बुधबार, वैशाख १२ गते २०८१    
images
images

राजस्वमा रत्तिएको सरकारलाई विदेशी मुद्रा सञ्चितिको दबाब

images
images
images
राजस्वमा रत्तिएको सरकारलाई विदेशी मुद्रा सञ्चितिको दबाब

साउन मसान्तसम्म नेपालसँग १३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो। यो भनेको ८ महिनाको वस्तु तथा सेवा आयातलाई पुग्ने रकम हो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको दुई महिना सरकारले १ खर्ब ६८ अर्ब राजस्व उठायो। अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत र चालु वर्षको वार्षकि लक्ष्यको १४ प्रतिशत संकलन भएपछि प्रशासनदेखि मन्त्रीसम्म मख्ख परे। 

images
images
images

मन्त्री भएदेखि नै अहिले उठिरहेको राजस्वलाई दोब्बर पार्न कर्मचारीहरुलाई निर्देशन दिएका अर्थमन्त्री जनार्दन शर्मा त झन् यसबाट प्रसन्न नहुने कुरै थिएन। 

images

यता अर्थमन्त्री उठेको राजस्वबाट मख्ख पर्दा उता नेपाल राष्ट्र बैंक भने आत्तिएको छ। मुलुकमा भित्रिनेभन्दा बाहिरिने मुद्रा धेरै भएपछि राष्ट्र बैंकले चेतावनी दिइसकेको छ। शोधानन्तर (विदेशबाट भित्रिने र बाहिरिने रकमबीचको अन्तर) घाटा फराकिलो हुँदै गएको छ। पछि विदेशी मुद्राको सञ्चितिमा दबाब सिर्जना हुँदै गएको छ। शोधान्तर घाटा बढ्दै गएपछि नेपालसँगको विदेशी मुद्राको सञ्चिति एक महिनामै ४६ अर्बले घटेको छ। 

images

साउन मसान्तसम्म नेपालसँग १३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो। यो भनेको ८ महिनाको वस्तु तथा सेवा आयातलाई पुग्ने रकम हो। 

images
images

साउनकै अनुपातमा आयात पनि बढ्दै गएको छ। साउनमा १ खर्ब ५० अर्बको आयात भएकोमा भदौमा १ खर्ब ६३ अर्बको आयात भएको छ। यही हिसाबले जाँदा शोधानन्तर घाटा बढ्दै जाने र अन्तत: विदेशी मुद्राको सञ्चिति पनि घट्ने केन्द्रीय बैंकको बुझाइ छ। 

राष्ट्र बैंकले भविष्यका लागि खतरा देखेपछि तत्काल बैंकहरुलाई तत्काल सकेसम्म २ सय भन्दा बढी डलर नगद सटही नगर्न मौखिक सुझाव दिएको छ। 

'हामीले अहिले बैंकहरुलाई मौखिक सुझावमात्र दिएका छौं। यसमा औपचारिक निर्णय भएको छैन। सकेसम्म नगद डलर सटही धेरै नगर्मात्र हामीले सुझाव दिएका छौं,' राष्ट्र बैंकका प्रवक्ता देवप्रसाद ढकालले भने। 

सरकारले विदेश जाने नेपाली नागरिकहरुलाई दिइने विदेशी मुद्राको सटही सुविधालाई कटौति गरिसकेको छ। त्यस बाहेकका अरु औजार पनि चलाउनुपर्नेमा केन्द्रीय बैंक पुगेको छ। अबदेखि विदेश जाने नेपालीहरुले २५० देखि ५ सय अमेरिकी डलरसम्ममात्र विदेशि मुद्राको सटही सुविधा पाउने छन्। 

अहिलेको जस्तै आयात बढ्दै जाने र रेमिट्यान्स पनि घट्दै जाने हो भने अवस्था भयावह आउनसक्ने चेतावनी राष्ट्र बैंकले दिइसकेको छ। त्यसलाई रोक्नका लागि के कस्तो गर्न सकिन्छ भनेर सरकारलाई सुझाव दिनका लागि छलफल भइरहेको बैंकका प्रवक्ता ढकालले जानकारी दिए। 

'हामीले आवश्यकता र औचित्य हेरेर वस्तु तथा सेवाको पहिचान गर्छौँ। कस्तो आयातमा के गर्न सकिन्छ भनेर सुझाव दिनेमात्र काम हो। त्यहीअनुसार हामीले अध्ययन गरिरहेका छौं,' ढकालले भने। 

२०७६ साल चैतमा पनि सरकारले केही वस्तुको आयातमा रोक लगाएको थियो। त्यतिबेला पनि नेपाल राष्ट्र बैंकको सुझाव, वाणिज्य मन्त्रालयको अग्रसरतामा निर्णय भएको थियो। 

यसपटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो दिएको छ। आयात बढ्दै गएको तर रेमिट्यान्स लगायतका स्रोतहरु खुम्चिँदै गएको बारे जानकारी भएको वाणिज्य सचिव दिनेश भट्टराईले बताए। 'अन्तर्राष्ट्रिय व्यापार तथा त्यसको प्रभावका बारेमा पक्कै पनि हाम्रो चासो रहन्छ। यसमा हामीले के गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ,' भट्टराईले भने। 

यद्यपि अहिलेको आयातको अवस्था भयानक हो वा होइन भन्ने निष्कर्षमा नपुगेको उनले बताए।

के अहिलेको आयात अस्वभाविक हो? प्रतिबन्ध माग गर्छ? 

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले आयात हुने वस्तुमा कडाइ गर्ने संकेत दिइसकेको छ। पहिलो चरणमा विदेशी मुद्रा सटहीमा कडाइ गरेको सरकारले अन्य औजारहरुमा पनि छलफल अघि बढाएको छ। 

सुन लगायतका वस्तुको आयात अत्याधिक बढ्दै गएको छ। पछिल्लो दुई महिनामै सबैभन्दा धेरै आयात हुने १० वस्तुको सूचीमा सुन र चाँदीको स्थान सात र आठ नम्बरमा छ। अर्थात् दुई महिनामै सुन ३ अर्बको आयात भएको छ भने चाँदी २ अर्बको आएको छ। 

पहिलो चरणमा सुनचाँदीसँगै कस्मेटिकजन्य सामग्री, महँगो मूल्यका सवारीसाधन लगायतका वस्तुको आयातमा कडाइ गर्नेगरी छलफल अघि बढेको छ। 

के अहिलेको अवस्था आयातमा कडाइ गर्ने खालको हो? 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अहिले नै आत्तिन नपर्ने अवस्था नआएको बताउँछन्। 
'अहिले अलि बढी नै रक्षात्मक हुन खोजेको जस्तो देखियो। अलि हुनेभन्दा बढी रियाक्टिभ भएको जस्तो लाग्यो। अहिले पनि करिब ९ महिनाको आयात धान्ने सञ्चिति छ यो भनेको त्यति खराब पनि होइन,' उनले भने। 

रेमिट्यान्स घटेका कारणले गर्दा शोधानन्तर घाटा बढेको तर किन घटेको छ भनेर खोजी गर्नुपर्ने उनको सुझाव छ। चाडपर्वको मुखमा हुने आयातबाट आत्तिन नहुने उनको भनाइ छ। 

किन आयो यस्तो अवस्था? 

कोरोना सुरु भएपछि वैदेशिक रोजगारीदेखि पर्यटनसम्म प्रभावित भयो। रेमिट्यान्स बाहेकका अरु सबै विदेशबाट हुने आम्दानी अहिलेसम्म नै प्रभावित  छ। 

लामो समयको घटानाक्रमको प्रभाव स्वरुप भुक्तानी सन्तुलनलाई असर गरिरहेको हुनसक्ने सावतीका अर्थशास्त्री डा पारस खरेल बताउँछन्। 

'सन्तुलन भनेको एउटा कुनै निश्चित कुराबाटमात्र खलबलिँदैन। जोडिएका सबै अंगमा प्रभाव परेपछि हुन्छ। अहिले हाम्रोमा कस्तो भयो भने एकातिर आयात कोरोनाकाल अघिकै अवस्थामा पुग्यो तर रेमिट्यान्स घट्यो,' उनले भने, 'रेमिट्यान्स एक महिनामै घटेकाले मात्र होइन। पछिल्ला दुई वर्षमा पर्यटन आम्दानी खुम्चिएको छ। अन्य सेवा आम्दानीमा पनि खासै उल्लेखनीय वृद्धि छैन। ययसको प्रभाव पनि अहिले देखिएको हुनसक्छ।'

भुक्तानी सन्तुलमा मुख्य भुमिका खेल्दै आएको रेमिट्यान्समा तलमाथि हुँदा प्रभाव देखिनु सामन्य भएको उनको भनाइ छ। 

नेपालमा विदेशी मुद्रा भित्रिने मुख्य स्रोत नै रेमिट्यान्स हो। रेमिट्यान्स बाहेक पर्यटन तथा अन्य सेवा आम्दानीको हिस्सा उल्लेखनीय छैन। 

भुक्तानी सन्तुनल खराब हुँदै गएपछि सरकारले विश्व व्यापार संगठनको व्यवस्थाभित्र रहेरै केही वस्तुको आयातमा रोक लगाउनसक्ने, कोटा निर्धारण गर्नसक्ने खरेलको भनाइ छ। 

'तर त्यसरी कोटा लगाउँदा हुनपर्ने पारदर्शीता र व्यवस्थापन यसअघि देखिएको छैन,' खरेलले भने।

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८०१:३५
  • सम्बन्धित विषय:

  • # राजस्व
  • # विदेशी मुद्रा सञ्चिति


  • प्रतिक्रिया दिनुहोस