कर्णाली- कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन संकलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न ‘कोसेली गृह’ निर्माण गरेको छ।
प्रदेश सरकारको १ करोड २४ लाख रूपैयाँ लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कोसेलीगृहले यस क्षेत्रमा रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान पुर्याउने बताइन्।
जिल्ला समन्वय समितिका सुर्खेतका प्रमुख गंगाराम सुनारले कर्णालीमा लघु उद्योग सञ्चालन तथा उद्यमीलाई उद्यम गर्ने अनुकूल वातावरण सृजना गर्न सरकारलाई सुझाव दिए।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक मुकुन्दनाथ योगीले चार वर्षअघि नै निर्माण सम्पन्न भए पनि कतिपय नीतिगत व्यवस्थाका कारण सञ्चालनमा ढिला भएको बताए।
उनका अनुसार स्थानीय कपडा, जडीबुटी, खाद्यलगायतका पाँच प्रकार लघु उद्योग यहाँबाट सञ्चालन भइरहेका छन्। त्यहाँ सञ्चालित उद्योगले अहिले नौ जनालाई रोजगार दिएको तथा वार्षिक ६ लाख रूपैयाँ आम्दानी हुने गरेको छ। कच्चा, पदार्थ, स्थानीय श्रम, सीप र प्रविधिको भरपुर उपयोग गरेर यहाँका उत्पादन र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गरिने निर्देशक योगीले बताए।
लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष सुमननाथ योगीले कर्णाली प्रदेशभित्रका स्थानीय उत्पादनलाई बजार, पहिचान र उद्यमीलाई अवसर प्रदान गर्ने उद्देश्यले कोसेली घर निर्माण भएको बताए।
स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्नबालीको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोसेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोण महत्वपूर्ण रहनेछ। रासस