काठमाडौं- 'त्रिशूली थ्री बी' जलविद्युत आयोजनामा फसेकाहरुको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै आफन्तहरूले माईतीघरमा प्रदर्शन गरेका छन्।
'माथिल्लो थ्री बी'मा उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको उनीहरूले आरोप लगाएका छन्। सरकारले आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरुलाई पनि खोजी गर्न जान नदिएको उनीहरुको गुनासो छ।
रसुवा बाढीपछि त्रिशूली थ्री बी जलविद्युत आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। बाढीले आयोजनालाई पूर्णरुपमा क्षति गरेको छ। सरकारले उद्धार तथा खोजी कार्यको लागि उक्त आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन। उक्त आयोजनामा उद्धार कार्य कठिनाइ देखिएको सरकारको भनाइ छ तर पीडितहरुले भने उद्धारमा कठिनाइ छ भन्दैमा सरकार पन्छिन नमिल्लने बताउँछन्।
सुमना श्रेष्ठ अमात्यले त्रिशूली थ्री बीमा कार्यरत कर्मचारी तथा कामदारहरुको खोजी कार्यमा सरकारले अदारुकता नदेखाएको बताइन्। उनका श्रीमान् वरिष्ठ भूगर्भविद् सुमेश अमात्य हाल सम्पर्कविहीन छन्। गृह मन्त्रालयमा गएर पटकपटक ध्यानकषर्ण गराउँदा पनि सरकारले चासो नदिएको उनको भनाइ छ। सरकारले हेलिकप्टरलगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदाले लिएर पठाएको उनको आरोप छ।
'बाढी गएको ३/४ दिनमा नै हामी गृह मन्त्रालयमा ध्यानाकर्षण गराउन गएका थियौँ तर त्यहाँ हामीलाई भेट्न दिइएन। रेक्स्यू भइरहेको छ, किन आत्तिएको भन्ने कुरा उहाँहरुले गर्नुभयो। सरकारले रेस्क्यु गर्न नै जानेको रहेनछ, कुटो कोदालो बोकेर रेस्क्यू गर्न जाने हो? सरकार कति लाचार छ भन्ने यही बाट थाहा भयो नी त’ उनले भनिन्।
सरकारले हराएकोहरु जीवित भए जीवित र नभएमा शव भएपनि आफन्तलाई उपलब्ध गराउनुपर्ने पीडितहरुको भनाइ छ। हेलिकप्टरलगायत अरु उपयुक्त उपकरण लगेर तत्काल उद्धार कार्यलाई तीव्रता दिन उनीहरुले माग गरेका छन्।
बाढी गएको लामो समयसम्म पनि उद्धार हुन नसक्नु सरकारको लाचारीपन भएको पीडितहरुको भनाइ छ। सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुस्याइँ गरेको उनीहरुको आरोप छ।
११ औँ दिनसम्म पनि जीवितै उद्धार भइरहकोले सरकारले समयमा नै त्रिशूली थ्री बीमा पनि खोजी कार्य गरे त्यहाँ रहेकाहरुलाई सकुशल उद्धार गर्न सकिने आफन्तहरुको आश छ।