काठमाडौं- पछिल्लो सात दिनमा नेपालमा दुईवटा कलसेन्टरमा नेपाल प्रहरीले छापा मारेको छ। रुपन्देही र काठमाडौंमा सञ्चालनमा रहेका 'कल सेन्टर' बाट प्रहरीले डिजिटल ठगीमा संलग्न भएको भन्दै सञ्चालकहरूलाई पक्राउ गरेको जानकारी दिएको छ।
आइतबार मात्र काठमाडौंको तिनकुनेमा सञ्चालनमा रहेको स्काई वर्ल्ड सर्भिस सेन्टर नामको कल सेन्टरबाट ३६ जना पक्राउ परेका थिए। काठमाडौं जिल्ला प्रहरी परिसरले त्यहाँबाट चिनियाँ तथा भारतीय नागरिकसहित ३६ जनालाई पक्राउ गरेको हो।
कल सेन्टरको नाममा अवैध काम गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उक्त कल सेन्टरका प्रशासन प्रमुख चिनियाँ नागरिक हु युहा र भारतीय नागरिक मनोज शैनी तथा नेहा गुप्ता रहेका छन्। बाँकी ३३ जना नेपाली रहेका छन्।
यो कल सेन्टरबाट नेपाली नागरिक नै ठगीमा परेको कुनै प्रमाण प्रहरीसँग छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यिनिहरूले नेपालभन्दा पनि नेपालबाहिरका लागि काम गर्ने गरेको पाइएको छ।
एकै सिफ्टमा ११ सय मान्छे राखेर काम गराउने गरेको यो कल सेन्टरको काठमाडौंमा मात्र दुई हजारभन्दा बढी कर्मचारी रहेको प्रहरीको अनुमानछ। त्यसैले यिनिहरूले विशेषगरी भारतीय नागरिकलाई ठगी गर्ने गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहरा बताउँछन्।
स्काई वर्ल्ड सर्भिस सेन्टरको माध्यमबाट भारतीय बजारलक्षित ठगी धेरै भइरहेको थियो। ऋण सुविधा दिने भनेर आएका विभिन्न एप्लिकेशनको माध्यमबाट भारतीय सर्वसधारणको शोषण, चरित्र हत्यासम्मका काम भइरहेको प्रहरीको पत्ता लगाएको छ। ऋण सुविधा दिने त्यस्ता एप्लिकेशनका बारेमा उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्थे। जसबाट छिटै र सस्तो ब्याजमा ऋण पाइने लोभमा न्यून आए भएका नागरिक लोभिने भए।
'दिनमा पचासौँ हजार आवेदन आउने गरेको सूचना हामीले पाएका छौँ। त्यसैले त त्यत्रो जनशक्ति परिचालन भइरहेको रहेछ' प्रहरी परिसर काठमाडौं प्रमुख बोहराले भने।
छिटो र सस्तो ऋणको लोभमा एप्लिकेशनसम्म पुग्ने प्रयोगकर्तालाई ऋणका लागि फारम भर्न एउटा लिंक पठाइन्छ। जसमा उनीहरूले आफ्नो परिचय खुल्ने दस्तावेज अपलोड गर्थे। सात दिनका लागि बढीमा २० हजार भारु ऋण दिने यो गिरोहले छ दिनमै वार्निङ कल गर्थ्यो। 'कल गर्नेदेखि लिएर आवेदन ह्यान्डल गर्नेसम्मका काम यहीँबाट हुने गरेको भेटियो' बोहराले भने।
२० हजार ऋण स्वीकृत गर्दा पनि पाउनेले भने ६४ प्रतिशत मात्र पाउँथ्यो। यिनिहरूले ३६ प्रतिशत रकम आफैसँग राख्थे। यसरी समयमै ऋण नतिर्ने वा तिर्न नसक्नेहरूलाई साइबर बुलिङको माध्यमबाट तर्साउने गरेका थिए। ऋण लिँदा नै परिचय खुल्ने दस्तावेज र तस्बिर पाएको यो गिरोहले इन्टरनेटमा बेइज्जति गर्ने धम्की दिने र बेइज्जत गर्ने गरेकोसमेत पाइएको छ। यद्यपि अहिले यसका बारेमा थप अनुसन्धान भइरहेको छ।
नेपालमा पनि पछिल्लो समय म्यासेन्जर एप तथा फेसबुक म्यासेन्जरमा चिठ्ठा तथा उपहार आएको भन्दै लोभ्याउँदै ठगी गर्ने चलन बढेको छ। यस्तै गिरोहको सहभागिता हुनसक्ने प्रहरीको आशंका छ। 'तर हामीले यसमा थप अनुसन्धान गर्दैछौँ। अहिलेसम्म कुनै पनि नेपाली पीडितको गुनासो योसँग जोडिएको छैन। थप अनुसन्धानबाट खुल्दै जाला' बोहराले भने।
कल सेन्टरको प्रशासन प्रमुख चिनियाँ नागरिक र त्यसमा भारतीयसमेत सहभागी छन्। र यसको अपराधको साइनो नेपालभन्दा भारतमै बढी देखिन्छ। तर यो कम्पनीको स्वामित्व भने एक नेपाली नागरिकको नाममा छ।
स्काई वर्ल्ड सर्भिस सेन्टर नामको कम्पनी २०७७ सालमा दर्ता भएको हो। यसको स्वामित्व बिजय श्रेष्ठ नामका नेपालीमा रहेको छ। नेपालीको नाममा कम्पनी, चिनियाँ मास्टर माइन्ड र भारतीय बजारलक्षित ठगी प्रहरीको अनुसन्धानको मुख्य विषय यही रहेको छ।
प्रशासन प्रमुख भनिएका चिनियाँ नागरिकले प्रहरीसामू अहिलेसम्म मुख खोलेका छैनन्। उनले आफूसँग पासपोर्ट नभएको र आफू नेपाल घुम्न आएको मात्र भनेका छन्।
यो गिरोहको विस्तृत अुनसन्धानका लागि जफत गरिएका ४ सय ल्यापटप, सात सय कम्प्युटर लगायतका डिभाइसलाई प्रयोगशालामा पठाइएको छ। त्यहाँबाट आउने रिपोर्टले थप तथ्य फेला पार्ने प्रहरीको विश्वास छ।
भारतमा ठगी गर्नका लागि उनीहरूले काठमाडौंमा यति ठूलो र भव्य संरचना बनाएका छन् कि जुन काठमाडौंमा स्थापित संस्थाभन्दा भव्य छ। ११ सय कर्मचारीले एउटै सिफ्टमा काम गर्ने मात्र होइन उनीहरूका लागि खाना र खाजाको व्यवस्थासमेत भित्रै हुने गरेको प्रहरीले फेला पारेको छ।
नेपालमा कल सेन्टर खोल्नका लागि विशेष नियामकीय व्यवस्था छैन। सूचना प्रविधिको व्यवसाय गर्नका लागि नियामकीय व्यवस्था भएपनि कल सेन्टरका बारेमा कुनै विशेष व्यवस्था छैन। कम्पनी दर्ता गर्ने र त्यसकै माध्यमबाट कल सेन्टर चलाउने गरिएको छ।