बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

मंगलबार, कात्तिक १० २०८३
कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ।

सप्तरी- मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ।

मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्‍याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ। देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरु गाडा निर्विकल्प साधनको रुपमा प्रयोग भइरहेको पाइन्छ।

महदेवा गाउँपालिका-५ भगपतपुरका दशरथ मण्डल परम्परादेखि बैलगाडामा सामान आोसार्ने कामलाई अहिले पनि निरन्तरता दिइरहेको बताउँछन्। उनले भने, 'मलाई याद भएदेखि घरमा बैलगाडा छ। दुई दशक अघिसम्म पनि टोलको अधिकांशको घरमा दुई वटा गोरु र बैलगाडा अनिवार्य हुन्थ्यो। कतै यात्रा गर्न, सामान ओसार्न, जन्तीजान, बेहुली ल्याउन पनि बैलगाडाकै प्रयोग हुन्थ्यो।'

तराईका जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि हलो जोत्न, माटो सम्याउन, पराल दाइ गर्न बैल अर्थात गोरुकै  प्रयोग हुँदै आएको राजविराज नगरपालिका-१३ का किशुनदेव यादव बताउँछन्। सहरी र सुगम क्षेत्रमा भने प्रविधिको विकाससँगै खेत जोत्न, माटो सम्याउन, पराल दाइ गर्न ट्याक्टरको प्रयोग हुँदै आएको छ। 

उखु, धान, पराल, मल, रहरी, चना, तोरीलगायत कुटानी-पिसानीका बस्तु गोरु गाडामा राखेर ओसारपसार गर्ने कार्यले मधेसको ग्रामीण क्षेत्रको मौलिकता झल्केर दिने तिरहुत गाउँपालिका गोइठीकी मेरिना देव बताउँछिन्।

'परम्परादेखि चली आएको बैलगाडा विगतमा ग्रामीण क्षेत्रको ऐतिहासिक र महत्त्वपूर्ण  सवारीका रुपमा लिने गरिन्थ्यो। यसको प्रयोग खासगरी वर्षादको तुलनामा हिउँद महिनामा बढी प्रयोग गरिन्थ्यो', उनले भनिन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक १० २०८३१८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend