आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी, कुन शीर्षकमा कति छ कर?

images
मंगलबार, जेठ १० २०७९
images
पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी, कुन शीर्षकमा कति छ कर?
images
images

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य अत्याधिक वृद्धि भएपछि सरकारले तत्कालका लागि पेट्रोलियममा लागिरहेको पूर्वाधार कर हटाउने तयारी गरेको छ।

images
images
images

इन्धन संकटका कारण विश्वभर मूल्यवृद्धिको प्रभाव परेसँगै नेपाल जस्ता देशहरू मारमा परेका छन्। हाल सरकारले पेट्रोलिय पदार्थमा पूर्वाधार करवापत प्रतिलिटर १० रुपैयाँ लिँदै आएको छ। छिमेकी भारतले नागरिकलाई महँगीको मार नपरोस् भनेर इन्धनमा कर घटाएको छ। 

images
images

निजी क्षेत्र र उपभोक्ता अधिकारकर्मीहरूले समेत करमा केही कटौती गरेर इन्धनको मूल्य घटाउन माग गर्दै आएका छन्। तत्काल इन्धनको मूल्य घटाउन सकिएन भने मूल्यवृद्धि थाम्नै नसक्नेगरी बढ्ने भन्दै केही समय कर घटाउन माग भएको छ।  

images
images

नेपाल आयाल निगमले १ सय १७ रुपैयाँ १८ पैसामा किनेको पेट्रोल जनतालाई १ सय ८० रुपैयाँमा बेच्दै आएको छ। सरकारले आइतबार पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटरमा १० रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यास सिलिन्डरमा दुई सय रुपैयाँ बढाएको थियो।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर थपेका थिए। पछि सोही करलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ५ रुपैयाँ थपेर पूर्वाधार कर भन्दै प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो।

बालुवाटार स्रोतका अनुसार अहिले कर हटाउनेभन्दा पनि केही महिना उक्त करलाई स्थगन गर्ने र सहज भएपछि पुनः सुरु गर्नेगरी गृहकार्य भएको छ। यसमा अर्थ मन्त्रालयका अधिकारीहरू पनि सहमत भइसकेका छन्। सम्भवत बजेटमार्फत उक्त करको विषयमा सम्बोधन गराउने तयारी सरकारको छ। 

अहिले पेट्रोल प्रतिलिटर १ सय ८० तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पुगेको छ । हवाई इन्धन लिटरको एक सय ६३ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय पुर्‍याइएको छ। मूल्य १० दिनमा २० रुपैयाँ बढाइएपछि सर्वत्र सरकारको आलोचना भइरहेको छ। 

नेपालमा मूल्यवृद्धिभएकै समय भारतमा कर कटौती भएपछि नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएको छ। मूल्य कटौतीपछि भारतको बिहारमा पेट्रोलियम पदार्थको मूल्य १ सय ७१ रुपैयाँ ६० पैसा कायम भएको छ । त्यसअघि त्यहाँ पेट्रोलको मूल्य १ सय ८८ रुपैयाँ ८० पैसा थियो। त्यस्तै, डिजेलको मूल्य १ सय ५० रुपैयाँ ४६ पैसामा झरेको छ। यसअघि डिजेल प्रतिलिटर १ सय ६४ रुपैयाँ ७० पैसा थियो। भारतले ६ महिनामा पेट्रोलमा २१ र डिजेलमा २६ रुपैयाँ घटाएको छ। 

दुईपटक गरी भारतले पेट्रोलमा २० रुपैयाँ ८० पैसा (१३ भारु) र डिजेलमा २५ रुपैयाँ ६० पैसा (१६ भारु) अन्तःशुल्क घटाएको हो। भारतको केन्द्रीय सरकारले शनिबार मात्रै पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ८० पैसा (८ भारु)का दरले कर घटाएको छ। त्यस्तै, डिजेलमा ९ रुपैयाँ ६० पैसा (६ भारु)का दरले कर घटाउने घोषणा गरेको छ। एलपी ग्यासमा पनि भारतले ३ सय २० रुपैयाँ (दुई सय भारु) अनुदान दिने घोषणा गरेको छ।

नेपालमा कति छ कर?

नेपालमा पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा, एक सिलिन्डर ग्यासमा तीन सय २७ रुपैयाँ ३७ पैसा कर उठाउने गरिएको छ। त्यस्तै, डिजेलमा प्रतिलिटर ४५ रुपैयाँ ९१ पैसा र मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा उपभोक्ताले कर तिर्ने गरेको छन। पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्क गरेर २५ रुपैयाँ २३ पैसा असुल्ने गरेको छ।

त्यस्तै, सडक मर्मतसम्भार शुल्कका नाममा चार रुपैयाँ, प्रदूषण शुल्क एक रुपैयाँ २५ पैसा, पूर्वाधार कर १० रुपैयाँ, मूल्य अभिवृद्धि कर २० रुपैयाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क एक रुपैयाँ ८० पैसा उठाउने गरेको छ।

यसका अतिरिक्त ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बीमा खर्च, प्राविधिक नोक्सानी, विक्रेताको खर्च तथा नाफासमेत गरी १४ रुपैयाँ २३ पैसाको भार पनि उपभोक्तालाई थपिने गरेको छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९०६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend