भैरहवा- भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्वीको केन्द्रबिन्दु हो। लुम्बिनीलाई केन्द्र बनाएर रुपन्देही जिल्लामा पर्यटकीय गन्तव्यको विकास भएका छन्। बुद्धको जन्मस्थल लुम्बिनीबाहेक रुपन्देही जिल्लामा घुम्न अन्य बौद्ध सम्पदास्थलमा बुद्धमावली देवदह र बुद्ध युगको पुरातात्विकस्थल सैनामैना पर्छन्।
रुपन्देहीमा बौद्ध धर्मसँग सम्बन्धित मात्र नभई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिकस्थल पनि उल्लेख्य रुपमा रहेका छन्। थारु संस्कृति र विरहा गीत, बुटवलको जितगढी किल्ला, सैनामैनाको पर्रोहा धाम, सिद्धबाबा जस्ता धार्मिकस्थल रहेका छन्।
प्राकृतिक सम्पदामा गैडहवा ताल, गजेडी ताल, दानो खोला, तेलार खोला लगायतका सुन्दर सिमसार क्षेत्र रुपन्देहीमा छन्। नुवाकोट दरवार शिवालिक क्षेत्रमा हल्का हावापानी भएका अन्य रमणीयस्थल पनि छन्। मणिमुकुन्द सेन उद्यानसहित शैक्षिक पार्कहरु रहेका छन्। यति मात्र हैन रुपन्देही तानसेन, पोखरा र मुस्ताङ जस्ता लोकप्रिय हिमाली पर्यटकीय गन्तव्यको प्रवेशद्वारको रूपमा पनि रुपन्देहीलाई मानिन्छ।
प्राकृतिक रुपले पूर्ण रहेको नेपालमा भारतको गर्मी छल्न प्राय पर्यटक आउने गरेका छन्। पर्यटकको स्वागत, सस्तो मूल्य, वैधानिक जुवाघर (क्यासिनो), स्तरिय होटल, मनोरञ्जनात्मक गतिविधिको कारण पर्यटक भैरहवा तथा यस आसपासमा आकर्षित हुने गरेका छन्। प्राकृतिक, धार्मिक एवं सांस्कृतिक रुपमा धनी रहेको रुपन्देहीमा पछिल्लो समय पर्यटकीय पूर्वाधारहरुको विकासले फड्को मारेको छ। सरकारी क्षेत्रबाट मात्र नभई यहाका निजी क्षेत्रले पर्यटकीय पूर्वाधारमा लगानी बढेका छन्। जसका कारण यस क्षेत्रको पर्यटकीय सम्भावना अझै बढेर गएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पर्यटकीय पूर्वाधारमा लगानी बढेको हो।
बेलहियामा अध्यागमन कार्यालय, पर्यटक सूचना केन्द्र, फराकिलो बाटो, स्तरीय यातायातका साधन, स्तरीय होटलको घुइँचो, पर्यटक भुलाउने स्थल यस क्षेत्रको पहिचान बनेका छन्। पछिल्लो समय भारतीय पर्यटकलाई लक्षित गरी रुपन्देहीमा फनपार्क, क्यासिनो, रात्रीकालीन बजार सञ्चालनको क्रम बढेको छ।
रुपन्देहीमा ८९ वटा पर्यटकस्तरीय होटल रहेका छन्। यस्तै एक सय ५० भन्दा बढी अन्य होटल रहेका छन्। सिद्धार्थनगर होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार रुपन्देही एकै पटकमा छ हजार बढी पर्यटकलाई धान्न सक्ने क्षमता राख्छ। 'अहिले यस क्षेत्रको बजार, पर्यटन भारतीय पर्यटकले धानिरहेका छन्।' उनले भने, 'भैरहवा र बुटवल धेरै व्यापार, पर्यटन र मनोरञ्जन गतिविधि गर्ने मुख्य दुई सहर भई सकेका छन्।'
भैरहवा आसपासका छ वटा क्यासिनो सञ्चालनमा रहेका छ। भैरहवामै दुई वटा वाटरपार्कमा गार्मी मौसममा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ। यहाँको लुम्बिनी एम्युजमेन्ट पार्कमा एकैदिन दुई हजार पाँच सय बढीलाई सेवा दिएको छ। भैरहवाकै होटल बोधी रेडसनमा रहेको वाटर पार्कले पनि भारतीयलाई लोभ्याउने गरेको छ।
लुम्बिनी विकास कोषका सूचना शाखाको तथ्याङ्कअनुसार लुम्बिनीमा अगस्त महिनामा ११ हजार तीन सय ४२ जनाले मायादेवी मन्दिर अवलोकन गरेका छन्। अङ्ग्रेजी वर्षको आठ महिनामा मात्रै लुम्बिनीमा एक लाख १७ हजार सात सय ४८ जनाले अवलोकन गरेको विकास कोषका सूचना अधिकारी हरिध्वज राईले जानकारी दिए।
निजी क्षेत्र मात्र हैन सरकारीस्तरबाट पनि पर्यटन पूर्वाधारमा लगानी बढाइएको छ। पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माणलगायत कार्यले प्राथमिकता पाइरहेका छन्। पर्यटन डिभिजन कार्यालय रुपन्देहीले आव २०७८/०७९ मा रुपन्देहीमा २७ करोड ८९ लाखमा कूल दुई सय १७ पर्यटन पूर्वाधारको योजना बनाएको थियो। निर्वाचन लगायतको कारण १६ करोड ६३ लाख बराबरको एक सय ७० योजना मात्र सम्पन्न गर्न सकिएको कार्यालका सूचना अधिकारी विनोद पौडेलले जानकारी दिए। यसमा विशेष गरी यस क्षेत्रका धार्मिक एवं पर्यटकीय पूर्वाधारको विकास गरिएको उनको भनाइ छ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीले साविक लुम्बिनी अञ्चलका ६ जिल्लामा काम अगाडि बढाएको छ। सूचना अधिकारी पौडेलले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा पनि रुपन्देहीमा मात्र नौ करोड ८५ लाख बराबरको ७१ योजनालाई अगाडि बढाइँदै छ।
पर्यटज डिभिजन कार्यालयले रुपन्देहीका महिलवारमा 'बहुसांस्कृतिक' सांस्कृतिक ग्रामको अवधारण अगाडि बढाएको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मोतीनगरलाई र पश्चिम नवलपरासी सुनवल नगरपालिकाको केरवानीलाई संयुक्त रुपमा अवध सांस्कृतिक ग्रामको रुपमा अगाडि बढाइएको पौडेलले जानकारी दिए। पहाडी जिल्ला गुल्मीको रिडी क्षेत्र र रुरु क्षेत्र तथा अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा खस–आर्य सांस्कृतिक ग्राम निर्माणको काम अघि बढेका छन्। पाल्पाको जन्तीलुङ मरामकोटमा मगर सांस्कृतिक ग्रामको अवधारणा अगाडि बढाइएको उनले बताए।
यसबाहेक बुटवलमा रहेको जिपलाइन, निर्माणाधीन अवस्थामा रहेको केबलकारले पनि पर्यटकलाई आकर्षित गर्नेछ। रुपन्देहीको पर्यटकीय पूर्वाधारमा सरकारी साथै निजी क्षेत्रले गरेको लगानीको कारण कोभिडका कारण थला परेको पर्यटकीय चहलपहल बढाएको छ। रासस