सोमबार, कात्तिक १२ गते २०८१    
images
images

चिनियाँ ब्रान्डका विद्युतीय कारमा नेपाल ल्याएपछि ग्राउन्ड क्लियरेन्स बढाइँदै, व्यापारका लागि दुर्घटनाको जोखिम बढाउँदै आयातकर्ता

images
बुधबार, साउन २५ २०७९
images
images
चिनियाँ ब्रान्डका विद्युतीय कारमा नेपाल ल्याएपछि ग्राउन्ड क्लियरेन्स बढाइँदै, व्यापारका लागि दुर्घटनाको जोखिम बढाउँदै आयातकर्ता

आयातकर्ताहरुले चीनबाट ल्याएका चिनियाँ ब्रान्डका विद्युतीय कार सवारी परीक्षण कार्यालय (भीएफटीसी)बाट परीक्षण गराउन्जेसम्म ग्राउन्ड क्लियरेन्स नबढाई कम्पनीको ओरिजिनल डकुमेन्टअनुसार नैै पास गराइन्छ। तर जब कानूनी प्रक्रिया पूरा हुन्छ त्यसलगत्तै क्लियरेन्स बढाउने गरिएको छ। 

images
images

काठमाडौं- भौगोलिक रूपमा फरक र सडकको गुणस्तर उच्च नभएका बाटोका लागि सवारीसाधनको ग्राउन्ड क्लियरेन्स धेरै भएका सवारी रोजाइमा पर्ने गरेको छ। ग्राउन्ड क्लियरेन्स कम भएका सवारी नेपाली बजारमा निक्कै कम मात्र बिक्री हुने गरेको छ। 

images
images
images

त्यसमा पनि विद्युतीय सवारीको ग्राउन्ड क्लियरेन्स पेट्रोलियम कारको तुलनामा कम छन्। नेपालमा पनि विभिन्न मुलुकमा निर्मित विद्युतीय कार आयात भइरहेका छन्। विद्युतीय कार उत्पादक कम्पनीहरूले नेपालको बाटो र यहाँको उपभोक्तालाई हेरेर गाडीको डिजाइन गरेका हुँदैनन्। 

कारको ग्राउन्ड क्लियरेन्स डिजाइन गर्दा नै तय भइसकेको हुन्छ। त्यसैले आयात गर्ने मुलुक वा आयातकर्ता वा उपभोक्ताले त्यसमा परिमार्जन गर्न सक्दैनन्। त्यसरी परिमार्जन गरियो भने कारले दिने रेन्ज, कारको सेन्टर अफ ग्राभिटी नै परिवर्तन हुन्छ र दुर्घटनाको खोजिम बढ्छ। 

images

हाल नेपालमा आयात भइरहेका सबैजसो चिनियाँ ब्रान्डका विद्युतीय कार आयातकर्ताले सहजै कारको ग्राउन्ड क्लियरेन्स बढाउन अनुमति दिइरहेका छन् वा उपभोक्ताको सामान्य आग्रहमा बढाइ दिने गरेका छन्। यसरी ग्राउन्ड क्लियरेन्स बढाउन सरासर गैरकानूनी भएको यातायात व्यवस्था विभागले जनाएको छ। 

images

उत्पादन कम्पनीले कुनै एउटा कार बनाउने गरी इन्जिनियरिङ डिजाइन तयार गर्न निकै ठूलो धनराशि खर्चिएको र त्यसैका आधारमा गाडीको आधार, ग्राउन्ड क्लियरेन्सलगायत सबै कुरा निश्चित गरेको यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलले बताए। ‘यसरी तय भएको सवारीको अवस्था उपभोक्ता वा आयातकर्ताले सहजै परिमार्जन गरेर आफूलाई चाहेजस्ता बनाउँन पाइँदैन,’ पौडेलले भने, ‘कारको क्लियरेन्स बढाउँदा दुर्घटनाको उच्च जोखिम हुन्छ।’ 

सवारी आयातकर्ता र उपभोक्ता दुवैले आफूलाई अग्लो कार चाहियो भन्दैमा बढाउन वा थप गर्न नमिल्ने उनको भनाइ छ। कम्पनीले कारको डिजाइनका लागि त्यति धेरै लगानी गरेर रिसर्च एन्ड डेभलमेन्टमा समय खर्चिनु भनेको कारको लागि उपयुक्त तौल, आकार, माइलेजलगायत निश्चित गर्नु र उत्पादन बजारमा पठाएको हुन्छ। यहाँ ल्याएर त्यसरी ग्राउन्ड क्लियरेन्स बढाउनु सर्वथा गलत भएको पौडेलको भनाइ छ। 

जर्मनीमा उत्पादन भएका कारहरूमा सिस्टमबाटै ५ देखि १० एमएमसम्म क्लियरेन्स बढाउन मिल्छ। उदाहरणका रूपमा अउडीले उत्पादन गरेको इ–ट्रोन विद्युतीय कारमा सिस्टमबाटै १० एमएमसम्म क्लियरेन्स बढाउन मिल्ने सुविधा दिइएको हुन्छ। तर चीनमा बनेका सस्ता कारमा त्यसरी क्लियरेन्स बढाउन मिल्ने सुविधा नभएर त्यो फिक्स हुने विभागको भनाइ छ। 

कुनैकुनै कार उत्पादक कम्पनीका अनुसन्धान विभाग (रिसर्च एन्ड डिभलपमेन्ट- आरएन्डडी) ले नै ग्राउन्ड क्लियरेन्समा निश्चित हदसम्म बढाउन दिएको हुनसक्ने एक अटोमोबाइल इन्जिनियरले बताए। ‘कार डिजाइन गर्दा नै आरएन्डडीबाट स्वीकृत गरेर केही कारको १० एमएमसम्म क्लियरेन्स बढाउन सकिने भनिएको हुन्छ,’ ती इन्जिनियरले भने, ‘तर नेपाल ल्याएर जथाभावी २० एमएमभन्दा बढी ग्राउन्ड क्लियरेन्स बढाइएको देखिन्छ। यहाँ ल्याएर कारको 'सक'मा केही वस्तु राखेर अग्लो बनाउँदा त्यो कारको सेन्टर अफ ग्राभिटी के होला? त्यो कार गुडाउन कति सुरक्षित होला? अवस्था जटिल छ,’ उनले भने । 

यसरी ग्राउन्ड क्लियरेन्स बढाउने प्रवृत्तिलाई रोक्न नियामक निकायले सक्रिय भएर काम गर्नु पर्ने हो तर नेपालमा त्यस्तो सम्भव नरहेको ती इन्जिनियरले बताए। आयातकर्ताले त झनै यस्तो गैरकानूनी र उपभोक्ताको ज्यान गोखिममा पार्ने काम गर्नै नहुने उनको भनाइ छ। ‘तर यहाँ नियामक निकाय कानमा तेल हालेर बसेको छ। आयातकर्तालाई गाडी धेरै बिक्री गरेर नाफा सुनिश्चित गर्नु मात्र छ,’ उनले भने, ‘यो परिस्थितिमा अब उपभोक्ता आफैँ सचेत हुने र जबरजस्ती क्लियरेन्स बढाउन पनि नभन्ने र त्यस्ता कार किन्दै नकिन्नु नै उपयुक्त हुने म देख्छु।’ 

g c 1.jpg

यस्तो जटिल विषयमा आयातकर्ताले उपभोक्तालाई सचेत गराउनुको साटो आफैँले गैरकानूनी रूपमा ग्राउन्ड क्लियरेन्स बढाएर कार दिनु अपराध नै भएको अर्का एक मेकानिकल इन्जिनियरले बताए। ‘जुनसुकै गाडीमा पनि आरएन्डडीको सिफारिसबिना ग्राउन्ड क्लियरेन्स बढाउनु प्राविधिक रूपमा सुरक्षित मानिदैन,’ ती इन्जिनियरले भने, ‘आफूखुसी क्लियरेन्स बढाउँदा यात्रुको ज्यान जोखिममा पर्नुका साथै त्यो कारले दिनुपर्ने जति पर्फमेन्स समेत दिन सक्दैन। यात्रुका लागि सुरक्षा र मर्मत खर्च दुवै कुराले जोखिमपूर्ण छ।’ 

चीनबाट गाडी आयात गरेर बिक्री गरिरहेकाहरूले यसबारे कम्पनीलाई पूर्णरूपमा जानकारी गराएका हुँदैनन्। यसरी कम्पनीको यहाँ बिक्री गर्दा क्लियरेन्स बढाएको कुरा नभन्दा प्रिन्सिपल कम्पनीले दिने वारेन्टीलगायत कुरा निर्वाध रूपमा पाइन्छ। कम्पनीलाई क्लियरेन्स बढाएको कुरा भन्ने हो भने उसले वारेन्टीलगायत सुविधा रोकिदिने एक सवारी आयातकर्ताले बताए। ‘आयातकर्ताहरूले प्रिन्सिपल कम्पनीहरूलाई नेपाल ल्याएर बढाइएको ग्राउन्ड क्लियरेन्स बारे भन्दैनन् र उपभोक्ताले बढाउनु पर्‍यो भन्ने वित्तिकै सामान्य वर्कसपमा लगेर बढाइदिने गरेका छन्,’ ती आयातकर्ताले भने, ‘त्यसैले आयातकर्ताले क्लियरेन्स बढाएको विषय तैतुप मैचुप गर्छन्। यसो दर्ता वारेन्टीलगायत सुविध पाई नै रहन्छन्।’ 

नेपाली बजारमा चीनबाहिर उत्पादन भएका ब्रान्डका विद्युतीय कार पनि आयात भई बिक्री भइरहेका छन्। चीनबाटै आएका गैरचिनियाँ ब्रान्डमा पनि ग्राउन्ड क्लियरेन्स बढाउने गरेको पाइँदैन। जापान, कोरिया, युरोप, अमेरिकालगायत देशबाट आएका विद्युतीय कारको समेत ग्राउन्ड क्लियरेन्स कम हुने गरेको छ। यी कारका उपभोक्ताले पनि क्लियरेन्स बढाउन आयातकर्ता कम्पनीलाई भन्ने गरेका छन्। तर यी आयातकर्ताहरूले ब्रान्ड इमेजमा असर पर्ने भन्दै उक्त कुरा इन्कार गर्दै आएका छन्। चिनियाँ ब्रान्डको सन्दर्भ भने फरक खालको छ। चिनियाँहरूलाई बजार विस्तारको मात्र चिन्ता रहेको र यहाँबाट जस्तो कार चाहियो भन्या त्यस्तै बनाउने गरेको छ। त्यसैले क्लियरेन्स बढाउन चिनियाँ प्रिन्सिपल कम्पनीका लागि सामान्य विषय हुनसक्छ। 

कसरी बढाइन्छ ग्राउन्ड क्लियरेन्स?

ग्राउन्ड क्लियरेन्स बढाउन विशेष गरि सस्पेन्सनमा परिमार्जन गर्ने, सस्पेन्सनको ज्वाइन्टमा किट थप गर्नेलगायत विधि प्रायोग हुँदै आएको छ। यो कारको डिजाइनका आधारमा फरक फकर तरिकाले गरिँदै आएको छ। 

हाल नेपाली बजारमा बीवाईडी, दिगो, डेरीलगायत ब्रान्डका चिनियाँ कार आयात भई बिक्री भइरहेका छन् भने होजोनको निटा भी कार पनि उपभोक्तालाई हस्तान्तरण सुरु भइसकेको छ। यही कारमा समेत क्लियरेन्स बढाउन उपभोक्ताको आग्रह आउन थालिसकेको छ। त्यस्तै अन्य केही ब्रान्डका साना विद्युतीय कार पनि नेपाल आउने क्रममा रहेका छन्। यी कारमा समेत क्लियरेन्स बढाउने खेल हुने निश्चितप्रायः छ।

g c.PNG

आयातकर्ताहरूले चीनबाट ल्याएका चिनियाँ ब्रान्डका विद्युतीय कार सवारी परीक्षण कार्यालय (भीएफटीसी)बाट परीक्षण गराउन्जेसम्म ग्राउन्ड क्लियरेन्स नबढाई कम्पनीको ओरिजिनल डकुमेन्टअनुसार नै पास गराउने गरेका छन्। तर जब कानूनी प्रक्रिया पुरा हुन्छ त्यसलगत्तै क्लियरेन्स बढाउने गरेका छन्। 

ग्राउन्ड क्लियरेन्स बढाउने विभिन्न विधिहरू प्रयोगमा छन्। त्यसमध्ये सबैभन्दा विश्वासिलो भनेको कारको इनविउल्ड सिस्टममै राखिने विधि हो। यो मुख्यगरि प्रिमियम कार उत्पादकहरूले विकास गरेको र कारमा राखेका हुन्छन्। जस्तै अउडी, मर्सिडिज, टेस्लालगायत कम्पनीका कारमा उपलब्ध हुन्छ। यसरी विकास गरिएको प्रणालीबाट बढीमा १० देखि १५ एमएमसम्म क्लियरेन्स बढाउन मिल्छ। यो अतिरिक्त जडान गर्ने व्यवस्था होइन जुन प्रमाणित रूपमै सुरक्षित हुन्छ। 

कारमा बनाउँदा राखिएको भन्दा बाहेकको वस्तु राखेर ग्राउन्ड क्लियरेन्स बढाउने विधि तीन प्रकारका छन्। 

पहिलो हो टाइटानियम स्ट्राटस। यो ग्राउन्ड क्लियरेन्स बढाउन प्रयोग गरिने भरपर्दो र तुलनात्मक रूपमा सुरक्षित मानिने किट हो। यो किट प्रयोग गर्न विश्वासिला कार उत्पादक कम्पनीले नै पनि सिफारिस गर्ने गरेका छन्। यो निक्कै महँगो पर्छ। एउटा कारको क्लियरेन्स बढाउन करिब ३ लाख खर्चनु पर्छ। यो किटको स्ट्यान्डर्ड लाइफ साइकल ६ देखि ८ वर्ष हुन्छ। सो अवधिपछि पुनः नयाँ किट राख्नु पर्छ। नेपालमा केही महँगा कारमा यो किट प्रयोग भएपनि सस्तो मूल्यका र चिनियाँ विद्युतीय कारमा यो किट प्रयोग भएको छैन। 

दोस्रो हो बुस थप्ने। कारका ४ वटै सस्पेन्सनमा बुस थप गर्नुपर्ने हुन्छ। यो प्रकारको बुस बजारमा सहजै पाइन्छ। तर विश्वसनीय सवारी ब्रान्ड वा दीर्घकालिन व्यापार गर्ने डिलरले नै पनि बुस प्रयोग गरेर क्लियरेन्स बढाउन भन्दैनन्। एकैपटक समान रूपमा ४ वटै बुस नखिइने भएकाले यसरी क्लियरेन्स बढाइएका कारको सस्पेन्सनबाट आवाज आउन थाल्छ। अन्य धेरै समस्या हुन्छ। 

तेस्रो हो चपिङ बोर्ड प्लेट। यो विधि निक्कै असुरक्षित हुन्छ। सामान्य चपिङ बोर्डको प्लेट बनाएर सस्पेन्सनमा राखिन्छ। यसरी क्लियरेसन्स बढाउनेमा केही ट्याक्सीहरू र सस्तोमा आएका साना चिनियाँ विद्युतीय कार हुन्। यो विधिबाट सामान्य वर्कसपले पनि क्लियरेन्स बढाइदिने गरेका छन्। 

ग्राउन्ड क्लियरेन्स बढाउँदा हुने असर प्रभावहरू 

ग्राउन्ड क्लियरेन्स बढाउँदा कारको सुरक्षा, यात्रुको आरामदायीपन र कार तथा पार्टको टिकाउपनमा गम्भीर असर पर्छ। 

स्टेरिङको जोमेट्रीमा परिवर्तन

स्टेरिङको जोमेट्री परिवर्तन हुँदा दुर्घटनाको जोखिम बढ्छ। यसको अर्को प्रभाव भनेको विद्युतीय कारले दिने माइलेज घट्ने छ। 

सस्पेन्सन बढी कडा हुने

सस्पेन्सन बढी कडा हुँदा टायर, पार्टपुर्जा तथा कारका विभिन्न भागमा रहेको ज्वाइन्टहरूमा प्रत्यक्ष प्रभाव पर्छ। कारको स्थिरतामा सम्झौता गर्नुपर्ने हुन्छ।  

कारको सेन्टर अफ ग्राविटीमा परिवर्तन

कारको बहुआयामिक स्थिरतामा प्रत्यक्ष प्रभाव पार्छ। यसको असर कार अलि बढी कुदाउँदा र घुमाउरो बाटोमा दुर्घटनाको जोखिम कयौं गुणा बढी हुन्छ। 

कारमा भाइब्रेसन बढ्ने/नियन्त्रणमा असन्तुलन बढ्ने

कार बढी भाइब्रेसन हुँदा दुर्घटना बढ्ने र उपभोक्ताले आरामदायी यात्रा नपाउने हुन्छ। सवारीको पार्टपुर्जा छिटो बिग्रन्छ। उपभोक्ताले कारको मूल्यअनुसारको आदामदायीपनमा सम्झौता गर्नुपर्ने हुन्छ। 

समग्र प्रभावहरू

उपभोक्ताले तिरेको मूल्यमा पाइने सहजपनमा सम्झौता गर्नुपर्ने हुन्छ। जसको परिणाम दुर्घटना बढ्ने र ज्यान गुमाउने सम्भावना धेरै हुन्छ। 

कारको नियमित मर्मत खर्च बढ्छ। 

समान कार क्यिरेन्स नबढाउँदा दिने माइलेज ग्राउन्ड क्लियरेन्स बढाएपछि स्वाभाविक रूपमा घट्छ। विद्युतीय कारले पनि क्लियरेन्स बढाए पनि पूर्ववत अवस्थामा जति नै रेन्ज दिँदैन। त्यसैले ग्राउन्ड क्लियरेन्स बढाउनु गैरकानूनी त हो नै त्यस्ता कार खरिद गरेर यात्रा गर्नुपनि जोखिमपूर्ण नै हो।

कुन चिनियाँ कारको ग्राउन्ड क्लियरेन्स कति 

बीवाईडी इसिक्स- १७० एमएम
निटा भी- १६० एमएम
दीगो इ८- १६० एमएम
डेरी इभी७- १६० एमएम

यी कारको ग्राउन्ड क्लियरेन्स नेपाल ल्याउने मोडलमा तय भएको हो। चीनमा यी कारको ग्राउन्ड क्लियरेन्स निक्कै कम छ। उदाहरणको लागि चीनमा निटा भीको ग्राउन्ड क्लियरेन्स १४० एमएममात्र रहेको छ। उल्लेखित ग्राउन्ड क्लियरेन्स कार तौलबिहीन अवस्थाको हो। 


प्रकाशित : बुधबार, साउन २५ २०७९०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend