काठमाडौं (साउन, १६) - सरकारले बर्खास्त गरेका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि छानबिन समितिले गम्भीर प्रकृतिका २२ आरोप पुष्टि भएको प्रतिवेदन दिएको छ। त्यही प्रतिवेदनका आधारमा गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।
उनलाई बर्खास्त गर्ने सरकारको निर्णय पर्यटन मन्त्रालय हुँदै निगममा भने पुगेको छैन।
अधिकारीले निगमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँच पुर्याउने काम गरेको तथा जहाज निजी कम्पनीलाई भाडामा दिएको र अनावश्यक रुपमा साउदी अरेबियाको सुरुवाती उडानमा जम्बो टोली लगेर निगममाथि आर्थिक भार थपेको भन्दै २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो।
समितिले सरकारले दिएको क्षेत्र अधिकारमाथि रहेर अधिकारी माथि छानबिन भएको थियो। समितिमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदी र नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यलयका प्रमुख प्रेमनाथ ठाकुर रहेका थिए।
समितिले छानबिन गरी मन्त्रिपरिषदको कार्यालयमा साउन २ गते पेस गरेको रिपोर्ट बिजनेस न्यूजलाई प्राप्त भएको छ।
छानबिन समितले अधिकारीसँग लिएको बयान समेत समावेश रिपोर्टमा पेस गरेको छ। समितिले टि्वनअटर जहाज भाडामा लगाएको विषय, साउदी अरेबियाको सुरुवाती उडानमा जम्बो टोली सहभागी गराएको विषय, निगमको कर्मचारी सरुवा तथा बढुवा, ठेक्का पट्टामा सेटिङ, ठेकेदारसँग विदेशी खातामा रकम हाल्न लगाएको लगायत २ दर्जन भन्दा बढी विषयमा बयान लिएको विवरण रिपोर्टमा पेस गरेको छ।
छानबिन समितले उनी माथि २२ वटा गम्भीर आरोप लगाउँदै रिपोर्ट तयार पारेको छ।
अधिकारीमाथि छानबीन समितिले लगाएका २२ आरोप
१. खर्च मितव्ययिता अवलम्बन नगरी संचालक समितिको निर्णयविना रियादको लागि जम्बो भ्रमण टोली तयार गरेको, मन्त्रालयबाट भ्रमण टोलीका सदस्य घटाउन निर्देशन भएपछि २२ जनामा सीमित गरिएको, जम्मा भ्रमण टोलीका ४८ सदस्यहरू मध्ये २६ जनाको भिसा शुल्क करिब १३ लाख भन्दा बढी खर्च र २२ जनाको लागि भएको अन्य खर्च समेत निगमको दायित्वभित्र पर्ने देखिंदा विनानिर्णय निगमको खर्च मितव्ययिता अवलम्बन नगरी निगमलाई वित्तीय हानि पुर्याएको देखिन्छ।
२. निगमको टिकेटिङ्ग प्रणालीलाई अनलाइन पद्दति सुरुवात नगरी सार्वजनिक प्रतिस्पर्धा नगराई टिकट विक्रीको अधिकार दिने कार्य प्रचलित कानूनसम्मत र व्यावहारिक रुपमा निगमको हित अनुकूल देखिंदैन । यसको नियमन र व्यवस्थापन गर्ने कार्यमा कार्यकारी अध्यक्ष जिम्मेवार भएको देखिएन।
३. नेपाल वायुसेवा निगमको विमान चार्टर गर्ने सम्बन्धमा आर्थिक विनियमावली, २०६५ मा कानूनी स्पष्टता देखिंदैन। सो नियमावली लागू हुनुपूर्वको अर्गनाइजेसन सिस्टम म्यानुअल २००१ लाई आधार मानी विमान चार्टर गर्ने सम्बन्धमा कार्य भएको देखिन्छ। कानूनी स्पष्टता नभएको अवस्थामा निश्चित कानून तर्जुमा गरी कार्यविधि बनाई विमान चार्टर सम्बन्धी निर्णय
गर्नुपर्नेमा सो विषयमा कार्यकारी अध्यक्षको ध्यान पुगेको देखिंदैन।
४. प्यासेन्जर सर्भिस सिस्टम सम्बन्धमा कागजातहरु निर्णय हुनुभन्दा अगाडि नै ठेकदारलाई उपलब्ध गराई गोपनीयता भंग गरेको भन्ने गुनासो परेको, विलम्ब गरी निहित स्वार्थ राखी रिक्वेस्ट फर प्रपोजल तयार गरेको तथा बोलपत्र प्रक्रियालाई विलम्ब गरी प्रतिस्पर्धा सीमित बनाइएबाट काम कारबाही गुणस्तरहीन हुनसक्ने र निगमलाई थप हानी नोक्सानी पुग्न जाने देखिएकाले यस विषयमा कार्यकारी अध्यक्षबाट ध्यान पुर्याउन सकेको देखिएन।
५ . कार्यकारी अध्यक्षले ग्लोबल डिस्ट्रब्युसन सिस्टम (जीडीएस) प्रदायक कम्पनीहरूको ठेक्का सम्झौता गर्दा सार्वजनिक खरिद ऐनको पालना नगरेको देखिएको। खुल्ला प्रतिस्पर्धा गराउनुको सट्टा म्याद थप गर्दै काम लगाइरहेको देखिएको। उक्त सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको। यस विषयमा सञ्चालक समितिले निर्देशन गरेको र संचालक समितिको निर्देशन विपरीत उक्त जीडीएस कम्पनीहरूलाई कार्यकारी अध्यक्षले निरन्तरता दिएको देखिन्छ।
६. कार्यकारी अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले मन्त्रालयको संस्थागत निर्देशन समयमा कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसकेको, कर्मचारी आन्दोलनलाई समयमा व्यवस्थापन गर्न नसकेको, निगमका पदाधिकारी एवं कर्मचारीहरूलाई परिचालन गरी निगमको काम कारबाहीलाई सुचारु रूपमा राख्ने पदीय जिम्मेवारी पूरा गर्न नसकेको र ट्रेड युनियनसँग ठोस रूपले वार्ता एवं छलफल गरी समस्याको निराकरण गर्न प्रभावकारी प्रयास गर्न नसकेको। यसबाट कार्यकारी अध्यक्षबाट भएका काम कारबाहीबाट कार्यकारी अध्यक्षले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको देखिएन।
७. कार्यकारी अध्यक्ष युवराज अधिकारीको नियुक्ति पश्चात् निजको व्यवस्थापकीय क्षमताका विभिन्न आरोपहरू लाग्ने गरेका, पदीय आचरणका सम्बन्धमा समेत प्रश्न चिन्ह खडा भएको, पदाधिकारीहरूलाई समेटी बैठक व्यवस्थापन गर्न नसकेको, सरुवा तथा पदस्थापन जस्ता व्यवस्थापकीय पक्षहरूमा उचित ध्यान दिन नसकेको, व्यवस्थापन फितलो बन्न गएको, सोबाट कार्य सम्पादनमा असर पुगेको, कर्मचारीलाई यातना दिएको आरोप लाग्ने गरेको, कार्यकारी अध्यक्षले पद अनुकूलको आचरण र व्यवहार प्रदर्शन गर्न नसकेको, यस्ता विषयहरूलाई लिएर कर्मचारी ट्रेड युनियनहरू समेत आन्दोलित हुन पुगेको अवस्था रहेको देखिन्छ। कार्यकारी अध्यक्षका यस प्रकारका क्रियाकलाप र व्यवहारले समग्र कर्मचारीहरू र पदाधिकारीहरूलाई निश्चित अनुशासनमा राज नसकी निगमको व्यवस्थापन कमजोर हुँदै गएको देखिन्छ।
८. नेपाल वायुसेवा निगमको वर्तमान अवस्था, यसमा देखिएका समस्याहरूको विषयमा समयमै छलफल गरी एउटा निष्कर्षमा पुर्याई निगमको व्यावसायिकता अभिवृद्धिका लागि न्युनतम मासिक रूपमा बैठक सञ्चालन गर्नुपर्नेमा कार्यकारी अध्यक्ष बनेको ९ महिनाको अवधिमा जम्मा ६ वटा मात्र सञ्चालक समितिको बैठक बसेको र कुनै पनि बैठकमा पूर्ण सदस्य उपस्थित भई बैठक सञ्चालन गर्न नसकेको देखिंदा सबै पदाधिकारीहरूलाई समेटी बैठक सञ्चालन गर्न सकेको देखिएन।
९ . निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट विगत देखि लिएको ऋण तथा व्याज समयमा भुक्तानी गरेको देखिएन । निगम सञ्चालनको लागि आवश्यक पर्ने थप सहलियत स्रोतको खोजी गर्ने सम्बन्धमा समेत यथोचित पहल गरेको देखिएन। कार्यकारी अध्यक्ष कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण तिर्न नसकेको र ऋण सम्झौता बमोजिम किस्ता भुक्तानीका लागि सिंकिङ फण्डमा पैसा जम्मा गर्न नसकेको। यसबाट स्रोतको अभाव भई निगमको सञ्चालनमा कठिनाइ उत्पन्न हुने अवस्था देखिन्छ। यस्तो कार्यमा कार्यकारी अध्यक्षले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न सकेको देखिएन।
१० . राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको महत्त्व, स्थापनाको औचित्य, वर्तमान अवस्था र भावी आवश्यकताको विश्लेषणका आधारमा यसको गन्तव्य सुनिश्चित हुने गरी दीर्घकालीन सोच सहितको रणनीतिक एवं नीतिगत व्यवस्था यकिन गर्नुपर्ने, यसका लागि निगमको सुधारको सुरुवात गर्दै निगमलाई व्यावसायिक एवं प्रतिस्पर्धी बनाउन रणनीतिक योजना बनाई कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी समेत कार्यकारी अध्यक्षले निर्वाह गरेको देखिएन।
११. कार्यकारी अध्यक्षले विभागीय प्रमुखसँग विभागीय कार्यका लागि कार्यमूलक छलफल नहुने भनी जानकारी प्राप्त हुन आएको। कोभिड १९ को सामाग्री ढुवानीका लागि भएको चार्टर उडानको रकम असुल उपर गर्ने सम्बन्धमा ९ औं महिनासम्ममा पनि कुनै पत्रचार नभएको, निगमको आर्थिक अवस्था सुधारको लागि ठोस पहलकदमी नगरेको जस्ता कारणहरूले कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकालमा निगमको व्यवस्थापकीय पक्ष बिग्रदो अवस्थामा रहेको पाइन्छ। यो अवधिमा सञ्चालक समितिका बैठकहरू नियमित रूपमा बस्न नसकेको, निगमको प्रभावकारिताको लागि रणनीतिक योजना बनाई कार्यान्वयन गर्न नसकेको, पदाधिकारीहरूका बीचमा रहेको आपसी द्वन्द्वको व्यवस्थापन गर्न नसकेको, स्वयं कार्यकारी अध्यक्षको व्यवहार सन्तुलित एवं च व्यावसायिक चरित्रवान् रहेको नदेखिएको, सरुवा तथा पदस्थापन जस्ता विशुद्ध व्यवस्थापकीय पक्षहरूलाई समयमा सम्पन्न गर्न नसकेको, निगमको कर्मचारीहरुका गुनासा र मागहरूलाई सम्बोधन गर्न नसकेको, कर्मचारीलाई यातना दिने उस्ता विषयहरू उठाई ट्रेड युनियनहरूले आन्दोलन गर्ने गरेको, यस्तो आन्दोलनको समयमै व्यवस्थापन गर्न नसकेको जस्ता तथ्यहरुले नेपाल वायुसेवा निगमको व्यवस्थापन चुस्त दुरुस्त बनाउन सकेको देखिंदैन।
१२. नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष जस्तो सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने उच्च व्यावसायिक चरित्र र पद अनुकूलको आचरण नरहेको देखिएको, पत्रकारहरुको लागि भनी ठेकेदारसँग मदिरा समेत माग गरेको पाइएको र आफ्नो लागि कोट माग गरेको, अष्ट्रेलिया र चीनमा रहेको बैंक खातामा ठेकेदारहरुलाई रकम जम्मा गर्न सूचना आदानप्रदान गरेको देखिएको, इकोनोमी क्लासको टिकटलाई बिजनेस क्लासमा स्तरोन्नति गर्न लगाई निगमलाई हानि पुर्याउने कार्य समेत गर्ने गरेको पाइएको देखिन्छ
१३. कार्यकारी अध्यक्षको हैसियतले निगममा देखिएका समस्या र कठिनाइहरूलाई तत्काल समाधान गरी वातावरण सहज बनाउने र कार्य सम्पादनलाई बढावा दिनेतर्फ ध्यान दिनुपर्नेमा निगमका कतिपय मुद्दाहरूमा ध्यान दिन नसकेको, गम्भीर महत्त्वका विषयहरूमा सम्बोधन गर्न सकेको नदेखिएकोले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमा कार्य क्षमताको अभाव रही आफ्नो पदीय कर्तव्य पूरा गर्न सकेको देखिंदैन।
१४. नेपाल वायुसेवा निगमका अध्यक्षले निगममा कार्यरत कर्मचारी उपर मानसिक यातना दिएको विषयमा सम्पूर्ण ट्रेड युनियनका प्रतिनिधिहरूले निवेदन दिएको देखिएकोले निज अध्यक्षको सो कार्य आफ्नो पद अनुरूपको नभएको एवं पदीय जिम्मेवारी समेत पूरा गरेको नदेखिएको। नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ३ अनुसार निज उपर आवश्यक
कारबाही अगाडि बढाउनु पर्ने देखिन्छ।
१५. प्राप्त तथ्यहरुले निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीले आफ्नो कार्यकालमा कर्मचारी एवं निगमका. पदाधिकारीहरूलाई नियमन गर्न नसकेको, निगमको लक्षित उद्देश्य हासिल गर्न मार्गनिर्देशन गर्न नसकेको, निगमको सुधार एवं थप प्रभावकारिताको लागि रणनीतिक योजना तर्जुमा गर्न नसकेको, निगमको गन्तव्यको पहिचान र सुधारको मार्गचित्र तयार गर्न नसकेको जस्ता कार्यहरूबाट निगमको व्यवस्थापन कमजोर हुँदै गएको कारण र आधारहरूबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको विगतमा प्राप्त अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको र निगम प्रतिको विश्वास घट्दै जाने अवस्था सिर्जना भएको देखिन्छ
१६. कर्मचारीको सरुवा तथा पदस्थापन सम्बन्धमा पोष्टिङ कमिटिले गरेको निर्णय कार्यान्वयन नभएको, विदेशस्थित स्टेशनमा खटिएका कर्मचारीहरुले विदेशमा गई काम गरी सेवा सुविधा नपाउने अवस्था सिर्जना भएको र विदेश स्थित स्टेशनमा रहेका कर्मचारीहरुले सुविधा पाइरहने अवस्था सिर्जना भएको देखिंदा यस विषयमा समेत कार्यकारी अध्यक्षबाट र निगमको व्यवस्थापनबाट सरुवा तथा पदस्थापनमा समानता तथा एकरुपता कायम गर्न नसकेको र निगमको कर्मचारी विनियमावलीको प्रावधान अनुकुल काम भएको देखिएन
१७. निगममा भएको कर्मचारी आन्दोलनको सम्बोधन गरी व्यवस्थापन गर्ने कार्यमा समेत कार्यकारी अध्यक्षले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको देखिएन । निजको नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकुलको उच्च आचरण प्रदर्शन गर्ने क्षमताको अभाव देखिएको।
१८. सुरक्षा गार्ड नियुक्त गर्ने सम्बन्धमा समय सीमा नाघ्ने गरी कार्य गरेको। कानून बमोजिम प्रकृया अगाडि नबढाई प्रकृया स्थगित गरी साबिककै कम्पनीलाई नै निरन्तर दिइराखेको देखिंदा निगमको आर्थिक विनियमावलीको प्रावधान विपरित भएको र यसबाट निगमलाई हानीनोक्सानी भएको देखिन्छ। यस विषयमा कार्यकारी अध्यक्ष जिम्मेवार भएको देखिएन।
१९. नेपाल एअरलायसन्स - जिएसपीअन्तर्गत यात्रु ब्यागेज तथा कार्गो ह्याण्डलिङ गर्ने कार्यमा कामदार खटाउने सम्बन्धी बोलपत्र आह्वान गर्दा निश्चित बोलपत्र दाताले मात्र सहभागी हुन सक्नेगरी बोलपत्र प्रस्ताव तयार गरेको विषयमा छानविन उपसमिति गठन भएको, उक्त उपसमितिले प्रतिवेदन पेस गर्न बाँकी रहेको देखिएको।
२०. निगमको न्यारो बडी जहाज (नाइन एन एकेडब्ल्यु) इञ्जिनको खराबीले कतारको दोहामा ग्राउण्डेड हुँदा जगेडा इञ्जिनको व्यवस्था नगरिएको, लामो समयसम्म इञ्जिन भाडामा पनि नलिएको, इञ्जिन मर्मत गर्ने सम्बन्धमा तयार भएको RFQ निर्णय भई जारी हुनुअघि ठेकेदारसँग गोप्य सूचना आदानप्रदान गरेको देखिएको, अपारदर्शी ढंगले ठेक्का सम्झौता गर्न खोजेको, कागजातहरु उपलब्ध गराई गोपनीयता भंग गरेको र इञ्जिन मर्मत गर्ने कार्य हालसम्म पनि नभई निगमलाई वित्तीय नोक्सानी परेको देखिंदा यस विषयमा कार्यकारी अध्यक्षले आफ्नो जिम्मेवारीपूर्ण तरिकाले कामलाई गति दिन सकेको देखिएन
२१. उपरोक्त तथ्यहरुको विश्लेषण गर्दा आर्थिक अनियमितताजन्य विषयको सम्बन्धमा सम्बन्धित निकायबाट थप छानविन तथा अनुसन्धान हुनुपर्ने र नैतिक चरित्र लगायतका फौजदारी आचरणजन्य विषयमा आएका गुनासाहरुको सम्बन्धमा सो विषयसँग सम्बन्धित निकायवाट अनुसन्धान तहकिकात भई आवश्यक कारवाही हुनुपर्ने देखिन्छ।
२२. समग्रमा कार्यकारी अध्यक्षको नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको उच्च आचरण प्रदर्शन गर्ने क्षमताको अभाव देखिएको ।