काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)मा दर्ता भएर सदस्यता नवीकरण गरेका योग्य चार्टर्ड एकाउन्टेन्ट (सीए) तथा रजिस्टर्ड अडिटर (आरए) फर्मले क्लाउडमा आधारित लेखा प्रणाली ‘टिग’को आधारभूत संस्करण आजीवन निःशुल्क प्रयोग गर्न पाउने भएका छन्।
आईक्यान र टिगको विकास तथा सञ्चालन गर्दै आएको बीआईसी टेक्नोलोजी प्रालिबीच भएको समझदारीअनुसार योग्य फर्मले आवश्यक प्रमाणीकरणपछि उक्त सुविधा पाउनेछन्। क्लाउडमा आधारित लेखा प्रणाली भनेको लेखासम्बन्धी विवरण कम्प्युटरमा छुट्टै सफ्टवेयर स्थापना नगरी इन्टरनेटमार्फत सञ्चालन र व्यवस्थापन गर्न सकिने प्रणाली हो।
त्यस्तै, योग्य आईक्यान विद्यार्थीले शैक्षिक तथा गैरव्यावसायिक प्रयोजनका लागि टिगको ‘एजुकेसन भर्सन’ निःशुल्क प्रयोग गर्न पाउनेछन्।
समझदारीअनुसार टिगले प्रणालीमा आबद्ध हुन आवश्यक सहयोग, तालिम सामग्री, उत्पादनसम्बन्धी मार्गदर्शन र ग्राहक सहायता उपलब्ध गराउनेछ। आईक्यानले भने योग्य फर्म तथा विद्यार्थीको प्रमाणीकरणमा सहजीकरण गर्नेछ।
सहकार्यअन्तर्गत लेखा व्यवसायी र विद्यार्थीको डिजिटल क्षमता बढाउने तथा प्रविधिको व्यावहारिक प्रयोग र नवप्रवर्तनसम्बन्धी संयुक्त कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।
आईक्यान र टिगबीच भएको समझदारीको प्रत्यक्ष लाभ भने योग्य लेखा फर्म र विद्यार्थीले पाउनेछन्। फर्मले लेखा व्यवस्थापनका लागि टिगको आधारभूत संस्करण निःशुल्क प्रयोग गर्न पाउनेछन् भने विद्यार्थीले सिकाइका लागि यसको शैक्षिक संस्करण प्रयोग गर्न पाउनेछन्।