शुक्रबार, जेठ ४ गते २०८१    
images
images

अर्थमन्त्री र गर्भनरको चेपुवामा सेयर बजार, लगानीकर्ता सडकमा

images
मंगलबार, जेठ ३१ २०७९
images
images
अर्थमन्त्री र गर्भनरको चेपुवामा सेयर बजार, लगानीकर्ता सडकमा
images
images

काठमाडौं- यतिबेला लगानीकर्ता सेयर किनबेचमा हाेइन सडक आन्दाेलनमा छन्। उनीहरू आफ्नाे लगानी सुरक्षाका लागि भन्दै सडकमा आएका हुन्। लगानीकर्ताको आन्दाेलनको चेपुवामा ब्रोकर कम्पनी परेका छन्। ब्राेकर कम्पनीमा सन्नाटा छाएको छ।

images
images
images

ब्राेकर कम्पनीमा कुर्ची खाली छन्। लगानीकर्ता सडकमा छन्। दैनिक घट्दाे बजारमा कारण लगानीकर्तामा निराशा छाएको छ। निराश पनि किन नहाेस्, लगानीकर्ताले प्राय सबै कम्पनीमा ५० प्रतिशतभन्दा बढी लगानी गुमाइसकेका छन्।

images

पछिल्लो समय सेयर बजार १७ महिनाअघिको नजिक बिन्दुबाटै ओरालो लागेपछि लगानीकर्ताको संगठन एकजुट हुुन पुुगेका हुन्। नेप्से सूचक अघिल्लो वर्षको भदौ दुई गते ३१ दशमलव ९८ बिन्दुमा पुगेको थियो। त्यसपछि बजार निरन्तर घटिरहेको छ।

images
images

उच्च बिन्दुमा पुग्दा २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो। तर अहिले सदर २/३ अर्ब रुपैयाँकाे मात्रै काराेबार छ।

images
images

नेप्से सूचक बढीरहेको समयमा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाले ५२ वटा कम्पनीहरूको लगानीका लागि जोखिम रहेको भन्दै सूची सार्वजनिक गरिएको भोलिपल्टदेखि सेयर बजारमा निरन्तर गिरावट आउँदा लगानीकर्ताले आजको मितिसम्म आइपुग्दा ११ सयभन्दा बढीले लगानी जोखिममा राखेका छन्। लगानीकर्ता यतिबेला त्यहि कदमदेखि नै सरकारको विरोध गर्दै आइरहेका छन्।  

लगानीकर्ताको आन्दोलन निरन्तर 

कम्पनीहरूको सूची सार्वजनिक भएदेखि नै लगानीकर्ता नियामक निकायसँग असन्तुष्टी पोख्दै आएका छन्। बीचमा आन्दोलन गरे पनि लगानीकर्ताहरूबीच नै एकरुपता आउन नसकेपछि त्यतिबेलाको आन्दोलन तुहिन पुुगेको थियो।

पुँजी बजारमा लगानीको वातावरण बनाउन माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार विकास समिति, नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, नेपाल धितोपत्र लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार संघले पुँजी बजार सुधार संघर्ष समिति मार्फत उठाएका १९ बुँदे माग पूरा गर्न एकतावद्ध भएका हुन्।

संघर्ष समितिले उठाएका मागहरू तत्काल सम्बोधन गरी पुँजी बजारलाई विश्वासमा लिन र लगानीको बतावारण बनाउन लगानीकर्ताहरूका संघ संगठनहरूले संयुक्त माग गरेका हुन्।

नेप्से सूचक ३२ सयको उच्च बिन्दुबाट उकालो लाग्न सकेको छैन। ३२ सयको बिन्दुबाट निरन्तर झरेको बजार हाल घटेर दुई हजारको आसपासको बिन्दुमा आइपुगेको छ। यसबीचमा लगानीकताले धेरै नोक्सान व्यहोरेका छन्। पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको र लगानीकर्ताले राख्दै आएको माग सम्बोधन नगरेको आरोप लगानीकर्ताको छ।

माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने सेयर बजार दबाब समूहको महासचिव नयन बास्तोलाले जानकारी दिए। ‘धेरैपटक हामीले माग सम्बोधन गर्न अनुरोध गर्दा पनि भएन, अब वारपार गरेर अघि बढ्ने हो, आशा छ सरकारले कुरा सुन्छ’ बास्तोलाले भने।

संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरूले सरकारले तोकिएका कामहरू समयमै नगर्दा पुँजी बजारमा गम्भीर समस्या उत्पन्न भएकोले त्यसको समधानका लागि आन्दालेनमा उत्रिनु परेको जनाएका छन्।

लगानीकर्ताहरूलाई उत्तेजित र आक्रोशित पार्ने कार्य भएमा त्यसले देशको अर्थतन्त्रमा समेत गम्भीर क्षति पुग्ने लगानीकर्ताहरूको भनाइ छ। लगानीकर्ताहरूले राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको ४–१२ करोडको सीमा कर्जा हटाइनुपर्ने मुख्य माग राख्दै आएका छन्।

त्यस्तै नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले देशका अधिकांश क्षेत्रका नागरिक अहिले पुँजीबजारमा जोडिएकोले त्यसतर्फ सचेत रहन सम्बन्धित पक्षलाई समेट्नेगरी नीति ल्याइनुपर्ने बताए। ‘बोर्डले कहिले ५१ कम्पनीको सूची निकाल्ने, सीसीडी रेसियो हटाउने, ४–१२ को क्याप ल्याउने व्यवस्थाले पुँजीबजार प्रभावित भएको छ, सरकारले नसुनेसम्म आन्दोलन जारी राख्छौं,’ उनले भने।

त्यस्तै लगानीकर्ताले बोनसमा लाभांश कर हटाउन, पुँजीगत लाभकर कम गर्न, स्थिर ब्याजदर कायम गर्न, १९ बुँदे माग पूरा गर्नजस्ता माग गरेका छन्। प्रदर्शनमा ब्रोकर र मर्चेन्ट बैंकहरूले ऐक्यबद्धता जनाउँदै सहभागी भएका छन्।

अर्थमन्त्री र गर्भनरको चेपुवामा सेयर बजार

पुँजी बजारको क्षेत्रमा लगानीकर्ताहरूले सरकार र नियामक निकायमा प्रतिनिधित्व गर्ने व्यक्तिमा पनि सेयर बजारमा धेरै सोच फरक परेको छ।

अघिल्लो पटक नेप्से सूचक करिब ३२ सयमा पुग्दा अर्थमन्त्रीको पदमा विष्णु पौडेल रहेका थिए। एमालेको सरकारमा सकरात्मक भएको बजार सरकार परिवर्तन भएसँगै एकाएक गिरावट आएर १७ महिनाभन्दा बढीको न्यून बिन्दुमा आइपुग्यो। त्यसैले लगानीकर्ताहरू बजारप्रति अहिलेको सरकारलाई रुचिका साथ नहेरेको प्रष्ट पनि देखिन्छ।

बजार घट्नुमा धेरैले गर्भनर र अर्थमन्त्रीबीचको द्वन्द्वलाई समेत लिएर मौद्रिक नीतिमार्फत बजारलाई कस्ने काम भएको एक लगानीकर्ताले बताए। मन्त्री र गभर्नरबीचको सम्बन्धले बजारलाई घटाउने काम गरेको लगानीकर्ताले बताए। हुन पनि अर्थमन्त्रीको कुर्सीमा जनार्दन शर्मा बसेसँगै बजार निरन्तर ओरालो लागेको छ। 

अर्थमन्त्रीले सुुरुवातदेखि नै अनुत्पादक क्षेत्रमा लगानी बढाउन नसकिने भन्दै बजारलाई खसाल्ने काम गरेका थिए भने सरकार साझेदार दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजार साम्राज्यवादको उपज हो भन्दै आलोचना गरेका थिए।

लगानीको वातावरण बढाउन र सेयर धितोमा लाग्दै आएको सीमा कर्जा खारेज गर्न सरकार तयार नभएसम्म लगानीकर्ताहरूको आन्दोलन जारी रहने देखिएको छ। अहिले अर्थमन्त्रीलगायतले बजारको अवस्थामा सार्वजनिक भाषणहरूमा चिन्ता व्यक्त गरिरहेको भए पनि नीति निर्माणको तहमा बजारलाई सहज हुनेगरी काम भने गरेका छैनन्। 


प्रकाशित : मंगलबार, जेठ ३१ २०७९०९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend