बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री वाग्ले

शुक्रबार, भदौ २६ २०८३
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ प्रक्रिया अपनाइएको र प्रशासक छनोट प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको जानकारी दिए।

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा 'कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट पारे।

मन्त्री डा वाग्लेले कोषमा ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताए। लगानी नगरी रकम मात्र सञ्चित गरेर राख्नु कोषको उद्देश्य नभएको उनको भनाइ थियो।

मन्त्री डा वाग्लेले कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ प्रक्रिया अपनाइएको र प्रशासक छनोट प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको जानकारी दिए। उनले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना र महिला सहभागितालगायत विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधनमार्फत सम्बोधन गर्न सकिने बताए।

आजकै बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गरेको उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गरेका थिए। रासस


प्रकाशित : शुक्रबार, भदौ २६ २०८३१७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend