच पनि मध्यमवर्गीयसम्म पुग्न सकेको सोच थिएन। त्यो सोच उच्च वर्गमा रहेकाहरुको नै थियो, किनभने ईभी उनीहरूका लागि रमाइलो लाग्ने साधन बनेको थियो। उनीहरू वातावरणमैत्री हुनुपर्छ भन्ने चेतनामा पनि थिए। ईभी नेपालको लागि महत्वपूर्ण हो भन्ने बुझेका थिए।

‘ट्रली बस पनि नेपालमा चलि नै सकेको हो, बिजुली गाडीलाई प्रमोट गर्नुपर्छ भन्ने सोच भएकाहरूले नै सुरुको ईभी लिन थालेका हुन्’, प्रमोदले भने।

बिस्तारै एक-दुई वर्षमा रेभा मन पराएर लिनेहरु केही बढे। तीमध्ये कतिले त अहिलेसम्म पनि रेभा चलाइरहेका छन्। सन् २००७ देखि अहिले २०२४ सम्म रेभा चलाइरहेकाहरू खुसी नै छन्।

‘त्यसमा एउटा समस्या के थियो भने लिड एसिड ब्याट्री प्याक थियो। पहिले आउने सबै ईभीहरू लिड एसिड ब्याट्रीमा नै थिए। सुरुवाती दिनमा हाम्रो बिजुली कार भन्नदेखि रेभा र सफा टेम्पोसम्म लिड एसिड ब्याट्रीमा नै चल्थे’, प्रमोद भन्छन्, ‘त्यसमा समय समयमा पानी हाल्नुपर्ने र चार्ज गरिरहनुपर्ने थियो। व्यक्तिगत प्रयोगका लागि त चार्ज गरिरहनुपर्ने विषय समस्या नभए पनि यात्रु बोक्ने व्यावसायिक सफा टेम्पोका लागि त त्यो चार्ज गरिरहनुपर्ने विषय समस्याकै रुपमा थियो।'

प्रमोदहरूकै सक्रियतामा सन् २०१२ मा महिन्द्राबाट ईटू ल्याएपछि त्‍यसमा भने लिथियम आयन ब्याट्री प्याक थियो। त्यसमा डिस्टिल वाटर हालिरहनु पर्दैन थियो। तारन्तार चार्ज गरिरहनु पर्दैन थियो। एकचोटिको चार्जमा एकसय किलोमिटर दिन्थ्यो।

त्यसैले प्रमोदले त्यसलाई सिटी कारका रुपमा चिनाउन थालेका थिए। रातभर चार्ज गरेर दिनभरि गुड्ने थियो। त्यो गाडी चढ्नेहरुका लागि त लोडसेडिङ उच्च भएको समयमा समेत समस्या आएको थिएन। लोडसेडिङले गर्दा ईभी गाडी काम छैन भन्ने कुरा पनि गलत साबित भएको थियो।

ईटूको फुलचार्ज ६ घण्टामा हुन्थ्यो। जसले एकसय किलोमिटर गुड्न पुग्थ्यो। ‘उपत्यकामा दिनमा धेरै गुडे पनि ५० किलोमिटर नै त हो। त्यसैले ५० प्रतिशत चार्ज रहिरहँदा पुन: एकसय प्रतिशत पुर्‍याउन समस्या थिएन, दुई/तीन घण्टा बिजुली आए पुग्थ्यो। नेपालमा भारतले नाकाबन्दी लगाएको समयमा समेत ईभी चढ्नेहरूले अरूले जस्तो समस्या भोग्नु परेन’, प्रमोदले सुनाए।

लिथियम आयन ब्याट्रीमा पनि निरन्तर विकास हुँदै आइरहेको छ। लिथियम आइन फोस्फेटदेखि ब्लेड ब्याट्रीहरू आइसकेका छन्। हाइड्रोजन सेलमा काम हुँदै छ। ब्याट्रीमा निरन्तर अनुसन्धान र प्रयोग भइरहेका छन्। अर्को त ब्याट्रीमा हुने लागत पनि घटिरहेको छ जसले उपभोक्ता मूल्य स्वत: घट्ने छ।

‘पहिले थोरै उत्पादन गर्नुपर्दा पनि ब्याट्री मूल्य बढी हुने गर्थ्यो। अहिले त उत्पादन संख्या नै निकै बढिसकेको छ। जस्तो उदाहरणका लागि सन् २०१० तिर कुनै ब्याट्रीको एक सेलको मूल्य १ लाख ३५ हजार पर्थ्यो भने अहिले त्यो ब्याट्री ३५ हजार रुपैयाँमा पाउन सकिन्छ। भनेपछि मूल्य घट्ने क्रम पनि तीब्र नै छ’, उनले भने।

ब्याट्रीमा भइरहेका महत्वपूर्ण अनुसन्धानहरूले भविष्यमा अझ ब्याट्रीको मूल्य घट्दै जानेछ। जसले गर्दा अहिले ईभी चलाइरहेकाहरूलाई पछि ब्याट्री प्याक नै फेर्नुपर्दा पनि धेरै मूल्य नपर्ने प्रमोद बताउँछन्।

‘त्यसमा पनि सम्पूर्ण ब्याट्री प्याक ईभीमा कहिल्यै पनि फेर्नु पर्दैन। हरेक सेल जाँच गर्ने हो र समस्या भएकोमा काम गर्ने हो, पूरै फेर्नुपर्छ भन्ने होइन। जतिवटा बिग्रिएको छ त्यतिवटा मात्र फेर्दा हुन्छ। त्यो ब्याट्री फेर्ने भनेको पनि जब हामीलाई किलोमिटर पुग्दैन तबमात्र फेर्ने हो’, उनले भने।

लिड एसिड ब्याट्री प्याकमा आठवटा ब्याट्री हुन्थ्यो जसमा एउटामात्र ब्याट्री बिग्रियो भने पनि पूरै नफेरी सुख थिएन। ब्याट्री प्याक नै फेर्नुपर्थ्यो। आठवटाकै मूल्य तिर्नुपर्ने थियो। अब लिथियम आयन ब्याट्रीमा बिग्रिएको हरेक सेललाई छुट्टै फेर्दा भयो।

यसलाई प्रमोद उदाहरण दिएरै सम्झाउँछन्, ‘जस्तो कि २०१० मा कसैले गाडी किन्नुभएको छ र २०२० सम्म चलाउनु भयो र त्यसमा १०० किलोमिटर दिने गाडीले अहिले ७० तिर पुगेको हुन सक्छ। त्यसमा तीनवटा ब्याट्री सेल बिग्रिएको छ भने ब्याट्री फेर्नु पनि पर्दैन। किलोमिटर घटेको हो अरू त केही बिग्रिएको छैन नि त। त्यो बिग्रिएको सेल फेर्दा नै पनि ७० बाट बढेर १०० किलोमिटर पुग्दैन। किनभने अरू सेल त पुरानै छ। त्यसको क्षमता घटिसकेको छ त्यसमा नयाँ राखिदिँदा पनि पूरा क्षमतामा पुग्दैन।'

ईभीको ब्याट्री फेर्ने समयसम्मको चिन्ता हुनेहरूका लागि प्रमोदको एउटा सुझाव छ। ईभी चढ्दा जति किलोमिटर गुडिन्छ त्यति नै रुपैयाँ बचतमा राख्न उनी सुझाव दिन्छन्। जसले पछि चाहिने खर्चको जोहो हुने उनको तर्क छ।

अझ उनी त आफ्नो आवश्यकताभन्दा ठूला ईभी नकिन्न नै सुझाव दिन्छन्। ‘३०० किलोमिटर गुड्ने गाडी किनेर दिनमा ५० किलोमिटर यात्रा गर्नुहुन्छ भने त्यो के काम। आवश्यकताभन्दा बढी पनि लिएर काम छैन। म त अझै पनि यसलाई सिटी कार नै भन्छु’, उनी भन्छन्, ‘उपत्यकामा जति पूर्वाधार छन् त्यति बाहिर छैनन्। एउटा फास्ट चार्जर ठड्याइदिँदैमा ईभीका लागि पर्याप्त हुँदैन। त्यसका लागि दक्ष मेकानिक र इन्जिनियरहरु पनि चाहिन्छन्।'

ड्राइभिङ प्याट्रनको कुरा गरिदिएरमात्र उपभोक्तालाई अन्य विषयमा दिनुपर्ने सेवा सुविधा नदिने गर्न नमिल्ने उनको बुझाइ छ। बिक्री गर्दाको समयमा नै उपभोक्तालाई ईभीबारेको सबै कुराहरू सिकाउनु पर्ने उनी बताउँछन्।

‘यहाँ सिकाउनेभन्दा पनि बेच्नमा मात्र ध्यान भइरहेको देखिन्छ। हामी रुटदेखि आएको भएर यसमा पर्ने सुखदु:ख सबै देखेका छौँ, भोगेका छौँ, अनुभव गरेका छौँ’, उनले भने।

जुनसुकै ईभी किन्नुभन्दा पहिले किन्न लागेको गाडीको बारेमा राम्रोसँग सबै कुरा बुझ्न उनको सल्लाह छ। भन्छन्, ‘ध्यान दिएर सुन्नुस्। किन्नुअघि २० मिनेट समय दिँदा त्यो गाडी चढुनजेल ढुक्क भइन्छ। पहिले सबै नबुझी किन्दा धेरै कुराहरूमा पछि समस्या परिदिन्छ। चलाउने शैलीसमेत नमिल्न सक्छ। गुगलमा हेरेरमात्र पनि हुँदैन प्राक्टिकल नलेज नै चाहिन्छ। पहिले नै सबै बुझियो भने रेन्ज एन्जाइटी जस्ता कुरा आउँदै आउँदैनन्।'

‘ईभी चलाउने सबैजना एउटा अनुशासनमा बसिदिनु भयो भने सजिलो हुन्छ। गाडी लिएर निस्कनुअघि तय गर्ने यात्राको बारेमा योजना बनाएर हिँड्ने गर्नुपर्‍यो। अरू गाडीमा जस्तो सकिएपछि पेट्रोल हालौँला भन्ने सोच ईभीमा लिइदिनु भएन। त्यसरी योजनामा हिँड्न सक्दा फास्ट चार्जर खोजिरहने आवश्यकता पनि हुँदैन। कहाँ कसरी के भन्ने पहिले नै ज्ञान हुन्छ’ उनले भने।

पूरा विश्व नै ईभीतर्फ बढिरहँदा यसको स्वीकार्यतामा नेपालमा देखिएको उत्साह देख्दा प्रमोद आफ्ना सुरुवाती दिन सम्झेर पनि खुसी छन्। घर-घर, अफिस-अफिस पुगेर ईभीबारे बुझाउनुपर्ने समयदेखि अहिले मानिसहरूले आफै सोधिखोजी किन्ने समय आइपुगेको छ।  

आफूहरूले सपना देखेर सुरु गरेको यात्रामा अहिले धेरैले हजारौँ सवारी ल्याइसक्दा प्रमोदहरू भने तयारीमा नै छन्। भारतमा एक वर्षअघि नै सार्वजनिक भइसकेको महिन्द्रा एक्सयूभी ४०० ईभी ल्याउने तयारीका साथै अन्य कामहरू भइरहेको छ।

अहिले बजारमा देखिने विद्युतीय सवारीमा आफ्नो कम्पनीको हिस्सा नभए पनि आफैले सुरु गरेको काममा भइरहेको विकास देखेर प्रमोद खुसी छन्। उनले २० वर्षअघि नै नेपालमा भविष्य देखेर काम सुरु गरेको विद्युतीय सवारीहरूले अहिले सडक सुशोभित छ।


प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०५

प्रतिक्रिया दिनुहोस