काठमाडौं- बुद्ध एयरले धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ।
यात्रुहरूलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित भ्रामक सूचना तथा स्क्रिनसटको आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन आग्रह गर्दै बुद्ध एयरका आधिकारिक बिक्री माध्यम तथा कम्पनीको वेवसाईट एवं मोबाईल एपबाट आधिकारिक सूचना स्रोतबाट मात्र भाडादर तथा टिकटसम्बन्धी जानकारी लिन अनुरोध गरेको छ।
न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकै कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोसप तथा एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरसम्बन्धी भ्रम फैलाइएकोप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समयसम्म सडक यातायात अवरुद्ध भएको थियो। उक्त विपद्को अवस्थामा यात्रुहरूलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले बुद्ध एयरले बाटोघाटो सहज नहुन्जेल तथा चाडपर्व दसैँ र तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरी सोहीअनुसार कार्यान्वयन गर्दै आएको जनाएको छ।
बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरबाहेक कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृतरूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइएमा त्यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै प्रचलित कानूनबमोजिम आवश्यक कानूनी कारबाही अघि बढाउने स्पष्ट पारेको छ।
काठमाडौंबाट बाहिरिने यात्रुको संख्या अहिले बढी देखिएको र भित्रिने कमै रहेको छ। बुद्ध एयरले काठमाडौं आउने यात्रुहरुका लागि न्यूनतम भाडादरमा प्रोमो कोडमार्फत अफरहरु पनि उपलब्ध गराएको छ । प्रोमोकोड अफर बुद्ध एयरको वेबसाइट, मोबाइल एपबाट सजिलै लिन सकिन्छ।
बुद्ध एयरले विपद्को यस कठिन अवस्थामा यात्रु तथा आम नागरिकलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ।