काठमाडौं- विश्वको एआई प्रतिस्पर्धा अब अमेरिका र चीन बाहेक भारत पनि मिसिएको छ। भारतमा ठूला प्रविधि कम्पनीको लगानी र पूर्वाधार विस्तार तीव्र भइरहेका छन्। स्थानीय भाषा, ठूलो डिजिटल बजार, दक्ष जनशक्ति र बढ्दो कम्प्युटिङ पूर्वाधारका कारण भारत एआई विकासको महत्वपूर्ण केन्द्रका रूपमा अघि बढ्न खोजिरहेको छ।
यसको पछिल्लो उदाहरण बेलायतमा आधारित एआई कम्पनी इलेभेन ल्याब हो। कम्पनीले भारतमा ‘सयौँ मिलियन डलर’ लगानी गर्ने योजना सार्वजनिक गरेको छ। स्थानीय टोली विस्तार, भारतीय भाषाका लागि एआई मोडल विकास र सम्भावित कम्पनी खरिदमा लगानी गर्ने उसको योजना छ। कम्पनीले भारतमा १४ भाषामा एआई सेवामार्फत वार्षिक १० करोडभन्दा बढी संवाद सञ्चालन गरिरहेको जनाएको छ।
भारतमा एआईसम्बन्धी गतिविधि बढाउने कम्पनी यो मात्र होइन। ओपन एआईले टाटा समूहसँग मिलेर भारतमै एआई चलाउन सकिने ठूलो डेटा सेन्टर क्षमता विकास गर्ने घोषणा गरेको छ। सुरुमा १०० मेगावाट क्षमताबाट काम थाल्ने र भविष्यमा यसलाई १ गिगावाटसम्म विस्तार गर्न सकिने जनाएको छ। भारतमा नयाँ कार्यालय पनि विस्तार गर्ने उसको योजना छ।
गुगलले पनि आन्ध्र प्रदेशको विशाखापट्टनममा एआई केन्द्र बनाउन २०२६ देखि २०३० सम्म करिब १५ अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ। त्यसमा ठूलो डेटा सेन्टर, विद्युत् र इन्टरनेट पूर्वाधार तथा गिगावाट तहको कम्प्युटिङ क्षमता विकास गर्ने योजना छ।
भारतलाई कम्पनीहरूले अब एआईका लागि ठूलो उपभोक्ता बजारका रूपमा मात्र हेरिरहेका छैनन्। एआई मोडल चलाउन र विकास गर्न आवश्यक डेटा सेन्टर, कम्प्युटिङ क्षमता, ऊर्जा र दक्ष जनशक्ति भएको स्थानका रूपमा पनि हेर्न थालेका छन्।
भारतको अर्को ठूलो आकर्षण भाषा हो। हिन्दी, तमिल, तेलुगु, कन्नड, बंगालीलगायत धेरै भाषामा डिजिटल सेवा विस्तार गर्ने ठाउँ अझै ठूलो छ। इलेभेन ल्याब्सले पनि भारतीय भाषामा एआई क्षमता विकासलाई आफ्नो लगानीको एउटा उद्देश्य बनाएको छ।
भारत सरकारले पनि पछिल्लो समय लगानी आकर्षित गर्नका लागि विभिन्न प्रयास जारी राखेको छ। २०२६ को इन्डिया एआई इम्प्याक्ट समिटले एआईमा आवश्यक डेटा, कम्प्युटिङ क्षमता, सीप र पूर्वाधारको कमीलाई प्रमुख चुनौतीका रूपमा अघि सारेको थियो। यसको उद्देश्य एआई विकास र प्रयोगका लागि भारतलाई अन्तर्राष्ट्रिय सहकार्यको केन्द्र बनाउनु हो।