काठमाडौं- कुनै समय निकै आकर्षक मानिने कोदो खेती खासै बढ्न सकेको छैन। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा कोदो उत्पादन वर्षेनी विस्तार हुन्थ्यो तर पछिल्लो दशकमा यसको विस्तार निकै सुस्त छ।
जस्तो म्याग्दीका मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि र बेनी नगरपालिकाका सबै गाउँमा पहिले प्रशस्त कोदोखेती हुन्थ्यो। हिजोआज कोदो खेतीप्रति किसानको मोह घट्दै गएको छ। किसानले लगाएको कोदो प्रशस्तै मात्रामा फल्ने गरेको थियो। उत्पादन धेरै भए पनि बिक्री हुन छाडेपछि किसान कोदो खेतीप्रति निरुत्साहित हुँदै गएका हुन्। कोदोका परिकारको विविधिकरण र बजारीकरणमा देखिएको समस्याले किसान कोदो खेतीप्रति आकर्षित हुन छाडेका उनीहरु बताउँछन्।
ग्रामीण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ। त्यहाँका किसानले कोदो खेतीलाई भने उपयुक्त मान्न छाडेका छन्। त्यसैले अहिले कोदोका लागि योग्य जमिन त्यसै बाँझै छाडेका छन्। कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ । जस कारण बेनी, पोखरा, काठमाडौँलगायतका सहरी क्षेत्रमा कोदोको माग बढ्दै गएको छ। बजारसम्म पहुँच नभएपछि कोदोबारी बाँझै छाड्न किसान बाध्य भएका हुन्।
पछिल्लो ८ वर्षको तथ्यांक अनुसार नेपालमा कोदो उत्पादनमा खासै ठूलो वृद्धि भएको छैन। न घटेको छ न बढेको छ। कोदो उत्पादन हुने क्षेत्रफल पनि स्थिर देखिन्छ भने उत्पादनमा पनि खासै वृद्धि भएको छैन। आठ वर्षअघि २०७१ सालमा ३ लाख ८ हजार मेट्रिकटन कोदो उत्पादन भएको थियो। अर्थात् गएको आठ वर्षमा कोदो उत्पादन क्षमता जम्मा ३१ हजार टनले मात्र वृद्धि भएको छ। अर्थात् ८ वर्षमा कोदो उत्पादन १० प्रतिशतले बढेको छ।
कोदो खेती हुने क्षेत्रमा पनि विस्तार देखिएको छैन। २०७१ सालमा २ लाख ६७ हजार हेक्टरमा कोदो खेती भएको थियो। तर यो वर्ष जम्मा २ लाख ६७ हजार हेक्टरमा खेती भएको छ। खेती गर्ने जग्गाको विस्तार नहुँदा पनि उत्पादनमा झिनो वृद्धि हुनु भनेको उत्पादकत्वमा गिरावट नआउनु हो।
परम्परागत खेती प्रणाली, उन्नत बिउको अभाव तथा खेती प्रविधिको विस्तार नहुँदा परम्परागत बालीको उत्पादनमा खासै उपलब्धी भएको छैन।
गएको आठ वर्षमा कोदोको उत्पादकत्वमा खासै सुधार आएको छैन। २०७१ सालमा एक हेक्टर जग्गामा १.१५ मेट्रिकटन कोदो उत्पादन हुने गरेकोमा यो वर्ष १.२७ मेट्रिकटन पुगेको छ। उत्पादकत्वमा खासै सुधार नआउँदा पनि किसानको आकर्षन बढ्न सकेको छैन।
कोदो नेपालको रैथाने बाली मानिन्छ। देशका अधिकांस स्थानमा खेती गरिने कोदोको उत्पादन प्रदेशगत रुपमा सबैभन्दा धेरै गण्डकीमा हुन्छ। जिल्लामा भने सबैभन्दा धेरै खोटाङमा हुन्छ।
कोदोलाई नेपालमा धान, गहुँ तथा मकैपछिको मुख्य बालीका रुपमा लिइन्छ। पोषणयुक्त बालीका रुपमा चिनिने भएपनि यसको उत्पादन वृद्धिका लागि सरकारी तथा गैरसरकारी पहलको अभाव छ।
देशको रैथाने बाली भएपनि कोदोको उत्पादन बढ्न नसक्दा यसको आयात बढ्दै गएको छ। विभिन्न प्रायोजनका लागि आवश्यक पर्ने कोदोको आयात गएको वर्ष ६ करोड रुपैयाँको भएको थियो। प्रत्येक वर्षको यसको आयात बढ्दै गएको छ।