बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पुनर्निर्माण भयो जेनजी आन्दोलनमा आगजनीले ध्वस्त पारिएको टंगाल भाटभटेनी

आगजनीले क्षतिग्रस्त भएका १२ मध्ये १० वटा स्टोर पुनः सञ्चालनमा आयो

आइतबार, असोज ४ २०८३
पुनर्निर्माण भयो जेनजी आन्दोलनमा आगजनीले ध्वस्त पारिएको टंगाल भाटभटेनी

'पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनर्निर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबिसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भयौँ।'

काठमाडौं- गएको वर्ष भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको टंगालस्थित भाटभटेनी सुपर स्टोर यही असोज ५ गते सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ। 

टंगाल भाटभटेनी सोमबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन्।

'यति ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता गरेन। भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा हामीले असर पर्न दिएनौँ' भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले भनेका छन्, 'कर्मचारीलाई रोजगारीबाट अलग गरेनौँ, गत वर्ष भदौ २४ लगत्तैको दसैँमा प्राप्त गर्ने बोनससमेत कटौती नगरी पुनः सञ्चालन भएका स्टोरहरुमा उनीहरुको भूमिकालाई निरन्तरता दिँदै आयौँ।'

'मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिसिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्‍याएको योगदान सम्झियौँ र हामी एउटा निष्कर्षमा पुग्यौँ- खरानीबाट फेरि उठ्ने छौँ' उनले भनेका छन्, 'तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थाल्यौँ।'

आगजनीको पाँच महिनामा पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर सञ्चालनमा ल्याएको उनले बताएका छन्। क्रमिक रूपमा विस्तारै जलेका भवन ठड्याउँदै एकपछि अर्को गरी अहिलेसम्म आगजनीले ध्वस्त भएका १२ मध्ये १० वटा स्टोर पुनः सञ्चालनमा ल्याउन सफल भएको गुरुङले जनाएका छन्। बाँकी रहेका दुईवटा स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै पुनःसञ्चालनमा आउने उल्लेख गरिएको छ। 

दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ। यी स्टोरबाट पनि छिटो ग्राहक सेवा पुनः सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ। पुनर्निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको भाटभटेनीले जनाएको छ।

'पूर्णरूपमा आगजनी भएका स्टोरहरूको पुनर्निर्माण स्वाभाविक रूपमा ठूलो समय, स्रोत तथा लगानी आवश्यक पर्ने प्रक्रिया भए पनि चौबिसै घण्टा कामलाई निरन्तरता दिएर ग्राहकलाई पुनः सेवा उपलब्ध गराउन सफल भयौँ' पानु पौडेलले बताए।

'हाम्रो दुःखमा साथ दिने सम्पूर्ण सहयोगी हातहरु, चौबिसै घण्टा खटेर पुनर्निर्माणको काममा साथ दिने कर्मचारी, स्टोर पुनः सञ्चालनको पर्खाइमा बस्नुभएका ग्राहकप्रति हामी नमन गर्न चाहन्छौँ' उनले भनेका छन्।


प्रकाशित : आइतबार, असोज ४ २०८३१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend