काठमाडौं- तरलता अभाव र बैंकहरुले लगानी गर्न छाडेपछि निरन्तर घटिरहेको घरजग्गा कारोबार आउने बजेटसँगै झनै सुस्ताउने देखिएको छ।
गत बैशाखमा चैतमा भन्दा ४० प्रतिशतले कमी आएको थियो। सरकारले अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचमा कडाइ गर्ने गरी नीति तथा कार्यक्रममा राखेपछि बजेटपछि घरजग्गा कारोबार सुस्ताउने मात्रै होइन ठूला लगानीकर्ताहरुले बिक्री गरेर बाहिरन थाल्ने अनुमान समेत गरिएको छ।
संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति भण्डारीले घरजग्गा किनबेच विशिष्टिकृत संस्थाबाट मात्र गर्ने व्यवस्था मिलाइने बताएकी थिइन्।
सरकारले भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ। अहिले घरजग्गा कारोबारीहरुले जथाभावी घरजग्गाको मूल्य तोक्दा घरजग्गाको थाम्नै नसक्नेगरी मूल्य वृद्धि भइरहेको छ। सरकारले ल्याउने नीतिले घरजग्गामा भइरहेको अनौपचरिक लगानीसमेत हतोत्साहित हुने देखिन्छ। जसका कारण पनि घरजग्गाको कारोबार र मूल्यमा समेत असर पार्ने निश्चित देखिएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा काराबोर गर्ने व्यवस्था मिलाइने छ।’ अहिले व्यक्ति तथा संस्था सबैले घरजग्गा किनबेच गर्न पाउने अवस्था छ।
सरकारले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा जग्गा जमिनको खरिद बिक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउन ‘ल्यान्ड मार्केट’ कार्यान्वयनमा ल्याउने उल्लेख गरेको थियो। ल्यान्ड मार्केट निजी क्षेत्रले पनि सञ्चालन गर्न पाउने व्यवस्था थियो। तर अहिलेसम्म कार्यन्वयन भने हुन सकेको छैन।
नीति तथा कार्यक्रमअनुसार ल्यान्ड मार्केट स्थापनाका लागि भूमि मन्त्रालयले समिति बनाएर अध्ययन समेत गराइसकेको छ। सो अध्ययनले सेयरको कारोबार हुने जस्तै गरी जग्गा जमिन काराबोर हुने बजार स्थापना गर्न सुझाव दिएको छ ।
अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचलाई औपचारिक माध्यममा ल्याउन अध्ययन गरिए पनि अहिलेसम्म कार्यान्वयनका लागि कुनै पहल भएको छैन। अब सरकारले लिने नीतिले सुधार हुने अपेक्षा गरिएको छ।
पुँजीगत लाभकर बढाउने
घरजग्गा कारोबारमा थप कडाइ गर्ने मुडमा सरकार पुगेको छ। पुँजीगत लाभकर बढाउने, बैंकहरूलाई लगानी गर्न प्रतिबन्ध लगाउने तथा आम्दानीको स्रोतमा थप कडाइ गर्ने तयारी गरेको छ। पछिल्लो सयय घरजग्गा कारोबारमा ४० प्रतिशत गिरावट आएको छ।
अहिले पाँच वर्षभन्दा बढी स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा २.५ प्रतिशतका दरले र सोभन्दा कम समय स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा ५ प्रतिशतले पुँजीगत लाभकर लाग्दै आएको छ। अहिलेको २.५ लाई ५ प्रतिशत र ५ प्रतिशतलाई ७ देखि १० प्रतिशतसम्म बनाउने तयारी गरेको छ।
चैत महिनामा उत्साह देखिएको घरजग्गा कारोबार बैशाखमा भने ब्रेक लागेको छ। आर्थिक संकट आउने भन्दै चर्चा चलरिहेका बेला चैत महिनामा पनि कारोबार उच्च भएको थियो।
चैत महिनामा ७० हजार ८२९ वटा घरजग्गा कारोबार भएको थियो। नयाँ वर्षसँगै चुनावी माहोलले पनि घरजग्गा कारोबारमा उत्साह आएको छैन। तरलता अभावका कारण बैंकहरूले घरजग्गामा लगानी गर्न छाडेपछि बैशाखमा घरजग्गामा कारोबार ४४ हजार वटामा सीमित भएको छ।
बैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवाप्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।