मंगलबार, असोज १ गते २०८१    
images
images

नेपाल एयरलाइन्सको बिजोक : आन्तरिक उडानमा दुई जहाज, चलाउन नसकेर एउटा भाडामा

दैनिक आधा आम्दानी गुमाउँदै

images
सोमबार, वैशाख ५ २०७९
images
images
नेपाल एयरलाइन्सको बिजोक : आन्तरिक उडानमा दुई जहाज, चलाउन नसकेर एउटा भाडामा

अझ उल्टो भएका दुईवटा जहाजबाट नेपाल एयरलाइन्सले नियमित उडान गर्न सकेको छैन। नेपाल एयरलाइन्सले एउटा जहाज निजी कम्पनीलाई चार्टरमा(भाडामा) दिएको छ। 

images
images

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर आएपछि प्रेम आलेले एउटा कुरा निकैपटक उच्चारण गरेका थिए। त्यो थियो 'निजी एयरलाइन्सले उडान नगर्ने नेपालका दुर्गम क्षेत्रमा नेपाल एयरलाइन्स मार्फत उडान गर्ने'। 

images
images
images

यसअघि नै सञ्चान नगर्ने भनिएका जहाज फेरि मर्मत गरेर चलाउने र त्यसका लागि नयाँ नेतृत्व ल्याइएको भन्दै आलेले भाषण गरेका थिए। निगमको महाप्रबन्धक डिमप्रकाश पौडेल हुँदाहुँदै युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष बनाएपछि आलेले केही समय यस्ता भाषण खुब गरे। 

आलेले यस्तो भाषण गर्नुका पछाडिको कारण थियो, उनले नियुक्त गरेका अध्यक्ष अधिकारी विवादित हुनु। नेपाल एयरलाइन्समै काम गरेर अवकाश भएका अधिकारी यौन दूराचारमा मुछिएका व्यक्ति थिए। तर आलेले त्यो विवाद थामथुम पार्नका लागि 'रुमानी कथा' र सपना फलाक्दै हिडेका थिए। 

अहिले आलेले आन्तरिक उडानको भाषण गर्न छाडेका छन् र नेपाल एयरलाइन्सको अवस्था झनै बिजोक भएको छ आन्तरिक उडानमा। न उनले घोषणा गरेजस्तो थन्किएका चिनियाँ जहाज उडानमा आएका छन् न भएको दुईवटा पूराना ट्विनटर जहाजबाट उडान भएको छ। 

images

अझ उल्टो भएका दुईवटा जहाजबाट नेपाल एयरलाइन्सले नियमित उडान गर्न सकेको छैन। नेपाल एयरलाइन्सले एउटा जहाज निजी कम्पनीलाई चार्टरमा(भाडामा) दिएको छ। 

पर्यटकीय गतिविधि नहुने पश्चिम नेपालका पहाडी गन्तव्यमा यो सिजनमा निजी एयरलाइन्स पूर्वतिर सर्छन्। यस्तो बेला पश्चिम नेपालका यात्रुले सास्ती पाउँछन्। तर यही बेला नेपाल एयरलाइन्सले आफ्नो एउटा जहाज भाडामा दिएको छ। 

ट्विनटर जहाज भाडामा दिएको बारे नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले आफूलाई जानकारी नभएको बताइन्। तर उनले एउटा जहाज अहिले पोखरामा आधार बनाएर उडान गरिरहेको र यसबारेमा विस्तृत विवरणका लागि कमर्सियल विभागका अधिकारीहरूलाई सम्पर्क गर्न भनिन्। 

यस बारेमा कमर्सियलका अधिकारीहरूलाई सम्पर्क गर्दा ती अधिकारीहरूले एउटा जहाज चार्टर उडानमा रहेको भएपनि कुन कम्पनीसँग, कति दरमा दिएको बारे विस्तृत विवरण नभएको प्रतिक्रिया दिए।  

‘अहिले हामीले एउटा जहाज पोखराबाट उडान गर्नेगरी चार्टरमा दिएका छौं। तर यस बारेमा हामीसम्म कानूनी कागज केही पुगेको छैन। नियमित उडान कि चार्टर भन्ने जानकारी प्रणालीमा प्रविष्ट हुने भएकाले हामीलाई यतिमात्र जानकारी छ’ एक अधिकारीले भने। 

यसको अर्थ हो अहिले नेपाल एयरलाइन्सले एउटा जहाजबाट मात्र उडान गरिरहेको छ। भएकै दुईवटा जहाजबाट नियमित उडान गर्न नसक्ने अवस्थामा एयरलाइन्स व्यवस्थापन पुगेको छ। 

नेपाल एयरलाइन्सले जहाज भाडामा मात्र दिएको छैन, उसले आफ्नो व्यापार पनि आधा गुमाएको छ। अहिलेको चार्टरबाट हुने आम्दानी र नियमित उडानको सम्भावित आम्दानीको अन्तर आधा छ। यसबाट नेपाल एयरलाइन्सलाई दैनिक लाखौं नोक्सानी भएको छ। 

अहिले एउटा टिवनअटर जहाज उडान आफै गर्ने हो भने दैनिक ११ देखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने निगम स्रोतको दाबी छ। 

‘आफूले उडान गर्ने सबै गन्तव्यको अकुपेन्सी सतप्रतिशत नै छ,’ स्रोतले भन्यो, ‘सेटिङमा जहाज भाडामा दिँदा आधा उडान क्षमता पनि घटेको छ भने आम्दानी पनि ६० प्रतिशत घटेको छ।’

एउटा ट्विनटरले अहिले दैनिक ८ वटासम्म उडान गर्न सक्छ। तर आर्थिक स्वार्थमा एक कम्पनीलाई आधाभन्दा बढी आम्दानी  कम हुने गरी जहाज भाडा दिएएको हो।

निगमले आफूसँगै भएको २ वटा ट्विनटर जहाजमध्ये एउटा जहाज पोखरालाई बेस बनाएर चार्टर उडान गरिरहेको छ। निगमले पोखरा विमानस्थलबाट चार्टर उडानका लागि आफै अनुमति लिएको छ। तर  निगमले यात्रु भने आफै खोजको छैन। 

दैनिक २ देखि ३ वटा मात्रै  पोखराबाट जोमसोम उडान गरिरहेको छ। पोखरा जोमसोमको उडान समय बढीमा ५० मिनेट र घटीमा ४५ मिनेट हो। सोहीअनुसार एक उडान तथा अवतरणको १ हजार ५० डलरमा निजी कम्पनीलाई जहाज चार्टर दिएको छ।

दैनिक ४ वटासम्म उडान गर्ने भनिएपनि कुनै दिन ३ वटा उडान भएपनि सरदरमा २ वटा मात्रै उडान भएको छ।

उडानमा रहेको चालक दललाई निगमले आफ्नै खर्चमा पोखराको महँगो होटलमा राखेको छ। त्यसको खर्च पनि आफै गरिरहेको छ। अर्को उडान व्यवस्थापनका लागि जोमसोममा पनि कर्मचारी आफ्नै खर्चमा राखेको छ।

जहाज चार्टर कम्पनीको विषय निगम कुनै पनि कर्मचारी बोल्न चाँदैनन्। जहाज पोखरा वेस बनाएर उडाएको विषय सत्य भएपनि कुन कम्पनी  मार्फत चार्टर भएको हो र कुन रेटमा हो विवरण सबै गोप्य राखिएको कमर्सियल विभागकै कर्मचारी बताउँछन्।

जहाज चार्टर गर्ने कम्पनीले एक उडान/अवतरण (पोखरा-जोमसोम-पोखरा)मा सरदर  ३ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ। तर निगमलाई भने एक उडानबाट १ लाख ३० हजार रुपैयाँ मात्रै आएको छ। 

यसमा पनि सातामा २ पटक जहाज पोखरालाई आधार बनाएर उडान गरेपनि पोखरा-काठमाडौं-पोखरा गरिरहेको छ। यसको  खर्च निगम आफैले गरिरहेको छ। जोमसोम उडानबाट आएको रकमले खर्च समेत नथेग्ने निगम स्रोतको दाबी छ।

अहिले निर्वाचनको मुभमेन्ट बढेसँगै दुर्गमको सबै विमानस्थलमा उडान गरिदिन आग्रह भएको छ। दुर्गमको विमानस्थलको उडान छोडेर घाटामा निजी क्षेत्रलाई जहाज सुम्पिने काम भएको निगम स्रोतको दाबी छ।

पर्यटनमन्त्री प्रेम आले र एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीको सेटिङमा यो सब भएको अधिकारीहरूको दाबी छ। 


प्रकाशित : सोमबार, वैशाख ५ २०७९१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend