शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

सिन्जो आबेको ‘आबेनोमिक्स’, जसले दुई दशकसम्म मन्दीमा रहेको जापानको अर्थतन्त्रलाई उद्धार गर्‍यो

आबेले पैसा छापेर नगदको प्रवाह बढाए, पूर्वाधारमा अर्बौं डलर खर्च गरे, श्रमिकको आपूर्ति बढाउन महिलालाई काममा आकर्षित गरे र आप्रवासी भित्र्याउन सजिलो बनाए, जसले अर्थतन्त्रको उत्थान गर्‍यो

images
आइतबार, असार २६ २०७९
images
images
सिन्जो आबेको ‘आबेनोमिक्स’, जसले दुई दशकसम्म मन्दीमा रहेको जापानको अर्थतन्त्रलाई उद्धार गर्‍यो

सन् २०१२ तुलनामा हाल जापानको कुल गार्हस्थ्य उत्पादन (नोमिनल जिडिपी) ४ सय ८४ खर्ब जापानी येनले बढेको छ। जापानको श्रमबजारमा महिला कामदारको संख्या ३३ लाखबाट ४४ लाख पुगेको छ। कर्पोरेट क्षेत्रको करअघिको आय ४२१ खर्ब येनले बढेको छ, बेरोजगारी दर २ दशमलव ४ प्रतिशतमा झरेको छ (यो ३ प्रतिशतमुनि हुनुलाई ठूलो सफलता मानिन्छ)।

images
images

काठमाडाैं-  सन् १९९० देखि २०१२ जापानको अर्थतन्त्र ठूलो मन्दीमा रहेको थियो। लामो समयदेखि विश्वको दोस्रो ठूलो अर्थतन्त्रको ताज जापानबाट चीनले खोसिसकेको थियो। दुई दशकसम्म जापानको अर्थतन्त्र वृद्धि नै भएन, स्थिर रहिरह्यो, मूल्यवृद्धि हुँदै भएन भन्दा पनि हुन्छ। हालै हत्या गरिएका जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेले दोस्रोपटक शासन सम्हाल्नुअघि सन् २०१० मा जापानको ५ दशमलव ७ प्रतिशतसम्मले माइनसमा गएको थियो। सन् १९९१ देखि २००१ सम्मलाई त जापानीहरूले ‘गुमेको दशक’ भन्ने गरेका छन्।

images
images
images

 सन् २००६-००७ र २०१२-२०२० गरी जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री बनेको आबे प्रधानमन्त्री हुनुभन्दा अगाडिको अवधिमा जापानको अर्थतन्त्र गम्भीर मन्दीतर्फ जाने खतरामा थियो। अर्थतन्त्रको बलियो खम्बा निर्यात तीव्र रूपमा घटिरहेको थियो। यसरी लामो समय मन्दीमा रहेको जापानी अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष आर्थिक प्याकेज आवश्यक छ भन्ने आबेले महसुस गरेका थिए। उनले सन् २०१२ मा पुनः प्रधानमन्त्री हुनेबित्तिकै त्यो प्याकेज घोषणा गरे, जसलाई 'आबेनोमिक्स' भनिन्छ। आबेनोमिक्स घोषणा गर्दा आबेले भनेका थिए, ‘म जापानी अर्थतन्त्रलाई अघि बढ्नबाट रोक्नसक्ने सबै पर्खालहरू तोडिदिनेछु र आर्थिक वृद्धिको नयाँ उडानको नक्सा कोरिदिनेछु, यही नै आबेनोमिक्सको दृढ मिसन हो।’

images

उनले आबेनोमिक्सअन्तर्गत मुख्यतः तीनवटा क्षेत्रमा सुधार गरे, त्यसलाई तीन ‘तीर’ भनियो। ती तीन तीर थिए वित्तीय नीति, मौद्रिक नीति र संरचनात्मक सुधार।

images

 १. पहिलो तीर (वित्त नीति): सरकारी खर्च वृद्धि

आबेले भौतिक पूर्वाधारमा खर्बौं अमेरिकी डलरबराबर सरकारी रकम खर्च गरे। त्यसले आर्थिक वृद्धिमा सहयोग गर्‍यो नै, रोजगारी सृजना भयो। मानिसहरूले पहिलेभन्दा धेरै आम्दानी गरे। जापानीहरू धेरै खर्च गर्ने मानिस होइनन्। उनीहरू आफ्नो कमाइको एकदमै थोरै मात्रै खर्च गर्छन्। जनताले धेरै खर्च गरेपछि उद्योग व्यवसायीहरूले पनि उत्पादन बढाउँदैनन्, किनभने उनीहरूले गरेको थप उत्पादन विक्री हुँदैन। तर, जब उनीहरूले बढी आम्दानी गर्न थाले, त्यहीअनुरूप खर्च पनि बढाए।  
यसका साथै, आबेले कर सहुलियतजस्ता वित्तीय सुविधा कम्पनीहरूलाई दिए, जसका कारण कम्पनीहरूले उत्पादन बढाए र रोजगारी सृजना भयो।

tw_ogp_h.jpg

२. दोस्रो तीर (मौद्रिक नीति): बजारमा  तीव्र रूपमा पैसा प्रवाह

आबेले मौद्रिक सहजता (इजिङ)को कार्यक्रममार्फत अति नै धेरै पैसा बजारमा प्रवाह गरे। जापानीहरू धेरै ऋण लिँदैनथे। वास्तवमा सन् १९९० को वित्तीय संकटका कारण बैंकहरूले ठूलो मात्रामा ऋण उठाउन सकेका थिएनन्। त्यसो हुँदा जापानी बैंकहरूले कर्जा दिन पनि चाहँदैनथे। ब्याजदर उच्च थियो। ब्याज उच्च भएपछि मानिसहरूले कर्जा लिन चाहँदैनन् पनि। आबेले कर्जाको ब्याजदर घटाए। वास्तवमा उनले जिरो ब्याजदरको नीति लिए, कर्जामा ब्याज नै नलिने। त्यति मात्रै होइन, उनको कार्यकालमा ब्याजदर माइनसमा गयो। 

आबले आफ्नो कार्यकालमा धेरै पैसा छापे ता कि बजारमा पैसाको आपूर्ति धेरै भएर मूल्यवृद्धि बढोस्। उनले मूल्यवृद्धि २ प्रतिशत पुर्‍याउने लक्ष्य राखेका थिए। किनकि, जापानमा त्यसबेला मूल्यवृद्धि पनि माइनसमा थियो। नेपालमा मूल्यवृद्धि उच्च भएर समस्या भएको छ तर जापानमा नभएर समस्या भएको थियो। अर्थतन्त्र विस्तार हुन पनि निश्चित बिन्दूको मूल्यवृद्धि हुनुपर्छ। मूल्यवृद्धि बढाउन जापानले मूल्य अभिवृद्धि कर (भ्याट)को दर पनि ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याएको थियो। 

३. तेस्रो तीर (श्रम बजार सुधार): महिलालाई काममा प्रोत्साहन 

समस्या जापानमा काम गर्ने जनशक्तिको अभाव थियो। विगत केही दशकदेखि जापानको जनसंख्या घटिरहेको छ। सन् २०१९ मा जापानमा जति बच्चा जन्मिए, त्यसभन्दा ५ लाख बढी मानिसको मृत्यु भयो। सन् २०६० मा गएर जापानको जनसंख्या एक तिहाइले घट्ने प्रक्षेपण गरिएको छ। जनसंख्याका कारण जापानी अर्थतन्त्रमा श्रमशक्तिको अभाव भएपछि उनले त्यसलाई बढाउन विभिन्न प्रयोग गरे। महिलाहरूलाई काममा लाग्न प्रोत्साहित गरे। उनको कार्यकालमा काम गर्ने महिलाहरूको संख्या करिब ७३ प्रतिशतसम्म पुग्यो, जुन इतिहासकै उच्च थियो।

त्यस्तै, आप्रवासी कानुनमा सुधार गरी विदेशीहरूलाई ल्याएर काममा लगाउने वातावरण बनाए। त्यस्तै, अति नै धेरै काम गर्नुपर्ने जापानी संस्कारलाई अलि सहज बनाए। जनसंख्या घट्नु समस्या हो भन्ने बुझेका आबेले सन्तान जन्माउँदा सुविधाहरू दिने व्यवस्था ल्याए। बच्चाको हेरचाह र शिक्षाका लागि सुविधाहरू ल्याए। 

आबेनोमिक्सले काम गर्यो त? 

Capture.PNG


राजनीतिक रूपमा आबेनोमिक्सलाई सफल कार्यक्रमका रूपमा प्रचार गरिएको छ। सन् २०१५ देखि २०१७ को बीचमा आठ त्रैमाससम्म जापानको अर्थतन्त्र वृद्धि भयो, जुन ३० वर्षपछि पहिलोपटक भएको थियो। जापानको बेरोजगारीदर ३ प्रतिशतभन्दा तल झर्‍यो। जापानको श्रमशक्तिमा महिला सहभागिता उल्लेखनीय रूपमा बढेको छ। त्यति मात्रै होइन, त्यहाँको श्रमबजारमा आप्रवासी श्रमिकहरूको संख्यामा पनि ठूलो बढोत्तरी भएको छ। नेपालीहरूकै संख्या जापानमा ठूलो मात्रामा बढेको छ। 
आबेनोमिक्सले कारण ठूला जापानी कम्पनीले निकै लाभ लिए। जापानी शेयरबजार तीव्र रूपमा बढ्यो, जापानी येन कमजोर भयो, जसले निर्यातकर्तालाई लाभ भयो। जापानको निर्यात बढ्यो। उनले प्रधानमन्त्री हुँदा जुन अवस्थामा जापानी अर्थतन्त्र सम्हालेका थिए, त्यो भन्दा निकै सबल स्तरमा पुर्याएको श्रेय उनलाई दिइएको छ। 

आबेनोमिक्स शुरु हुनुबित्तिकै जापानी शेयर बजार टोपिक्स २२ प्रतिशतले बढेको थियो। ‘सन् २०१२ तुलनामा हाल जापानको कुल गार्हस्थ्य उत्पादन (नोमिनल जिडिपी) ४ सय ८४ खर्ब जापानी येनले बढेको छ। जापानको श्रमबजारमा महिला कामदारको संख्या ३३ लाखबाट ४४ लाख पुगेको छ। कर्पोरेट क्षेत्रको करअघिको आय ४२१ खर्ब येनले बढेको छ, बेरोजगारी दर २ दशमलव ४ प्रतिशतमा झरेको छ (यो ३ प्रतिशतमुनि हुनुलाई ठूलो सफलता मानिन्छ) । गैरआवासीयहरूले गरेको निजी लगानी १६२  खर्ब येनले बढेको छ भने सरकारको कर आय १६२ खर्ब येनले बढेको छ,’ जापान सरकारले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ।

तर, आबेनोमिक्स सम्पूर्ण रूपमा सफल भयो भन्न सकिन्न। आबेले सन् २०२० मा जापानको अर्थतन्त्र ६ हजार खर्ब येनको बनाउने लक्ष्य लिएका थिए, त्यो आजसम्म पनि पूरा हुन सकेको छैन। आजको दिनमा जी सेभेन मुलुकमध्येमा जापानको गरिबीको दर अमेरिकापछि दोस्रो उच्च छ। जापानमा कामदारको वार्षिक औसत आम्दानी सन् १९९१ देखि अहिलेसम्म पनि ४० हजार अमेरिकी डलरभन्दा कममै स्थिर भएर बसेको छ। कोभिड-१९ पछि सन् २०२० को शुरुमा जापानी अर्थतन्त्रलाई पुनः मन्दीमा जानबाट बचाउन नसकेको भनेर आबेको आलोचना भएको छ।

यद्यपि, जापानको केन्द्रीय बैंक बैंक अफ जापानका गभर्नर हारुहिको कुरोदाले जापानलाई धेरै लामो समयको संकुचनबाट दिगो आर्थिक वृद्धिको बाटोमा डोर्‍याउन सिन्जो आबेले निकै ठूलो योगदान गरेको बताएका छन्। भविष्यमा आबेलाई राजनीतिक रूपमा अत्यन्तै लोकप्रिय नेतामात्रै होइन, आफ्नै नामबाट राखिएको आर्थिक पुनरुत्थान प्याकेज ‘आबेनोमिक्स’का लागि संसारले सम्झनेछ।


प्रकाशित : आइतबार, असार २६ २०७९०१:४६
  • सम्बन्धित विषय:

  • # नेपाल
  • # Shinzo Abe


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend