शनिबार, मंसिर ८ गते २०८१    
images
images

लय समात्दै पर्यटन, विदेशी मुद्राको दबाब न्यूनीकरण गर्न सहयोगी होला ? 

images
आइतबार, वैशाख ४ २०७९
images
images
लय समात्दै पर्यटन, विदेशी मुद्राको दबाब न्यूनीकरण गर्न सहयोगी होला ? 

कोरोना महामारीको प्रभावन न्यूनीकरण हुँदै गएको र कोरोनाकालीन स्वास्थ्य प्रोटोकल पनि हट्दै गएपछि पर्यटक आगमन बढ्दै गएको उनको बुझाइ छ। 

images
images

काठमाडौं- नेपालको आर्थिक स्वास्थ्य त्यति राम्रो छैन। कम्तिमा पछिल्ला समय प्रकाशित भएका तथ्यांकले अर्थतन्त्रको स्वास्थ्य त्यति राम्रो भएको देखाउँदैनन्। अर्थतन्त्रलाई लामो समयदेखि हेरिरहेका अनुभवी अर्थशास्त्रीदेखि नीति निर्माणको बागडोर सम्हालेका अधिकारीसम्मले अर्थतन्त्र सुविधाजनक अवस्थामा नहरेको बताइरहेका छन्। 

images
images
images

दुई वर्षअघि कोरोना महामारी सुरू भएर जसरी लकडाउन लागू भएको थियो। त्यसपछिका समयमा अर्थतन्त्रले खासै दबाब महसुस नगरेपनि अहिले आएर ठूलै दबाब देखिएको छ। नेपाली अर्थतन्त्रमा विशेषगरी विदेशी मुद्राको सञ्चिति घट्दै आएको छ। पछिल्लो आठ महिनामै करिब १८ प्रतिशतले विदेशी मुद्राको सञ्चिति घटिसकेको छ। घट्ने क्रम नरोकिँदा अवस्था संकटपूर्ण आउनसक्ने भन्दै सरकारले केही वस्तुको आयात रोक्ने रणनीति लिएको छ। 

images

पैसा भएर पनि  चाहे‍को वस्तु खरिद गर्न नपाइने अवस्था लगभग अब आउने भइसकेको छ। नेपाल राष्ट्र बैंक मार्फत् सरकारले अत्यावश्यक बाहेकका वस्तुको आयातका लागि एलसी नखोल्न निर्देशन यसअघि नै दिइसकेको छ। यो व्यवस्था अहिले कार्यान्वयन भइसकेको छ। यसको सोझो अर्थ हो अत्यावश्यक बाहेकका वस्तुको खरिद कठिन हुनसक्छ। यो अवस्था भनेको विदेशी मुद्राको सञ्चिति अभावले निम्त्याएको आर्थिक समस्या हो। 

images

नेपालभित्रै उत्पादन नहुने तथा प्रवाह नहुने सेवा विदेशबाट ल्याउनुपर्छ। यसरी आयात गर्नका लागि विदेशी मुद्रा आवश्यक पर्छ। विदेशबाट आयात गर्ने माग कोरोना महामारीको प्रभाव न्यूनीकरणसँगै सामान्य अवस्थामा पुग्यो। जसले गर्दा आयात अत्याधिक बढेर गयो। आयात बढ्नु भनेको विदेशी मुद्राको खर्च धेरै भयो। तर त्यस्तो खर्चको जोहो गर्ने डलर आम्दानी भने माग अनुसार बढ्न सकेन। यही कारणले गर्दा नेपालसँग यसअघि नै भएको सञ्चितिबाट खर्च भयो। 

नेपालले विशेषरी सीमित स्रोतबाट विदेशी मुद्राको आर्जन गर्छ। निर्यात, पर्यटन, रेमिट्यान्स, विदेशी अनुदान/ऋण जस्ता स्रोतबाट मुख्यगरी विदेशी मुद्राको आर्जन हुन्छ। विदेशी लगानी लगायतका अन्य केही स्रोत पनि छन्। विदेशी मुद्रा आर्जनका मुख्य स्रोतमध्ये रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा यो वर्ष बढ्न सकेको छैन। यद्यपि पछिल्लो महिना सुधारोन्मुख छ। निर्यातको अंक वृद्धि भएपनि नेपालभित्र नै मूल्यअभिवृद्धि हुने वस्तु निर्यातको सूचीमा धेरै छैन। विदेशबाट ल्याएर एक तह भ्याल्युएड गरेर निर्यात गर्ने प्रवृत्ति बढ्दै गएको छ। विदेशी लगानी सामान्य अवस्थामै पनि अर्थपूर्ण थिएन र खर्च गर्न नसक्दा आएकै अनुदान पनि उपयोग भएको छैन। 

विदेशी मुद्रा आम्दानीको मुख्य स्रोत मानिएको क्षेत्र हो पर्यटन। विदेशी मुद्राको मागको तुलनामा पर्यटन आम्दानी धेरै नभएपनि कोरोना महामारीअघि यसको अनुपात बढ्दै गएको थियो। आम्दानीको वृद्धिदर राम्रो देखिएको पर्यटन महामारीले शून्य अवस्थामै पुर्‍यायो। अहिले विदेशी मुद्राको सञ्चितिमा धेरै दबाब देखिनुमा पर्यटन प्रभावित हुनुलाई पनि अधिकारीहरूले कारणका रुपमा देखाएका छन्। सामान्य अवस्थामा मासिक ७ देखि ९ करोड डलरसम्मको आम्दानी हुने यो क्षेत्र अहिले शून्य अवस्थामा पुगेको थियो। पछिल्लो २ वर्ष यो क्षेत्रबाट हुने आम्दानी घट्दाको प्रभाव अहिले देखिएको उनीहरूको भनाइ छ। 

महामारीको प्रभाव केही न्यून भएपछि अहिले भने नेपालमा पर्यटनले लय समात्न थालेको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा आउने पर्यटकको संख्यामा वृद्धि देखिएको छ। एक महिनाको मात्र होइन आउने महिनाहरूको माग पनि उत्तिकै बढ्दै गएको छ। यसले गर्दा पर्यटन क्षेत्रले लय समात्न थालेको व्यवसायीहरूले बताउन थालेका छन्।

tourist.png

विदेशी पर्यटकको आगमन जति धेरै बढ्छ स्वभाविक रुपमा नपाल भित्रिने विदेशी मुद्रा पनि बढ्छ। भलै त्यसले सबै समस्याको समाधान नगर्ला। कोरोना महामारी सुरू भएपछि पहिलोपटक विदेशी पर्यटक आगमन संख्या सामान्य अवस्थाको जस्तै हुन लागेको छ। 

सन् २०२२ को मार्चमा ठिक दुई वर्षअघिको आँकडामा पर्यटक आएका छन्। सन् २०२० को मार्च जुन नेपालमा लकडाउन लागू  हुनुपहिलेको महिना हो। त्यतिबेला धमाधम विदेशीले बुकिङ रद्ध गरिरहेका थिए भने नेपालमा रहेकाहरू विदेश गइरहेका थिए। २०२० को फेब्रुअरीमा ९८ हजार पर्यटक आएका थिए भने त्यपछिको महिना ४२ हजार ७७६ पर्यटक आएका थिए। 

अप्रिल २०२० देखि लकडाउन लागू भइसकेको थियो। त्यसपछि पर्यटक आगमन लगभग शून्य भयो। त्यसपछि २०२१ मा महामारी सामान्य हुँदै गएपछि केही पर्यटक आएका थिए। तर फेरि भेरियन्टको प्रभाव भएपछि बढ्न नपाइ घटेका थिए। तर २०२२ को मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या भनेको दुईअघिकै अवस्थामा पुगेको छ। 

सन् २०२२ को पहिलो महिना १६ दोस्रो महिना १९ हजार भित्रिएका थिए। बसन्तकालीन हिमाल आरोहनको सिजन चल्दैगर्दा मार्चमा भने एकैपटक ४२ हजार पर्यटक भित्रिनु राम्रो संकेत भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने बताउँछन्। 

‘यो सकारात्मक संकेत हो। हाम्रो देशमा विदेशीहरु आउन थालेका छन्। यो कुरा संख्याले पनि बताइरहेको छ’ लामिछानेले भने। 

कोरोना महामारीको प्रभावन न्यूनीकरण हुँदै गएको र कोरोनाकालीन स्वास्थ्य प्रोटोकल पनि हट्दै गएपछि पर्यटक आगमन बढ्दै गएको उनको बुझाइ छ। 

मार्चमा ४२ हजार भित्रिनु लकडाउनअघिको अवस्थामा मात्र पर्यटन अवस्था पुगेको होइन कि अझै बढ्ने संकेत हो। अबका दिनमा क्रमिक रुपमा संख्या बढ्दै जाने विश्वास पर्यटन व्यवसायीको छ। 

अहिलेदेखि नै जुलाई तथा अगष्टसम्मका लागि बुकिङ आउन थालेको होटल व्यवसायी योगेन्द्र शाक्यले बताए। 

‘अहिलेको ट्रेन्ड एकदमै राम्रो देखिएको छ। एक महिनामा आएको संख्या आफैमा ठूलो कुरा होइ। यसपछिका महिनामा आएको बुकिङ हेर्दा पनि राम्रो देखिएको छ। अवस्था यस्तै रहे असोजदेखि नै नेपालको पर्यटन सामान्य अवस्थामा पुग्छ’ उनले भने। 

गएको महिना पर्यटक आगमनको संख्याले पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। विशेषगरी दुई वर्षदेखि व्यापार नपाएर बसेका पाँचतारे होटलले अहिले व्यापार पाएका छन्। 

‘मजदुरले पूर्ण रोजगारी पाउने अवस्था आएको छ। व्यवसायीले ऋण तिर्नसक्ने अवस्था आएको छ। यो सब पर्यटन पुनरोत्थान्मुख छ’ म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवालले भने। 

आगामी दिनमा फेरि कोरोना महामारीको कुनै प्रकोप बढेन भने आगामी सिजनमा पर्यटन सामान्य अवस्थामै पुग्ने सबै व्यवसायीको विश्वास छ। 

के अहिले बढिरहेको पर्यटक संख्याले मुलुकको विदेशी मुद्राको समस्यामा केही राहत दिनसक्ने क्षमता राख्छ? 

yearly.png

अहिलेको आर्थिक समस्या र पर्यटनको अवस्था भन्न नसकिने अवस्थामा पुगेको छ। एकातिर नेपालले केही वस्तुको आयातमा रोक लगाउँदा ठूलो बजार भारतमा नकारात्मक हल्लाहरु भइरहेका छन्। नेपाल पनि श्रीलंकाको जस्तै अवस्थामा जान लागेको भन्दै भारतीय सञ्चार माध्यममा निरन्तर समाचार आउन थालेपछि गलत सन्देश जाने व्यवसायीहरूको चिन्ता छ। तर यस्तो भ्रम चिर्नका लागि प्रयास सुरू भएको पर्यटन बोर्डका निर्देशक लामिछाने बताउँछन्। 

‘हामीले यसका लागि पहल सुरु गरिसकेका छौं। भारत हाम्रो सबैभन्दा ठूलो पर्यटक स्रोत बजार हो। हाम्रो संयन्त्र स्थापित छ। त्यही संयन्त्र मार्फत् त्यस्ता हल्लालाई चिर्ने प्रयास सुरु गरिसकेका छौं’ उनले भने। 

यस बाहेक अहिलेको समयमा पर्यटनले विदेशी मुद्राको सञ्चितिमा भरथेग गर्नसक्ने सम्भावना कति हो? सामान्य अवस्थामै पर्यटन क्षेत्रबाट हुने आम्दानीबाट ठूलो टेको हुने गरेको थिएन। आर्थिक वर्ष २०७५/७६ मा नेपालले पर्यटनबाट ७५ अर्ब बराबरको विदेशी मुद्रा आम्दानी गरेको थियो। यो भनेको त्यही वर्ष नेपालमा कूल  वस्तु आयातका लागि बाहिरिएको रकमको ५ प्रतिशत मात्र हो। 

तर त्यसपछिको समयमा नेपालले पर्यटनबाट गर्ने आम्दानी बढाउँदै गएको थियो। पाँच प्रतिशत भएपनि पछिल्लो समय शून्य हुँदा धेरै घाटा भएको लामिछानेको भनाइ छ। 

‘धेरै ठूलो टेको त दिने होइन। तर पनि हामीले दुई वर्षमा कमाउने यदि पहिलेकै अनुपातमा भएपनि १५० अर्ब बराबरको भन्दा बढी डलर आम्दानी गर्थ्यौं। त्यो पनि अहिले सञ्चिति मारहन्थ्यो होला। तर त्यो त गुम्यो नि’ उनले भने। 

यो वर्षको आठ महिनामा नेपालले जम्मा १४ अर्ब बराबरको विदेशी मुद्रा आम्दानी गरेको छ। यसअघिका सात महिनामा जम्मा १ लाख २५ हजार मात्र पर्यटक आएका थिए। तर पछिल्लो महिना आएका ४२ हजार पर्यटक आएका छन्। यो संख्या जति थपिँदै जान्छ आम्दानी पनि थप हुँदै जान्छ। 

पर्यटनबाट हुने आम्दानीले सानो भएपनि योगदान गर्ने लामिछानेको भनाइ छ। 

‘हाम्रोमा विदेशी पर्यटक शून्य हुँदा होटल निर्माणका लागि चाहिने विदेशी वस्तु तथा सेवा आयात गर्दा तिर्ने डलर पनि अरु स्रोतबाटै आएकोबाट खर्चिनुपर्ने हुन्थ्यो। तर अब हुने आम्दानीले कम्तिमा त्यो खर्च बराबरको पूर्ति त गर्छ। त्यसैले यसले अहिलेको समस्यामा राहत हुने काम गर्छ’ उनले भने। 


प्रकाशित : आइतबार, वैशाख ४ २०७९०१:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend