काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्र र बाहिर व्यावसायिक प्रयोजनका लागि बनेका संरचना भाडामा दिने गरी गरेको टेन्डरको समय थप गरेको छ।
प्राधिकण प्रवक्ता जगनाथ निरौलाका जुलाई १८ सम्मका लागि गरिएको टेन्डर समय एक महिना थप भएको जानकारी दिए। टेन्डरमा सहभागी हुन चासो देखाएका कम्पनीहरुले नै आवश्यक तयारीका लागि समय माग गरेपछि एक महिनाको समय थप भएको उनको भनाइ छ।
विमानस्थलमा बनेका व्यवसायिक संराचना भाडामा लिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायी दिपक मल्होत्राको आईएमएस एयरपाेर्ट सर्भिसेजले समेत चासो देखाएको प्राधिकरणले स्रोतले जानकारी दिएको छ।
आईएमएस कम्पनी अहिले विमानस्थलमा विमानस्थल सेवा शुल्क नियमावलीमा तोकेको भन्दा बढी शुल्क उठाइरहेको छ। साथै जग्गा भाडा वापतको आर्थिक वर्ष २०७७/०७८ सम्मको १० करोड ७१ लाख र गत आर्थिक वर्ष २०७८/०७९ को १ करोड ५६ लाख रुपैयाँ जग्गा भाडा वापतको रकम बुझाएको छैन। तर सोही कम्पनी नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रवेश गर्न लविङ थालेको छ।
भाडासमेत नतिरेको कम्पनीले ३७ फिट उचाईको भवन बनाउने गरी सम्झौता गरेपनि हवाई सुरक्षामा असर गर्ने गरी ५२ फिटको भवन बनाएको छ। उक्त विषयमा महालेखाले समेत बारम्बार प्रश्न उठाउँदै आएको छ।
योसँगै अन्य विदेशी तथा नेपाली व्यवसायिक घरनाका कम्पनीहरुले समेत चासो देखाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणको केन्द्रीय कार्यालयले विमानस्थल भित्र/बाहिर बनाइएको व्यवसायिक क्षेत्र, सवारी पार्किङ, टर्मिनल भवन तथा अन्य भवनको अपरेशन तथा मर्मत सम्भार र बगैँचाको संरक्षण सहितका लागि जुन १ मा टेन्डर गरेको थियो।
प्राधिकरणले पाँच वर्षका लागि कम्पनी छनोट गर्ने गरी टेन्डर गरेको थियो। प्राधिकरणले पाँच वर्षका लागि लिजमा लिन चाहेने कम्पनीले न्यूनतम ५६ करोड ७१ लाख ८५ हजार ६ सय ५८ रुपैयाँ निर्धारण गरेका छ। अब विमानस्थलभित्र तथा बाहिर प्राधिकरणले तोकेका व्यवसायिक क्षेत्र भाडामा लिन कम्पनीले न्यूनतम रकममा नघटाइ प्रस्ताव पेश गर्नु पर्ने छ। समय थपिएसँगै अगस्ट १७ सम्म प्रस्ताव पेश गर्न चाहने कम्पनीले प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाउन सक्ने छन्।
टेन्डरमा सहभागी हुनेले धरौटीवापत २ करोड ८३ लाख ५९ हजार २ सय ८३ रुपैयाँ राख्नु पर्नेछ। प्राधिकरणले पहिलो पटक एउटै कम्पनीलाई विमानस्थल भित्र र बाहिर बनेका व्यवसायिक क्षेत्र भाडामा दिने गरी कम्पनी छनोट गर्न लागेको हो।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको व्यवसायिक क्षेत्र भाडामा लगाउँदा छुटाछुटै कम्पनीलाई दिँदै आएको थियो। यसरी अलग अलग कम्पनीलाई दिँदा समन्वयमा समस्या आएको विषयलाई ध्यानमा राखेर सहजता र विमानस्थलभित्र भाडामा लगाइएको क्षेत्र तथा अन्य क्षेत्रको मर्मत संभारका लागि पनि एकै कम्पनीबाट डिल गर्न सहजता हुने गरी कम्पनी छनोट गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्द्रप्रसाद दाहालले जानकारी दिए।
विमानस्थल भित्र तथा बाहिर प्राधिकरणले तोकेको क्षेत्र एउटा कम्पनीले भाडामा लिने र उसले नै अन्य कम्पनीलाई भाडामा लगाउन पाउने गरी कम्पनी छनोट गर्न लागेको उनको भनाइ छ। तर दोस्रो पक्ष (प्राधिकरणसँग ठेक्का लिने कम्पनी)ले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा तोकेका शुल्कभन्दा बढी भने लिन नपाउने दाहालले बताए।
झन्डै ३० अर्ब रुपैयाँको लागतमा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गते व्यवसायिक सञ्चालनमा आएको छ। विमानस्थलबाट अहिले कुवेतको जजिरा एयरले सातामा ३ वटा उडान गर्दै आएको छ। विमानस्थलबाट २ हजारभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरिसकेका छन्।
विमानस्थलबाट उडान गर्न स्वेदेशी तथा विदेशी एयरलाइन्स कम्पनीले प्रस्तावसमेत पेस गरेका छन्। विमानस्थलको प्रमोसनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि एक वर्षसम्म अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने शुल्कमा छुट दिने निर्णय गरिसकेको छ।
साथै विमानस्थलमा आधुनिक तथा सुविधासम्पन्न दोस्रो टर्मिनल भवन (अन्तर्राष्ट्रिय) समेत बनाउने प्रक्रिया सुरु भएको छ। टर्मिनल भवन निर्माणको विषय आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा समेत समावेश भएको छ। बजेटमा टर्मिनल भवनको आवश्यकतालाई हेरेर निर्माण प्रक्रिया अगाडि बढाइने उल्लेख छ।