शनिबार, मंसिर ८ गते २०८१    
images
images

हातमा बसेर फोटो खिच्न झुम्मिन्छन् पर्यटक 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १७ २०७९
images
images
हातमा बसेर फोटो खिच्न झुम्मिन्छन् पर्यटक 
images
images

मंगलबारे- पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन। तर नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न जार्ने पर्यटकबाट नै पुष्टि हुन्छ। जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो (भर्‍याङ) निर्माण गरिएको छ। उक्त लिस्नोबाट चढेर हत्केलामा पुगी तस्वीर खिचाउनेको भीड नै लाग्ने गरेको छ।

images
images
images

इलाम बजार नजिकै रहेको इलाम चियाबारीको लभडाँडा भन्ने स्थानमा यो हात निर्माण गरिएको हो। चियाका लागि यो ठाउँ ऐतिहासिकसमेत मानिन्छ। नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएका कारण पनि यो स्थान ऐतिहासिक मानिन्छ। हुन त यहाँ हातमात्र निर्माण भएको छैन। पर्यटकीय पूर्वाधारसमेत निर्माण गरी आकर्षक बनाइएको छ।

images

ऐतिहासिक चियाबगान र सुन्दर हरियाली अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गरेका छन्। साथै नजिकै रहेको नेपालकै पहिलो उद्योग (चिया कारखानासमेत नजिकै छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चिया खेतीको इतिहास बोकेको इलाम चिया बगानमा घुम्न आउने पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण गरिएको छ। नेपालको पहिलो चिया बगान र कारखाना क्षेत्र घुम्न आउने पर्यटकको थप मनोरञ्जनका लागि इलाम नगरपालिकाले पूर्वाधार निर्माण गरेको हो।

images

यही चियाबारीमा हातसमेत निर्माण भएपछि अझ बढी पर्यटक यहाँ पुग्ने गरेका छन्। चिया बगानभित्रका खुला क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिँदै आएको छ। नगरपालिकाले बगान क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको हो। बजार क्षेत्रको चिया बगान, भालुढुङ्गा, भ्यूटावर, लभडाँडा क्षेत्रमा पर्यटक पूर्वाधार निर्माण गरिएको छ। नगरको विकासका लागि पर्यटकीय क्षेत्रको समेत विकास हुनुपर्ने भएकाले आगामी दिनमा नगरपालिकाले यसतर्फ आफ्ना योजना अगाडि बढाउने नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए।

चिया बगान क्षेत्रको लभडाँडा क्षेत्रमा नेपालमा चियाखेती सुरुआत गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमासहित पूर्वाधार निर्माण गरिएको छ। गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाका ज्वाइँ थिए। इलाम चिया बगान क्षेत्रमा नगरपालिका–७ का वडाको पहलमा खुला जिमहाउससमेत सञ्चालन गरिएको छ।

जिमहाउसमा दैनिक पर्यटक र इलाम बजारवासीले व्यायाम गर्दै आएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए। चियाबारी क्षेत्रमा पर्यटकसँगै बजारवासी, निजामती कर्मचारीलगायत यहाँ बस्ने मानिस दैनिकरूपमा बिहानपख (मर्निङवाक) र साँझपख (इभिनिङवाक)का लागि जाने गरेका छन्। उनीहरूलाई नै लक्ष गरेर खुला जिमहाउस सञ्चालन गरिएको हो। खुला जिमहाउस चिया बगानको माथि धुराबस्ती क्षेत्रमा निर्माण गरिएको छ।

बगान क्षेत्रका खुला ठाउँको पहिचान गरी पर्यटन पूर्वाधार र खुला जिमहाउस निर्माणले नगरपालिकावासीलाई भ्रमण गर्ने बानीको विकास गराइ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरपालिका योजना छ। नगरपालिकाले खुला जिमहाउससहित पर्यटन पूर्वाधार निर्माणपछि चिया बगान भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो।

नयाँ र आकर्षक केन्द्र निर्माणले यहाँ हाल पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ। इलाम पर्यटकीय जिल्लाका रूपमा नै परिचित छ। यहाँ रहेका पर्यटकीयस्थलमा अब कृत्रिम पर्यटकीय पूर्वाधारसमेत निर्माण हुँदै जाने हो भने आकर्षण थपिँदै जाने थियो। यसका लागि प्रदेश र केन्द्र सरकारले समेत लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ थियो। पानीको मुहान संरक्षण गरे हरियाली बढ्ने भएकाले यसतर्फ समेत ध्यान पुर्‍याउन आवश्यक रहेको स्थानीयवासीले बताउँदै आएका छन्। रासस


प्रकाशित : शुक्रबार, असार १७ २०७९१२:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend