काठमाडौं- नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जिंक र आइरनको मात्रा बढी भएको बायोफोर्टिफाइड गहुँका जात विकास गरेको छ। सामान्य गहुँमा पनि यी सूक्ष्म पोषक तत्व हुन्छन्, तर बायोफोर्टिफाइड जातमा दानामै जिंक र आइरन बढी जम्मा हुने गुण विकास गरिएको हुन्छ।
नार्कअन्तर्गत राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम, भैरहवाले विकास गरेको जिंक गहुँ-१ यसको एउटा उदाहरण हो। यो जात तराई तथा भित्री मधेसमा समुद्र सतहबाट ८०० मिटरसम्मको उचाइमा खेतीका लागि सिफारिस गरिएको छ।
नार्कका अनुसार जिंक गहुँ-१ मा ३५ देखि ४६ पीपीएम जिंक र ३९ देखि ४१ पीपीएम आइरन पाइन्छ। यसको औसत उत्पादन क्षमता करिब ५.०१ टन प्रतिहेक्टर छ। करिब १२१ दिनमा पाक्ने यो जात खैरो सिन्दुरे, पहेंलो सिन्दुरे र पात डढुवा रोगविरुद्ध प्रतिरोधी रहेको नार्कले जनाएको छ।
पछिल्लो समय प्रशोधनभन्दा पहिले फोर्टिफाइ गर्ने अभ्यास बढिरहेको सन्दर्भमा नार्कले उत्पादनकै समयमा आवश्यक पोषक हुनेगरी बिउकको विकास गरेको नार्कको प्रवक्ता डा सुधा सापकोटाले जानकारी दिइन्।
बायोफोर्टिफिकेसन भनेको खाद्यान्न तयार भएपछि बाहिरबाट पोषक तत्व मिसाउने होइन, बालीको जात विकास गर्दादेखि नै दानामा पोषक तत्वको मात्रा बढाउने विधि हो। त्यसैले जिंक गहुँको पिठोमा पछि जिंक मिसाइएको हुँदैन।
जिंक र आइरन शरीरलाई थोरै मात्रामा आवश्यक पर्ने भए पनि महत्वपूर्ण सूक्ष्म पोषक तत्व हुन्। जिंकले प्रतिरक्षा प्रणाली तथा शरीरको वृद्धि र विकासमा भूमिका खेल्छ भने आइरन रगतमार्फत शरीरमा अक्सिजन पुर्याउन आवश्यक हुन्छ। अन्नमा धेरै निर्भर खाद्य प्रणाली भएका देशमा नियमित खाने खाद्यान्नमै यस्ता पोषक तत्व बढाउने उपायका रूपमा बायोफोर्टिफिकेसन प्रयोग गरिन्छ।
नार्कले जिंक गहुँ-१ बाहेक जिंक गहुँ-२, बोर्लग-२०२०, खुमल शक्ति र भेरीगंगा जस्ता जिंक तथा आइरनयुक्त गहुँका जात पनि विकास तथा सिफारिस गरेको छ।
नार्कको २०२४/२५ को तथ्यांकअनुसार जिंक तथा आइरनयुक्त पाँच जातको ब्रीडर बीउ उत्पादन ४३ हजार ८२८ किलोमध्ये करिब २० प्रतिशत छ। जिंक गहुँ-१ को मात्रै ब्रीडर बीउ उत्पादन ४ हजार ९४ किलो, अर्थात् कुल उत्पादनको ९.३ प्रतिशत थियो।
नार्कले २०२७ सम्म नेपालको कुल गहुँ क्षेत्रफलको ३० प्रतिशतमा बायोफोर्टिफाइड गहुँ पुर्याउने लक्ष्य राखेको छ।