मुस्ताङ- यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी-जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५ सयभन्दा बढी विद्युतीय सवारी (ईभी) नेपाल भित्रिएको छ। यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन्।
शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन्। उक्त सडक पूर्णरूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो।
नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा करिब दुई हजार बढी विद्युतीय सवारी पार्किङ गरी राखिएको छ।
कोरलास्थित बिओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजार बढी र भन्सार यार्डमा २ सय बढी विद्युतीय गाडी पार्किङमा रहेको जानकारी दिए।
'कोरलानाका क्षेत्रमा भन्सार जाँच पास भइसकेपछि स्थानीय चालकले भन्सार कार्यालयसम्म ल्याइपुर्याउँछन्, त्यसपछि कम्पनीकै चालकले विद्युतीय गाडी झार्ने गर्छन्', सशस्त्र प्रहरी निरीक्षक धितालले भने, 'नाकामा राखिएका गाडी भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण गरेका छौँ।'
त्यसैगरी कोरलानाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब पाँच सय बढी विद्युतीय सवारी जोमसोमका दुई पार्किङस्थलमा व्यवस्थापन गरिएको छ।
प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। यसैगरी जिल्लामा रोकिएका कन्टेनरहरु बाहिरिएसगै कोरलानाकामा मालवस्तु ढुवानी गर्न केही खाली कन्टेनर उकालो लागेको उनले जानकारी दिए। रासस