मंगलबार, वैशाख २५ गते २०८१    
images
images

कहिलेसम्म विस्थापित गर्ला विद्युतीय चुलोले एलपी ग्यास? 

५ जनाको परिवारलाई खाना बनाउन ग्यास १७ रुपैयाँको खर्च हुन्छ, इन्डक्सन चुलो प्रयोग गर्दा ११ रुपैयाँ ७७ पैसामात्रै

images
images
images
कहिलेसम्म विस्थापित गर्ला विद्युतीय चुलोले एलपी ग्यास? 

एक गैरसरकारी संस्थाको अध्ययनले सहरी क्षेत्रमा तत्काल नै ८० प्रतिशतसम्म ग्यासको प्रयोग घटाउन सक्ने देखाएको छ।

images
images

काठमाडौं- सरकारले खाना बनाउने एलपी ग्यास विस्थापित गर्दै विद्युतीय चुलोको प्रयोग बढाउने नीति लिएको छ। आगामी साउनभित्रै सिंहरदबारबाट ग्यास विस्थापन गर्ने योजना सरकारको छ। के तत्कालै भान्छाबाट ग्यास विस्थापन गरी इन्डक्सन र इन्फ्रारेड चुलो प्रयोग गर्न सहज छ? 

images
images
images

एक गैरसरकारी संस्थाको अध्ययनले सहरी क्षेत्रमा तत्काल नै ८० प्रतिशतसम्म ग्यासको प्रयोग घटाउन सक्ने देखाएको छ।

images

ग्यासको विकल्पमा मुख्यतः ३ प्रकारका विद्युतीय उपकरण प्रयोग गर्न सकिने अध्ययनले देखाएको छ। यसबाहेक अन्य विद्युतीय उकरण भान्छामा प्रयोग गरेर ग्यासको प्रयोग घटाउँदै जान सकिने देखिन्छ।

images

ग्यासको विकल्पमा मुख्य त भान्छामा इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसक कुकर उपयुक्त हुने अध्ययनले देखाएको छ। तर यसका लागि सबैभन्दा पहिले घरमा जोडिएको बिजुलीको क्षमता र वायरिङको विषय महत्पपूर्ण हुन्छ।

images
images

ग्यासको तुलनाका कुन उपकरण प्रयोगको लागत कति?

ग्यासको तुलनामा उल्लिखित तीनवटै विद्युतीय उपकरण प्रयोग गर्दा निकै कम लागत लाग्छ। जनताका लागि उर्जा तथा वातावरण विकास संस्था (पीडा)ले गरेको अध्ययनअनुसार सबैभन्दा खाना पकाउँदा सबैभन्दा कम लागत इलेक्ट्रिक प्रेसर कुकरमा पर्छ । त्यसपछि इन्डक्सन र इन्फ्रारेड आउँछन्। ५ जनाको परिवारलाई भात, दाल र मासु पकाउँदा कुनमा कति लागत पर्छ हेरौँ :

ग्यास प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ र बिजुली प्रतियुनिट १० रुपैयाँलाई लिएर लागत हिसाब गर्दा पाँच जनाको परिवारलाई एक छाक भात, मासु र दाल बनाउन १७ रुपैयाँको ग्यास खर्च हुन्छ। तर इन्डक्सन चुलो प्रयोग गर्दा ११ रुपैयाँ ७७ पैसा मात्रै पर्ने पीडाकै अध्ययनले देखाएको छ। सोही खाना इन्फ्रारेड चुलोबाट पकाउँदा १२ रुपैयाँ ६० पैसा र इलेक्ट्रिक प्रेसर कुकरबाट बनाउँदा ६ रुपैयाँ २७ पैसा मात्रै खर्च हुने अध्ययनले देखाएको छ।

बिजुलीको मिटरको क्षमता बढाउनुपर्छ कि सोच्नुहोला

इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसर कुकर प्रयोग गर्न न्यूनतम १५ एम्पियरको विद्युत् क्षमताको मिटर जडान गरेको हुनुपर्छ। शहरी क्षेत्रका घरमा १५ एम्पिएरको बिजुली गरिने भएपनि ग्रामीण क्षेत्रमा अहिले पनि ५ एम्पियर क्षमताको बिजुली जडान गर्ने गरिन्छ। त्यसो हुँदा गाउँहरुमा तत्काल विद्युतीय चुलो प्रयोगमा ल्याउन कठीन छ।

प्राधिकरणले मिटरको क्षमता निःशुल्क रुपमा बढाउन पाउने सुविधा दिएको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी छैन।

अर्को नेपालको बिजुली वितरण प्रणालीमा नै समस्या छ। अधिकाश ग्रामीण क्षेत्रमा मात्रै होइन शहरमा पनि वितरण प्रणालीले ठूलो मात्रामा विद्युत उपभोग धान्दैन। अहिले पनि हावा हुरी चल्दा तथा भारी वर्षा हुँदा बिजुली जाने समस्या समाधान हुन सकेको छैन।

विद्युतीय चुलोका लागि भाँडा महँगो

इन्डक्सन चुलोका लागि विशेष प्रकारका भाँडा आवश्यक पर्छ, जुन केही महँगो हुन्छ । मध्यम वर्ग र उच्च वर्गका परिवारले चुलो तथा भाँडा खरिद गर्न सक्ने भए पनि तर गरिबीको रेखा मुनी रहेका र निम्न वर्गका परिवारलाई एकै पटकमा ती भाँडा खरिद गर्न सरकारले सहुलियत  दिनुपर्ने छ।

शहरी क्षेत्रमा भाडामा बस्नेका लागि घरबेटीले लिन बिजुलीको शुल्क प्रतियुनिट १५ रुपैयाँसम्म लिन्छन्। यो रेटमा विद्युतीय चुलो प्रयोग गर्दा ग्यासको तुलनामा सस्तो नपर्ने पनि अध्ययनले देखाएको छ।

विद्युतीय चुलोको उपलब्धता र मूल्य

भान्छामा ग्यासको विकल्पमा इन्डक्सन चुलो, इन्फ्रारेड चुलो, राइसकुकर, इलेक्ट्रिक प्रेसर कुकुर, विद्युतीय ओभन, माइक्रो ओभन, तातो प्लेट, स्लो कुकर लगायत दर्जन भन्दा विद्युतीय उपकरण प्रयोग गर्न सकिन्छ।

तर, भान्छामा ग्यासको विकल्पमा मुख्य त ३ वटा चुलो प्रयोगलाई प्रमुख रुपमा हेरिएको छः इन्डक्सन, इन्फ्रारेड र इलेक्ट्रिक प्रेसर कुकर। भान्छामा राइसकुकरको प्रयोग भने पहिले देखि नै भएको छ। 

अहिले बजारमा  २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका विभिन्न ब्रान्डका इन्डक्सन चुलो पाइन्छन्। सरकारी व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समेत ४ हजार रुपैयाँमा नै १९०० वाटको इन्डक्सन चुलो बिक्री गरिरहेको छ। २०७२मा भारतीय नाकबन्दीपछि ग्यासको अभाव भएको बेलामा पनि कम्पनीले इन्डक्सन चुलो बिक्री गरेको थियो। 

यसैगरी बजारमा ३ हजार ५ सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्मका इन्फ्रारेड चुलो  पाइन्छन् भने इलेक्ट्रिक प्रेसर कुकर भने अलि मंहगो छ। बजारमा सामान्यत ६ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्ममा नै इलेक्ट्रिक प्रेसर कुकर पाइन्छन्।

कुन चुलोले कसरी काम गर्छ?

इन्डक्सन चुलो

परम्परागत रुपमा प्रयोग भइरहेका चुलो र इन्डक्सन चुलोमा खाना पाक्ने प्रक्रिया एउटै देखिए पनि अन्य प्रविधि र इन्डक्सन चुलोमा बसालिने भाडाले ताप प्राप्त गर्ने प्रक्रिया आधारभुत रुपमा फरक हुन्छ। ग्यास, विद्युतीय हिटरजस्ता चुलोले सिधै आगोको तापले भाडा तताई खाना पकाउँदछन्।  तर इन्डक्सन चुलोमा चुम्बकिय आकर्षणको माध्यमबाट भाडा तात्ने गर्दछ। चुम्बकीय आकर्षणबाट भाडा तात्ने भएको हुनाले यो किसिमको चुलोमा खाना पकाउँदा विशेष किसिमको भाडाहरु चाहिन्छ। 

इन्फ्रारेड चुलो

इन्फ्रारेड चुलोले भाडा तताउने प्रक्रिया परम्परागत चुलो जस्तै हो। परम्परागत चुलोमा आगोको तापले भाँडा तातेजस्तै इन्फ्रारेड चुलोमा विद्युत आपुर्ति भएपछि यसमा रहेका क्वोइल तातेर यसमा बसालिएको भाडामा तापको प्रसारण हुन्छ। इन्डक्सन चुलोमा खाना पकाउनका लागि चुम्बकीय शक्ति ग्रहण गर्न सक्ने विशेष भाडा चाहिन्छ भने इन्फ्रारेडमा समथल पिँध भएका जुनसुकै भाडामा खाना पकाउन सकिन्छ।

इलेक्ट्रिक प्रेसर कुकर

यो कुकर सबै प्रकारको पकवान बनाउने मिल्ने विद्युतीय उपकरण हो। यसलाई मल्टिकुकर पनि भनिन्छ। यसमा खाना पकाउन, उमाल्न, तार्ने, बफाउन र सुख्खा खाने कुरा बनाउन मिल्छ। 

सबैभन्दा पहिला सिंहदरबारबाट ग्यास बिस्थापन गर्ने सरकारी लक्ष्य

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत सरकारले एलपी ग्यास छोडौं, विजुली जोडौं भन्ने अभियान सञ्चालन गर्ने उद्घोष गरेको छ। अभियान सञ्चालन सरकारले सबैभन्दा पहिलो सिंहदरबारबाटै सुरु गर्ने लक्ष्य समेत लिएको छ।

आगामी साउन महिनाभित्रै सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने नीति सरकारले लिएको छ।

साथै क्रमश ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने सरकारले घोषणा गरेको छ।

सरकारले खाना पकाउने इन्धनको रूपमा प्रयोग हुने दाउरा, गुइँठा र एल.पि.ग्याँस लाई प्रतिस्थापन गर्न वायोग्यास, विद्युतीय चुलो, सुधारिएको चुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापक रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। सोही अनुरुप सरकारले करीब १ लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पुयाइने उद्घोष गरेको छ। साथै एलपी ग्याँसमा प्रदान हुँदै आएको अनुदान क्रमशः कटौती गरी विद्युत उपयोगमा अनुदान प्रदान गर्ने नीति सरकारले लिएको छ।

बिजुली पुग्ला त ग्यास विस्थापनलाई?

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा देशभरी सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित हाइड्रो पावरहाउसबाट २ हजार ८६ मेगावाट विद्युत उत्पादन भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्मा २३ सय मेगावाट बिजुली उत्पादन हुने सरकारको अनुमान छ। साथै आगामी आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्मा ३ हजार १५ मेगावाट बिजुली उत्पादन हुने सरकारी अनुमान छ। 

यसरी उत्पादन भएको बिजुली वर्षा सिजनमा बिक्री गर्न सकिने अवस्थामा पुगे पनि सुक्खायाममा भने भारतबाट नै आयात गरेर बिजुली दिनु पर्ने अवस्था छ। 

चालु आथिक वर्षकै चैतमा भारतबाट बिजुली खरिद गर्न नपाउँदा उद्योगमा अघोषित लोडसेटिङ समेत भएको थियो।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म १ हजार ४ सय ९० गिगावाट घण्टा बिजुली आयात हुने अनुमान गरेको छ।  तर यसलाई आगामी आर्थिक वर्षको अन्त्यसम्ममा ७ सय ५४ गिगा वाट घण्टामा झार्ने लक्ष्य लिएको छ। 

सरकारी तथ्यांकअनुसार नै कुल जनसंख्याको ९२.४ प्रतिशतमा विद्युत पहुँच पुगको छ भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा ९३ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। साथै आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुर्याउने सरकारी लक्ष्य छ।  

साथै विद्युतको खपत प्रतिव्यक्ति २७० युनिट रहेको छ। यसलाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ सय ८५ र आगामी आर्थिक वर्षको अन्त्यसम्ममा ३ सय ५० युनिट पुराउने लक्ष्य लिएको छ।

तर विद्युत पहुँच पुगेको सबै ठाउँमा ग्यास, दाउ तथा गुइठा प्रतिस्थापन गरी विद्युतीय चुलो प्रयोग गर्न सक्ने अवस्थामा सबै घरमा संरचना नबनेको विद्युत प्राधिकरण आफैले स्वीकार गर्दै आएको छ।

तर संरचना बनाउने विषय विद्युत प्राधिकरणले सहयोग भने गर्ने बताउँदै आएको छ।  शहरी क्षेत्रबाहेक ग्रामिण क्षेत्र अधिकांश घरमा ५ एम्पियर क्षमता विद्युत  जडान गरिएको छ। कतिपयले घरमा विद्युतीय उपकरण प्रयोग गर्न सक्ने संचना जडान गरे पनि अधिकांश घरको वाइरिङ पनि ठुलो क्षमताको विजुली धान सक्ने छैन। ग्यास, दाउँरा, गुइठा लगायतका इन्धनको विकल्पमा विद्युती उपकरण प्रयोग यसकारण शहरी क्षेत्रबाट नै थालनी गर्नु पर्ने सरकारलाई बाध्यता छ।

सोहीअनुसार विद्युत प्राधिकरणले पनि अहिले  विद्युत क्षमता बढाउन चाहने उपभोक्तालाई निशुल्क सेवा दिँदै आएको छ। सोहीअनुसार उपभोक्ताले पनि क्षमता बढाइरहेका छन्।

images

प्रकाशित : बुधबार, असार १५ २०७९०५:०२
  • सम्बन्धित विषय:

  • # इन्डक्सन चुलो
  • # विद्युतीय चुलो
  • # ग्यास


  • प्रतिक्रिया दिनुहोस