काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार स्थगन गरेको छ।
धितोपत्र मूल्यमा प्रभाव पार्ने निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले कम्पनीसँग स्पष्टीकरण माग्दै कारोबार रोक्का गरेको हो।
नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठकले २०८२ असोज २५ गते दिउँसो साढे ३ बजे वार्षिक साधारण सभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो। तर, उक्त निर्णयबारे नेप्सेलाई निर्धारित समयभित्र जानकारी गराउनुपर्नेमा कम्पनीले असोज २७ गते बेलुका ५ बजेर ५९ मिनेट गएपछि मात्रै नेप्सेको अनलाइन सूचना प्रणाली (एनओटीएस) मार्फत विवरण पठाएको थियो।
धितोपत्र सूचीकरण नियमावली, २०७५ को नियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सम्बन्धित सूचीकृत कम्पनीले सोही दिन वा त्यसको भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा जानकारी गराउनुपर्ने व्यवस्था छ। तर, विन्ध्वासिनी हाइड्रोपावरले उक्त व्यवस्थाको पालना नगरेको नेप्सेको ठहर छ।
नियमावलीको व्यवस्थाविपरीत सूचना उपलब्ध गराएको भन्दै नेप्सेले नियम १६ अन्तर्गत (१) को (घ) बमोजिम २०८२ असोज २८ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार स्थगन गरेको जनाएको छ।
यसैगरी, नेप्सेले सूचना समयमै उपलब्ध गराउन नसक्नुको कारण खुलाउँदै पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिएको छ। नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीद्वारा हस्ताक्षरित पत्रमा तोकिएको समयभित्र स्पष्टीकरण बुझाउन भनिएको छ।
कम्पनीले समयमै सूचना सार्वजनिक नगरेको विषयमा नेप्सेले स्पष्टीकरण मागेसँगै अब कम्पनीले पेस गर्ने जवाफका आधारमा थप प्रक्रिया अघि बढ्नेछ।