काठमाडौं- कोभिड-१९ सँगै विश्वभर एयरलाइन्समार्फत हुने उडान बन्द भयो। नेपालबाट विदेशमा रोजगारीमा गएकाहरु अलपत्र परेपछि सरकारले चार्टर्ड उडानमार्फत उद्दार गर्ने निर्णय गर्यो।
रोजगारी गुमाएर अलपत्र परेका नेपालीको उद्धारको नाउमा रकम असुल गरेर एयरलाइन्सलाई बिजनेस दिन राजदूतावासदेखि पर्यटन मन्त्रालयसम्मलाई भ्याइ नभ्याइ भएको थियो।
सोहीअनुसार महँगो शुल्कमा नेपालीहरु स्वेदश आए। चर्को भाडा असुलेर ठगी गरेको आरोप लागेपछि सरकारले तत्कालिन समयमा छानबिन समितिसमेत गठन गरेको थियो। समितिले प्रतिवेदन बनायो तर सार्वजनिक नै गरिएन। महँगोमा टिकट बिक्री गर्नेहरुले खुलेआम आउने र जाने नेपाली वा विदेशीसँग मनपरी रकम असुल गरिरहे।
नियमित अन्तर्राष्ट्रिय उडानहरु बन्द रहँदा चार्टर्ड उडान भइरहेका थिए। त्यसमा यात्रुसँग निकै चर्को भाडा असुली भइरहेको गुनासो आएपछि सरकारले नियमित उडान खुला गरेको थियो। कोरोना संकटपछि सरकारले नियमित उडान खुला गरेको पनि एक वर्षभन्दा बढी भइसकेको छ।
अधिकांश स्थानबाट अहिले नियमित उडान हुने गरेको छ। तर कोरियाबाट आउने कोरियन एयर भने अहिले पनि चर्को भाडा असुलेर चार्टर्ड उडान गरिरहेको छ। नियमित उडानमा ७ सयदेखि ९ सय डलरसम्म पाइने टिकट अहिले चार्टर्ड उडानको नाममा १२ सयदेखि १८ सय डलरसम्म असुल गरिएको छ।
रोजगारीमा जाने नेपालीसँगै व्यवसायी र भिजिट भिषामा आउने/जानेहरुसँग भाडाका नाममा मोटो रकम १ वर्षदेखि असुल गरिएको छ। तर अझै पनि नियमित उडान गरिएको छैन। युनिभर्सल ट्राभल एजेन्ट र पर्यटनमन्त्री प्रेम आलेकै मिलोमतोमा चार्टर्ड उडान नरोकिएको स्रोतको दावी छ।
पर्यटनमन्त्री नियुक्त भएकै दिन चार्टर्ड उडानमा भएको भ्रष्टाचारको छानबिन गर्ने उद्घोष गरेका मन्त्री आलेकै मिलोमतोमा कोरियन एयरले हरेक दिन चार्टर्ड उडान गर्दै आएको छ। एयरलाइन्सले एयरबस-३३० जहाज मार्फत एकै उडानमा २७० जनाभन्दा बढी यात्रु बोकेर आउनेजाने गर्दछ। एकै उडानमा कम्तीमा ४ लाख ८६ हजार डलर असुल गर्ने गरेको छ। तर नियमित हुँदा उक्त रकम घटेर २ लाख १६ हजार डलर मात्रै आम्दानी गदर्छ। ‘सबैको मिलोमतोमा दोबरभन्दा बढी रकम असुल गर्न दिइएको छ,’ स्रोतले भन्यो।
सरकारले नेपाल नागिरक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। महानिर्देशक पोखरेलसहित उड्डयन मन्त्रालयका उपसचिव नरहरि घिमिरे, प्रहरी निरीक्षक चन्द्रकिशोर साह, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्ण, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालसहित पाँच सदस्यीय समितिले अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियाे। तर साे प्रितवेदन सार्वजिनक नै गरिएन।
नेपालमा कोरोनाको दोस्रो लहर फैलन थालेको भन्दै सरकारले २०७८ बैशाख २४ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको थियो। नियमित उडान बन्द गरेर सरकारले मागका आधारमा केही देशमा चार्टर उडानको अनुमति दिएको थियो।
पहिलेको समितिले बुझाएको प्रतिवेदनलाई थन्क्याएर मन्त्री आलेको निर्देशनमा मन्त्रालयले माघ १० गते ७ दिनको समय दिएर पुनः सोही विषयमा छानबिन गर्न अर्काे समिति गठन गरेको थियो।
चार्टर्ड उडानमा बढी भाडा लिएको विषयमा मन्त्रालयमा हालसम्म यात्रुहरुले गुनासो गर्ने गरेको भन्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा समिति गठन गरिएको थियो। मन्त्रालयको निर्देशनका आधारमा २०७७ असार ७ गते पहिलाेपटक महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
उक्त समितिले हवाई भाडा महँगो भएको सम्बन्धमा २५ वटा उजुरी परेको भन्दै उजुरीमध्ये सबैभन्दा धेरै कतार एयरवेजले गरेको चार्टर्ड उडानको विषयमा उजुरी परेको उल्लेख गरेको थियो। २५ उजुरीमध्ये कतार एयरवेजको १६, टर्किस एयरलाइन्सको ७ र हिमालय एयरलाइन्सको विरुद्ध २ वटा तथा काेरियन एयर विरुद्धसमेत उजुरी परेको थियो।
यस्ता उजुरीमध्ये तोकिएभन्दा बढी भाडा लिएको भन्दै कतार एयरवेजको चार्टर उडानको टिकटका सम्बन्धमा ९ वटा, टर्किस एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकटका सम्बन्धमा २/२ वटा उजुरी परेका थिए। सो समितिले आफ्नो प्रतिवेदनमा तोकिएभन्दा बढी भाडा असुल गरेको भन्दै ३ वायुसेवा कम्पनीलाई भाडाको सम्बन्धमा थप अध्ययन गरेर कारबाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिस गर्नुपर्ने उल्लेख गरेको थियो। तर कार्यन्वयनै नभइ निष्कृय भएको थियो।
पर्यटन मन्त्री आलेले विगतकालाई कारबाही गर्नुको सट्टा युनिभर्सल ट्राभल एजेन्टसँग मिलेर कोरियन एयरलाई अहिलेसम्म पनि चार्टर्ड उडान गर्न दिइरहेका छन्। यत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले भने अहिलेसम्म चार्टर्ड गरिरहेको र अब आउने जुलाईदेखि भने नियमित उडानको तयारीमा रहेको बताए। ‘अहिलेसम्म चार्टर्ड नै गरिरहेको छ, अब भने नियमित उडान गर्दैछ,’ ठाकुरले भने।